Comments Add Comment

कोरोना नियन्त्रणसँग सम्बन्धित दुई दर्जन सामान शीघ्र प्रक्रियाबाट भित्र्याइँदै

७ जेठ, काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको आपूर्ति सहज बनाउन ‘शीघ्र प्रक्रिया’ थालेको छ । भन्सार विभागले कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि २०७८ जारी गर्दै मालवस्तु आपूर्ति सहज बनाउन थालेको हो ।

विभागले यसरी भित्राउने मालवस्तुको सूचिमा करवि २ दर्जन वस्तु रहेका छन् । विभागका अनुसार मेडिकल ग्रेड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्यांकसहित अक्सिजनसँग सम्बन्धित विभिन्न उपकरण रहेका छन् ।

आईसीयू बेड, रेमडिसिभिर, विभिन्न प्रकारका माक्स र नेपाल सरकारले तोकेका कोभिड १९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु समेत शीघ्र प्रक्रियाबाट भित्रने छन् ।

अत्यावश्यक मालवस्तु घोषणा गर्नुपर्ने

शीघ्र प्रक्रियाबाट भन्सार जाँचपास गराउनु पर्ने मालवस्तुलाई पैठारीकर्ताले अत्यावश्यक मालवस्तुका रुपमा घोषणा गर्नुपर्ने छ । त्यसका लागि प्रमाणित हुने कागजात पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

तर, प्रज्ञापनपत्रका साथमा पेश गर्नुपर्ने कुनै कागजात तत्काल पेश गर्न नसकेमा त्यस्तो कागजात पछि पेश गर्ने सर्तमा भन्सार अधिकृतले मालवस्तु जाँचपास गर्न सक्नेछन् ।

मालवस्तु जाँचपास भएकोमा उचित समय भित्र पैठारीकर्ताले त्यस्तो कागजहरु विद्युतीय माध्यमबाट वा भौतिक रुपमा भन्सार अधिकृतसमक्ष पेश गर्नुपर्ने गरि तोकिएको छ ।

जाँचपासमा प्राथमिकता

भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकता दिई शीघ्र जाँचपास गर्नुपर्ने भएको छ । सो प्रयोजनका लागि भन्सार कार्यालयको प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाई खडा गरि कर्मचारी खटाउन सक्ने भएको छ ।

आपूर्ति व्यवस्था सहज बनाउन कार्यालयको नियमित समयभन्दा अघि वा पछि र सार्वजनिक बिदाको दिनमा समेत यात्रु जाँचपास कक्ष वा काउन्टरबाट समेत अत्यावश्यक मालवस्तुको जाँचपास गर्ने गरि भन्सार कार्यालय प्रमुखले व्यवस्था गर्नुपर्ने भएको छ ।

जाँचपासका क्रममा देखिएका समस्या सहजीकरण गर्न विभागले उपमहानिर्देशकको संयोजकत्वमा एक द्रुत कार्यदल बनाउने समेत कार्यविधिमा उल्लेख छ । अत्यावश्यक मालवस्तुको शीघ्र जाँचपासलाई सहजीकरण गर्न विभागले छनोट प्रणालीको उपयुक्त विधि अवलम्बन गर्नुपर्ने समेत कार्यविधिले स्पष्ट पारेको छ ।

यसरी आएको सामानको विवरण भन्सार कार्यालयले दैनिक रुपमा भन्सार विभागलाई पठाउनु पर्छ ।

गुणस्तर भने प्रमाणित गर्नुपर्ने

अत्यावश्यक मालवस्तुमध्ये गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नुपर्ने प्रकृतिको मालवस्तुलाई भने गुुणस्तर प्रमाणित गरेर मात्र जाँचपास गर्नुपर्ने भएको छ ।

यस्ता सामानलाई समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा तोकिएको निकायले सिफारिस गरेको अवस्थामा भने सामान भित्राउन दिइने छ ।

तर, त्यस्तो सामान गुणस्तर पास भएपछि मात्र प्रयोगमा ल्याउनु पर्नेछ ।

अन्तर निकाय समन्वय आवश्यक

विभागका अनुसार अत्यावश्य वस्तुको जाँचपासका क्रममा स्थानीय स्तरमा कुनै समस्या भएमा त्यसको समाधान गर्ने जिम्मेवारी भने प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकायको समेत हुने छ । भन्सार अधिकृतले सीमावर्ती समकक्षीसँग समेत समन्वय गरि सामान आपूर्तिमा भूमिका खेल्नु पर्ने भएको छ ।

यसक्रममा भन्सार क्षेत्रभित्रका कर्मचारी, भन्सार एजेन्ट तथा प्रतिनिधि, टर्मिनल व्यवस्थापक, ढुवानी व्यवसायी, मजदुर संघसंस्गठन र सुरक्षा निकायसँग समन्वय गरि सामानको आपूर्ति व्यवस्थापन सहज बनाउनु पर्ने कार्यविधिमा उल्लेख छ ।

माथिल्लो निकायको सहयोग आवश्यक भएमा तत्काल त्यसबारे खबर गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment