Comments Add Comment

हामी अब जनताका वीचमा हिँड्यौं : प्रचण्ड (भिडियोसहित)

prachanda at peris danda (10)

१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफूहरु अब जनताका वीचमा जाने भन्दै बहुमतले पेले नर्फकने बताएका छन् ।

सत्तारुढ कांग्रेस र एमालेले परिर्वतनकारी शक्तिहरुलाई संविधानसभामा बहस गर्ने ठाउँ समेत नदिएकाले सडकमा जान लागेको उनले बताए ।
पार्टी केन्द्रीय समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘हामी अब जनताको वीचमा हिँड्यौं । जनतालाई साँचो कुरा बताएर मात्र फर्कन्छौं ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षण, समावेशी लोकतन्त्रका लागि संघर्ष गरेका शक्तिलाई पाखा लगाई संविधान बनाउन खोजेर कांग्रेस र एमालेले मुलुकलाई मुठभेडमा धकेलेको उनको आरोप थियो ।

उपलब्धीहरु रक्षाका लागि जनतामा जानुको विकल्प रहेको भन्दै प्रचण्डले भने-‘जसको बिहे, उसलाई नल्या’ भनेको जस्तो लाजमर्दो के हुन्छ ?’

कांग्रेस र एमालेले बहुमतले पेले शान्तिपूर्ण आन्दोलनको अधिकतम सीमासम्म जाने प्रचण्डले बताए । उनले भने-०६२/६३ को आन्दोलनमा के भएको थियो, त्यो तपाईहरुलाई थाहा नै छ । हामी शान्तिपूर्ण संघर्षको सीमासम्म जान्छौं । तर, युद्धमा जाने भनेको होइन ।’
त्यो सीमा संविधानसभा छाड्ने भन्ने हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने-‘बहुमतको बलमा अघि बढे नफर्कने स्थिति बन्न सक्छ ।’

यसअघि आइतबार बिहान ३० दलीय मोर्चाका नेताहरुसँग भएको छलफलमा प्रचण्डले संविधानसभाबाट सामूहिक राजीनामा दिने प्रस्ताव गरेका थिए । स्रोतका अनुसार माओवादी बैठकमा पनि प्रचण्डले स्थिति हेरेर संविधानसभा छाड्न सक्ने संकेत गरेका छन् ।

तरबार म्यानमा राख्नुस्, वार्ता हुन्छ

एमाओवादीले अहिले पनि आफूहरु सहमतिबाटै संविधान बनोस् भन्ने पक्षमा रहेको बताएको छ । प्रधानमन्त्रीले विगतका सहमति सम्झौता र आन्दोलनकारी दलहरुको सहमतिमा संविधान बनाउने प्रतिवद्धता जनाए पनि दलहरुबीच वार्ता हुन सक्ने प्रचण्डले बताए ।

प्रधानमन्त्री सुशील कोइरालासँग हालै भएको भेटबारे जानकारी दिँदै उनले भने-‘तर काट्नकै लागि जसरी घाँटीमा तरबार राखेर बहस हुन सक्दैन, पहिला तरबार म्यानमा राख्नुस् । हामी आउँछौं ।’

कांग्रेस र एमालेसँग बहुमत छ भन्ने आफूहरुलाई थाहा भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले यसले शान्ति सम्झौता र विगतका सहमतिहरुलाई माइनस गर्न नपाइने बताए ।

जनतामा के लिएर जाने ?

एमाओवादीले आन्दोलनका लागि पार्टीका शीर्ष तीन नेतालाई कमाण्डरसमेत तोकेको छ । प्रचण्ड, मध्य, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, पश्चिम र उपाध्यक्ष नाारयणकाजी श्रेष्ठ प्रकाश पूर्वी कमाण्डमा खटिनेछन् ।

जिल्ला र गाउँमा समेत आन्दोलन परिचालन समिति गठन गरिने एमाओवादीले जनाएको छ ।

प्रचण्डले दलहरुबीच भएको छलफल र नमिलेका विषयलाई लिएर जनतामा जाने बताए । ‘कसरी संविधानसभालाई अर्थहीन बनाइयो र परम्परावादी शक्तिहरुले कब्जामा लिए भन्ने जनता माझ लैजान्छौं’ उनले भने- ‘त्यसका लागि ३० दलले अपील बनाएको छ ।’

आफूहरुले जातीय राज्य नभनेको भन्दै प्रचण्डले विभेद अन्त्यको कुरा गरेको जनतालाई स्पष्ट पार्ने उनले बताए । एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘जो चोर उसैको ठूलो स्वर भनेको जस्तो भएको छ, बलियो राष्ट्रिय एकताको कुरा गर्नेहरुलाई विखण्डनकारी भनियो ।’

दुई-चार दिनमा संविधान ल्याए हुन्छ

प्रचण्डले सत्तारुढ दल र संविधानसभा अध्यक्षले संविधान, नियमावली सबैलाई मिचेको भन्दै अब २/४ दिनमै संविधान ल्याउन सक्ने बताए ।

‘अन्तरिम संविधान पढ्न पनि पर्दैन, शान्ति सम्झौता पढ्न पनि पर्दैन’ प्रचण्डले भने-‘२/४ दिनमा यही हो संविधान भन्न सक्छन् । तर, त्यो हामीलाई स्वीकार्य हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment