Comments Add Comment

विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु

२४ कात्तिक, विराटनगर । विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार राति ८ बजेयता उपचारका क्रममा चारवटा अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तीन, विराट नर्सिङ होममा दुई, विराट मेडिकल कलेज र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक/एक जनाको मृत्यु भएको हो ।

नोबेलमा इलाम, सुनसरी र सिराहाका कोरोना संक्रमितको नोबेलमा मृत्यु भएको हो ।

इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोही दिन रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।

सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । उनको मृत्यु सोमबार बिहान ३ बजेतिर भएको हो । दाहालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १७ गते अस्पतालमा भर्ना गरिएका पुरुषको सोहीदिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।

सिराहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको थियो ।

मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार सोमबार बिहान ६ः४५ बजेतिर उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कात्तिक १८ गते रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी र झपाका संक्रमितको मृत्यु भएको छ ।

सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको आइतबार राति ८ः४० बजेतिर मृत्यु भएको हो । उनलाई कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा सोमबार बिहान ७ बजे मृत्यु भएको छ । अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई निमोनियाको समस्या थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार बिहान ६ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment