Comments Add Comment

स्रोतालाई धन्यवाद, म हराएको छैन : नवीन के भट्टराई (भिडियो)

विजय आवाज

२७ भदौ, काठमाडौं । यतिबेला दोहोरी गीतहरुले बजार बनाएजस्तै अघिल्लो दशक यस्तो थियो कि काठमाडौं र शहरी क्षेत्रका अधिकांश युवाहरुमा पप गीतप्रति अनौठो आकर्षण थियो । यही आकर्षणसँगै उदाएका हुन्, चर्चित पप गायक नवीन के भट्टराई ।तर, यतिबेला धेरैलाई लाग्न सक्छ पप गायक नवीन के भट्टराई कता गयो र के गर्दै होला ? किन हराएको होला ? गायक भट्टराई भन्छन्- ‘सबैलाई भन्न चाहन्छु म हराएको छैन । एल्बमको तयारी एवं विदेशमा आयोजना हुने कार्यक्रममा नै मेरो दैनिकी बितिरहेको छ ।’ आफू संगीत बजारबाट नहराएको भन्नका लागि गायक भट्टराईको अर्को तर्क छ, ‘यदि म हराएको भए मेरो गीत किन नम्बर १ मा हुन्थ्यो होला ?’

nabin-k-bhattarai-1

‘मैले एउटा एल्बम निकाल्न ६ बर्ष लगाएँ । यसैले पनि धेरैलाई नवीन के हराएको जस्तो भान भएको होला । तर, नेपालको राजनीतिक अवस्था, लोडसेडिङले गर्दा पनि नयाँ एल्बमका लागि ६ वर्ष लाग्न पुग्यो ।’ उनको स्पष्टीकरण छ । आफूमा यतिबेला धेरै परिवर्तन आएको उनी बताउछन् । ‘हिजो र आजको नवीन के भट्टराईमा धेरै परिवर्तन आएको छ । म आज झनै निखारिएको छु, मेरो म्यूजिक निखारिएको छ । म एउटा एल्बमको तयारी गर्दा एउटा मात्र गीत हिट होस् भन्ने चाहन्न । सबै गीत हिट बनाउने सोचाइले म अगाडि बढ्छु । यसैले केही समय लगाउँछु पनि ।’

आफूमा परिवर्तन आएको बताउने गायक भट्टराईले नेपालमा गीत संगीतको क्षेत्रमा खासै परिवर्तन नआएको बताए । ‘मलाई गीत संगीतमा खासै कुनै चमत्कार भएको छ जस्तो लाग्दैन । नयाँ जेनेरेशन त धेरै आएको छ, तर कसैले पनि केही नयाँ गर्न सकेका छैनन् । गीत संगीतमा केही कुरा नयाँ नआएसम्म बजार तात्दैन । आज म्यूजिकल बजार तल झर्नुको मुख्य कारण नै यही हो । हामी चाँडै गीत बजारमा ल्याएर दुईचार दिन मिडियामा चर्चा बटुलौं भन्नेतर्फ मात्र लागेका छौं ।’

अनलाइनखबरसँग कुरा गर्दै उनी भन्छन् – ‘स्रोताहरुले बजारमा आएका नयाँ गायक तथा गायिकालाई किन सेलिब्रेटीका रुपमा हेरेका छैनन्, मलाई थाहा छैन । तर मेरो काम भनेको साधना गर्ने हो । जबसम्म गीत संगीतलाई गम्भीर रुपमा हेरिँदैन, तबसम्म स्रोताको नजरमा परिन्छ जस्तो मलाई लाग्दैन ।’

हिजोआज कलाकारहरु विदेशका कार्यक्रममा जानका लागि हतार गर्छन् । मलाई लाग्दैन कि कलाकारलाई विदेशका कार्यक्रमले बचाएको छ । मुख्यतयाः कलाकारको काम भनेको गाउने हो, साधना गर्ने हो, यस्तो अवसर आइरहन्छ भन्ने मलाई लाग्छ । आफूले गीत संगीतमा लागेर केही नगुमाएको तर तीन पुस्तामा लोकपि्रयता कमाएको भट्टराई बताउछन् । ‘मैले गीत-संगीतमा लागेर कुनै कुरा गुमाएको छैन । म विशेषगरी आत्मशान्तिका लागि संगीत गर्छु । यो क्षेत्रमा नलागेको भए मलाई कमैले मात्र चिन्थे होला । म सीमित क्षेत्रमा खुम्चिन्थेँ होला । आजका युवाले पनि नविन केको गीत सुनेको छ र हिजोको पुस्ताले पनि सुनेको थियो । यसैले ३ पुस्ताका लागि गीत गाउन पाउँदा म खुशी छु ।’

युवा माझ लोकपि्रय गायक भट्टराई आफूलाई मिडियामा आउन रुची नभएको र एक्लै बस्न मन लाग्ने गरेको बताए । मिडियामा कमैमात्र देखिन थालेका भट्टराईले अनलाइनखबरसँग अन्तरंग कुराकानी गर्दै भने, म मिडियामा निक्कै कम आउँछु । कपडा लगाएको, कतै गएको, केही खाएको जस्ता कुराले मेरो समाचार बनोस् भन्ने चाहना छैन । समाचार भनेको कामले बन्ने हो, हल्ला गरेर समाचारको पछि दौडनु गलत हो जस्तो लाग्छ । कम ब्याक हुनुको मज्जा नै बेग्लै छ । नविनले केही नयाँ गरेछ है भनेर स्रोताले चिन्नु पर्दछ, न कि नवीन समाचारमा आउन विभिन्न हथकण्डा अपनाउँछ भनेर चिनुन् ।

कुनै पनि नयाँ सोच नआइकन म एल्बमको तयारीमा लाग्दिँन । इन्टरनेटमा बसेर नयाँ-नयाँ कुरा खोज्न मन पराउँछु । गीत भनेको आफू मरे पनि बाँच्ने चीज हो, यसैले यसमा हेलचक्राइँ गर्नु हँुदैन भन्ने सोच मेरो हो । म प्रायः एक्लै बस्न रुचाउने मानिस हँु । गीत गाउनुभन्दा अन्य समय मानिसको भीडमा खै किन किन म बस्नै सक्दिँन । यसैले पनि म मिडियामा, विभिन्न कार्यक्रममा कम देखिन्छु । एल्बममा राम्रो गरौं, अरु बेला एक्लै बसौं भन्ने सोच छ मेरो । सायद यो कमजोरी पनि हुनसक्छ ।nabin-bhattaraiम यतिबेला मेरो ११ औ एल्बम काठमाण्डौको प्रमोशनमा व्यस्त छु । दशैंमा काठमाण्डौ र क्यानडामा कार्यक्रम छ । यसपश्चात नयाँ एल्बमको तयारीमा लाग्नेछु । मलाई लाग्दैन कि हिजो गीत निकाल्न र प्रमोशन गर्न सजिलो र आज गाह्रो छ । किनकि हिजो पनि प्रतिस्पर्धा नै थियो र आज पनि छ । आज फरक यति मात्र छ कि, लोडसेडिङ छ । भनेको समयमा काम गर्न पाइँदैन ।

मैले सुनेको छु, आज पैसामा गीत बिक्छ रे । पैसा हुनेहरुका कारणले राम्रा सर्जक पनि पछि परेका छन् । तर, अरुलाई दोष दिनु हँुदैन भन्ने मलाई लाग्छ । मानिसमा साधना भयो भने कहिले असफल हुँदैन । राम्रा गीत बजारमा आए भने सधैं नै हिट हुन्छन् । पैसामा बजेका गीत ८ पटक बज्नुभन्दा १ पटक मात्र बज्ने राम्रा गीत नै स्रोताको नजरमा पर्छन् । म सधैं नै सकारात्मक सोच राख्छु । मेरा नयाँ गीतहरु पनि दर्शकले याद गरेका छन् भन्ने लाग्छ ।

मलाई लाग्दैन कि म्यूजिक समय अनुसार फेरिन्छ । यसको स्वरुप फेरिन्छ । तर, नोट र सुर उही नै हो । म आत्माबाट जे आउँछ, त्यही नै गर्छु । यसैले स्रोता तथा दर्शकले मलाई मन पराइदिनुभएको छ । मलाई स्रोताहरुले २० बर्षदेखि माया गर्दै आउनुभएको छ । म सबै स्रोताहरुलाई धन्यवाद दिँदै म हराएको छैन भन्न चाहन्छु । मैले कहिले पनि आफू आज कुन स्थानमा छु भनेर मूल्यांकन गरेको छैन । गीत र संगीतमा भने म हिजो भन्दा आज तिखारिएको छु, निखारिएको छु ।

-कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment