Comments Add Comment

बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा

४ जेठ, काठमाडौं । दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ ।

वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ७८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । बाँकेकका मात्र १८२ जनाको मृत्यु भएको छ । अस्पतालहरु संक्रमितले भरिएका छन् । भेरी अस्पतालमा २२८ जना र नेपालगञ्ज मेडिकल कलेजमा १४० जना संक्रमित उपचाररत छन् । सयभन्दा बढी संस्थागत आइसोलेसनमा छन् ।

हरेक दिन नयाँ संक्रमित पनि त्यति नै थपिएको छ । वैशाख २६ यताको तथ्यांकलाई हेर्ने हो भने कोरोना संक्रमणदर ७० प्रतिशत भन्दामाथि नै रहेको देखाउँछ । जस्तो, जेठ २ गते ११०७ नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भयो । संक्रमण दर ७२.२२ प्रतिशत छ ।

पछिल्ला तथ्यांकहरुले संक्रमण पिकमा पुगेर स्थिर भएको आंकलन गर्न सकिने भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे बताउँछन् । उनका अनुसार अस्पतालको फिभर क्लिनिक तथा प्राइभेट क्लिनिकमा बिरामी आउने संख्यामा केही कमी आएको छ ।
‘अस्पतालका बेडहरु भरिभराउ छन् । पालटाँगेर उपचार गराउनु पर्ने अवस्था त छ,’ डाक्टर पाण्डेले भने, ‘तर केही दिन यता तुलनात्मक रुपमा भेरी अस्पतालमा बिरामी आउने संख्या कम रहेको छ ।’

पिकमा पुगेर स्थिरमा रहेको कोरोना संक्रमण दर अब केही दिनपछि ओरालो लाग्ने उनको अनुमान छ । ‘संक्रमण दर घटेको हो कि होइन भनेर यकिन गर्न सेरो प्रिभ्रिलेन्स सर्बे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यो अध्ययनले समुदायमा रहेका मानिसमा एन्टिबडी डेभलप भए/नभएको थाहा हुन्छ ।’ एकसात पछि समुदायमा गएर यही वैज्ञानिक आधारमा अध्ययन गर्न उपयुक्त हुने डा. पाण्डेको सुझाव छ् । अध्ययनको क्रममा समुदायका मानिसमा ६०/७० प्रतिशत इम्युनिटी पावर विकास भएको पाइए संक्रमण कम भएर जाने उनी बताउँछन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर असीम किडवाईले पनि बाँकेमा संक्रमण पिकमा रहेको बताए । उनका अनुसार यो समय अझै केही समय रहने देखिन्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका धेरै मानिस अझै पनि घरमै रहेको र उनीहरुले परीक्षण नगरेका कारणले पनि वास्तविक संक्रमितको संख्या बाहिर नआएको उनको भनाइ छ ।

नेपालगञ्ज मेडिकल कलेजका डा. नितेशकुमार कनौडिया संक्रमण पिकमै रहेकाले ओरालो लागेको भन्दा हतार हुने बताउँछन् । उनका अनुसार अस्पतालमा बेड छैन, अक्सिजन पाइँदैन भनेर पनि परीक्षण नगरी बस्नेहरु छन् । ‘तथ्यांकले घट्दो क्रममा देखाएको छ, तर घरघरमै धेरै संक्रमितहरु छन् । उनीहरुको परीक्षण हुन सकिरहेको छैन,’ डाक्टर कनौडियाले भने, ‘तीव्र गतिमा पीसीआर परीक्षण बढायौं भने एक सातापछि संक्रमण दर घट्न सक्छ ।’

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दैनिक सार्वजनिक गरेको तथ्यांकले पनि चिकित्सकहरुकै भनाइसँग मेल खान्छ । वैशाख २७ गतेदेखि जेठ ३ गतेसम्म संक्रमित संख्या स्थिर छ ।

वैशाख २६ गते ११०७ नमुना परीक्षण गर्दा ८४३ मा संक्रमण (७६.१५ प्रतिशत) पुष्टि भएको थियो । बाँकेका मात्रै ५७१ जना थिए, जुन दोस्रो लहर सुरु भएयताकै बाँकेमा सबैभन्दा उच्च हो । बाँकेमा सोमबार ३६३ जनाको नमुना परीक्षण गर्दा १४९ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये बाँके जिल्लाका मात्रै ७५ जना छन् । दोस्रो लहरको सुरुवाती अवस्थामा जसरी तीब्र गतिमा संक्रमण बढेको थियो अहिले त्यो अनुपातमा नदेखिए पनि संक्रमण पिकमा रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओली बताउँछन् ।

दैनिक मृत्यु हुनेको संख्या घट्दो

बाँकेमा संक्रमण दर उत्कर्षमा पुगेर स्थिर भइरहँदा दैनिक मृत्यु हुनेको संक्रमितको संख्या केही घटेको छ ।

वैशाख २९ देखि वैशाख ३ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेका संख्या दैनिक घट्दै गइरहेको देखिन्छ ।

वैशाख २९ गते बाँके जिल्लाका मात्रै १० जनाको मृत्यु भएको थियो भने त्यसदिन यता क्रमशः मृत्यु हुनेको संख्या घट्दो छ । वैशाख ३० गते ९ जनाकाृ मृत्यु हुने वैशाख ३१ गते ८ जनाको मृत्यु भएको छ ।

जेठ १ गते ६ जनाको मृत्यु हुँदा वैशाख २ गते ५ जना र वैशाख ३ गते सोमबार ३ जनाको मृत्यु भएको छ । तर अस्पतालहरुमा अझै पनि गम्भीर प्रकृतिका बिरामी उपचाररत रहेको चिकित्सकहरु बताउँछन् ।

बाँकेमा कोरोनाको दोस्रो लहर सुरु भएयता (वैशाख १ गतेदेखि जेठ ३ गतेसम्म) १८२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment