Comments Add Comment

दुई घण्टाभित्र बादललाई दोहोरो झट्का

६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई बिहीबार दोहोरो झट्का लागेको छ ।

सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी पराजित भए । बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

देवकोटाले ५०८८ र बादलले ४०१४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि समर्थन जनाएको थियो । बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भने पूर्वअनुमानित नै थियो । किनभने यो उपनिर्वाचनमा एमाले विभाजित बनेको थियो । माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिंदा  माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए । यो नतिजाबारे बादल पनि जानकार थिए । त्यसैले सुरुमा उनी उम्मेदवार बन्न राजी भएनन् ।  तर उम्मेदवारी दर्ता गर्ने दिन (२४ वैशाख) हेलिकप्टरमा हेटौंडा पुगेका थिए ।

यस बीचमा नेता नेपालको मत लिन केही कसरत पनि भए । मंगलबार मात्रै बादल नेता नेपाललाई मनाउन कोटेश्वर पुगेका थिए । तर एमालेभित्र सहमति जुट्न नसकेपछि एमालेकै उम्मेद्वार देवकोटासँग सूर्य चिन्ह सहित मैदानमा उत्रिएका बादल पराजित भए ।

एमालेको सबै मत पाएका थिए भने बादल निर्वाचित हुने थिए । किनकि वागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको वर्चश्व छ । ११० सदस्यीय प्रदेश सदस्य मध्ये ५६ र ११९ स्थानीय तहमा ११३ पदाधिकारी एमाले छन् । यो भनेको ५०८२ मत हो । तर राप्रपाको मत आउँदा पनि बादलले ४०१४ मत मात्रै पाए । यसको प्रष्ट अर्थ हो– नेता नेपाल समूहको मत बादलले पाएनन् ।

 

देवकोटाले भने नेपाल समूह, कांग्रेस र माओवादीको मत पाए । २२ प्रदेश सदस्य र स्थानीय तहमा ६८ पदाधिकारी रहेको कांग्रेससँग २२८० र २३ सांसद र ३३ स्थानीय तहमा पदाधिकारी रहेको माओवादीसँग १६९८ मत छ । यो जोड्दा तीन हजार ९७८ मत पुग्छ । १३२ सिट रहेको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले आफ्नै उम्मेदवार  उठाएको थियो भने साझा विवेकशील तटस्थ बसे ।

अर्थात् एमालेकै उम्मेदवार देवकोटासँग पराजित भएसँगै बादल राष्ट्रियसभा सदस्य बन्न सकेनन् । जबकि २०७५ असार ५ गते राष्ट्रियसभा सदस्यको कार्यकालबारे टुंगो लगाउन गोला प्रथा हुँदा बादलले ६ वर्ष नै राष्ट्रियसभा सदस्य रहने गोला तानेका थिए ।

तर साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन, सर्वोच्च अदालतको फैसला र स्वयं उनले लिएको निर्णयका कारण गएको ५ वैशाखबाट बादल पदमुक्त भएका थिए । नेकपाको विभाजनमा ओलीतिर उभिएका बादललाई २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र व्युँतिएपछि स्वाभाविक रुपमा माओवादी केन्द्रको नेता बनेका थिए । तर बादल माओवादीतिर फर्किएनन्, बरू पद गुमाउन तयार भए ।

 

माओवादी केन्द्रले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । बादल भने गृहमन्त्री सहित एमालेमै बसे । अतः उपनिर्वाचनको अवस्था आइलाग्यो र मतदानमा पराजित पनि भए ।

तर बिहीबार भने बादलले त्यही गृहमन्त्री पद पनि गुमाउनु परेको छ । राष्ट्रियसभा निर्वाचनको परिणाम आउनु (साँझ ५ः२२ बजे) भन्दा ठीक दुई घण्टा अगाडि सर्वोच्च अदालतले बादललाई गृहमन्त्रीका रुपमा काम नगराउने अन्तरिम आदेश दिएको थियो । यदि, उपनिर्वाचनमा उनले जितेका थिए भने फेरि गृहमन्त्रीमै बहाली हुने बाटो खुल्ने थियो ।

राष्ट्रियसभा सदस्यमा पराजय र गृहमन्त्रीबाट पदमुक्त भएका बादलको हैसियत अब एमाले नेता मात्रै रहेको छ ।

बादलले राजनीतिक जीवनको गौरवसँग जोडिएको माओवादी पार्टी, राष्ट्रियसभा सदस्य पद र गृहमन्त्री गुमाएका छन् । जबकि माओवादी उम्मेदवारका रुपमा १४ माघ २०७४ मा वागमती प्रदेशबाट ३३९६ मत सहित बादल सहजै निर्वाचित भएका थिए । यसको एक महिनामै माओवादी केन्द्रको नेतृत्व गर्दै (१५ फागुन २०७४ मा) बादल गृहमन्त्री बने ।

बादल माओवादी केन्द्रका शीर्ष नेता भएकैले पार्टीको नेतृत्व गर्दै सरकारमा जाने अवसर पाएका थिए । हुन पनि उनी ६ जेठ २०७३ मा मात्रै नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । २०३७ देखि भूमिगत राजनीतिमा होमिएका र दशवर्षे माओवादी युद्धका एक योजनाकार मानिने बादल २०६९ पछि पुष्पकमल दाहाल प्रचण्डसँग अलग भएका थिए ।

यो पनि पढ्नुहोस आफैंले रोजेको ‘मध्यावधि’ परीक्षणमा बादल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सइन्द्र राई

ट्रेन्डिङ

Advertisment