Comments Add Comment

तामाकोशीको सेयरमा कर्मचारीको अधिक आकर्षण

Tamakoshi-Hydropower१९ फागुन, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा लगानी गर्नका लागि कर्मचारीको उत्साह उल्लेख्य रहेको पाइएको छ ।

सधैँ टिप्पणी उठाउने र सदर गर्ने कर्मचारी पनि सेयर आवेदनका लागि नागरिक लगानी कोष र वाणिज्य बैंकका विभिन्न शाखामा लाम लागेका छन् ।

कार्यालयमा हाजिर गरेर सेयरमा आवेदन गर्न जाने कर्मचारीको सङ्ख्या पनि बढी रहेको छ ।

पूर्र्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्मका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई सेयर आवेदनको चटारोले छोएको छ । आगामी चैत्र १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको भए पनि कर्मचारीको उत्साह बढी रहेको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ ।

मुलुकमा विश्वसनीय रुपमा आयोजना अगाडि बढाइयो भने आम नागरिकले उत्साहका साथ सहभागिता जनाउँछन् भन्ने पनि माथिल्लो तामाकोशीको सेयरमा देखिएको कोषको भनाइ छ ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाले स्थानीय बासिन्दा, कर्मचारीका लागि पहिलो चरणमा सेयर आवेदन माग गरेको थियो । तामाकोशीले १५ प्रतिशत नागरिकका लागि छुट्याएको छ भने १० प्रतिशत दोलखावासीलाई दिएको छ । सोमबारदेखि खुला भएको सेयर आवेदनमा हालसम्म ८० हजारभन्दा बढी कर्मचारीले आवेदन दिएका छन् ।

कुल ४१ अर्ब रूपैयाँलागत रहेको सो आयोजनामा नागरिक लगानी कोष, सिएम मर्चेन्ट बैंक लिमिटेड र वाणिज्य बैंकका विभिन्न शाखामा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयरका माध्यमबाट लगानी गरिनेछ । दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता, सञ्चयकर्ताका लागि एक करोड ८२ लाख ९९ हजार ५२० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

ऋणदाता सञ्चय कोषका कर्मचारीलाई १५ लाख २४ हजार ९६० कित्ता, नागरिक लगानी कोषका कर्मचारीलाई तीन लाख ४ हजार ९९२ कित्ता, टेलिकमका कर्मचारीलाई नौ लाख १४ हजार ९६७ कित्ता, राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई तीन लाख ४ हजार ९९२ गरी कूल ३० लाख ४९ हजार ९२० कित्ता, कम्पनी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई ४० लाख ६६ हजार ५६० कित्ता सेयर आवेदन दिन पाइनेछ ।

कोषको कार्यालयमा सञ्चयकर्ता प्रमाणित गर्नका लागि कर्मचारीको भीड लागेको कोषका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । विसं २०६७ साउन १४ गतेसम्म सञ्चय कोषमा बचत गर्नेले तामाकोशीको सेयरमा आवेदन गर्न सक्नेछन् ।

मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने आयोजनाको रुपमा हेरिएको सो आयोजना हालसम्म करिब ७२ प्रतिशत सम्पन्न भइसकेको छ । हेड वर्कस्थित बाँधको काम ९२ प्रतिशत पूरा भएको छ । २२ मिटर उचाईको कुल ६० मिटर लम्बाई भएको बाँधमध्ये आधा ३० मिटर निर्माण पूरा भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

सो बाँधले १२ लाख घनमिटर पानी अटाउनेछ । हिउँदमा समेत बाँधमा १८ घण्टा पानी जम्मा गरिनेछ, नदी प्रवाहमा आधारित सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर काम अगाडि बढाएको छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुत्रबद्ध गरेको २१ वटा आयोजनामध्ये उत्साह जनाएको आयोजनाको रुपमा सोही आयोजना देखिएको छ ।

हालकै क्रममा आयोजना अगाडि बढेको खण्डमा २०७३ को असारसम्म आयोजनाले पूर्ण रुपमा व्यावसायिक उत्पादन थाल्नेछ । प्रसारण लाइन पनि तोकिएकै समयमा पूरा भए मुलुकवासीले २०७३ को साउनबाट विद्युत् भार कटौतीबाट मुक्ति पाउने विश्वास लिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment