Comments Add Comment

सीएनएन हिरोको सपनाको घर

puspa (7)

राजकुमार श्रेष्ठ

४ वैशाख, काठमाडौं । चपलीबाट झण्डै तीन किलोमिटरभित्र पस्दा निकै उनी निकै व्यस्त अवस्थामा भेटिइन् । उनी निर्माण कम्पनीका प्रतिनिधिलाई केही भनिरहेकी थिइन्, हामीलाई देख्दानाथ एकैछिन बस्दै गर है भाइ भन्दै केहीबेर हराइन् ।

केहीबेरमा आइन् तर, निकै हतारिएकी थिइन् । निर्माणाधीन भवनको माथिल्लो तलामा गएर कुराकानी सुरु गर्दा उनी कुर्सीमा बस्न समेत मानिनन् । एकदमै टेन्सन भइसक्यो भाइ, यो घर बनाउनजतिको गाह्रो केही हुँदोरहेछ, भउनी भन्दै थिइन् ।

उनी हुन् सीएनएन हिरो पुष्पा बस्नेत । सीएनएन हिरो भएपछि पुष्पा बस्नेत र उनको समाजसेवामा आएको परिर्वतन हेर्न हामी उनलाई खोज्दै चपली पुगेका थियौं ।

सीएनएन हिरोको अनुभूति

अनलाइनखबरकर्मीले भेटन आउनुको उद्देश्य बनाउनासाथ पुष्पाले भनिन्- सीएनएन हिरो हुँदैमा आजको भोलि नै सबै हुँदैन । तीन वर्ष भइसक्यो, एउटा घर बनाउन सकेको छैन ।’

CNN-Hero-Puspa-Basnetबाबुआमा जेल परेपछि उनीहरुसँगै जेलमा बस्न बाध्य बालबालिकालाई उद्धार गरेर १० वर्षअघि प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर सुरु गरेकी पुष्पा बस्नेत सन् २०१२ मा सीएनएन हिरो अवार्डबाट सम्मानित भएकी थिइन् ।

सीएनएन हिरो भएपछि पुष्पा र उनको समाजसेवाले नेपालमा मात्र होइन, विश्वमा नै चर्चा पायो । यसले उनलाई नेम, फेम सबै दियो । पुष्पालाई समाजसेवाको काम गर्न पनि सहज भयो ।

तर, समाजको अपेक्षा पनि त्यति नै बढ्यो, जुन पूरा गर्न सजिलो छैन । पुष्पा भन्छिन्- ‘सीएनएनबाट व्यक्तिगतरुपमा मेरो जीवनमा धेरै परिर्वतनहरु भए । काम गर्न सहज भयो । तर, एउटा कुरा धेरैलाई के हुँदोरहेछ भने अब पुष्पाले आजको भोलि सबै चेन्ज गर्छे । त्यो कहिल्यै हुँदैन । समय लाग्छ ।’

चपलीमा अब नमूना घर

सीएनएन हिरो भएपछि धेरै परिर्वतन भए । तर, देखिने गरी भएको एउटा परिर्वतन हो, पुष्पाको सपनाको घर ।

उनी अहिले चपलीमा बालबालिका राख्न नमुनाको घर बनाउँदैछिन्, जसलाई उनी आफ्नो सपनाको घर भन्छिन् । ‘सीएनएनले गर्दा देखिहाल्यौं सपनाको घर छ । छ/सात महिनामा पूरा हुन्छ’ केहीबेर अघिसम्म तनावमा रहेकी पुष्पा खुलेर हाँसिन् ।

अहिलेसम्म उनले आफ्नो कार्यालय भाडाको घरमा चलाएकी छिन् । १० वर्षमा पाँच ठाउँ सारिन् । कहीँ बाथरुम नहुने त कहीँ पर्याप्त शौचालय र खेल्ने मैदान नहुने । कुन दिन घरमालिकले भोलिबाट कोठा खाली गर्न भन्छन् भन्ने पनि टुंगो छैन ।

‘बिरालोले बच्चा सारेको जस्तो सारेँ’ पुष्पाले भनिन्-कस्तो हुँदोरहेछ भने मेरा बुबाले मलाई घर बनाएर राख्नुभयो । मलाई कहिल्यै पनि टाउकामाथिको छानो जान्छ भन्ने भएन । मेरा बच्चाहरुलाई त्यही हुनुपर्छ भन्ने हो ।’

पुष्पा आफूलाई आफ्ना बाआमाले दिएको जस्तै वातावरण आफ्ना छोराछोरीलाई दिन चाहन्छिन्  ।

जब उनी सीएनएन हिरो भइन्, उनले आफ्नै घर बनाउने सपना देख्न थालेकी थिइन् ।

Puspa Basnet ko sapanako Ghar (9)

सीएनएन हिरो घोषणा भएपछि पाएको रकमले उनले ५ रोपनी छ आना जग्गा किनन् । त्यसपछि भवन बनाउन पैसा थिएन । तर, भगवानले पनि केहीलाई ‘तँ आटमात्र गर, म पुर्‍याउँछु भन्छन्’ भन्ने नेपाली उखानजस्तै भयो पुष्पाको जीवनमा ।

सीएनएन हिरो बन्नुअघि नै पुष्पा र उनको समाजसेवाबारे डकुमेन्ट्री बनेको थियो, ‘वेटिङ फर मामु’ । पुष्पा सीएनएन हिरो बनेपछि यो डकुमेन्ट्रीले आधा दर्जन अन्तराष्ट्रिय पुस्कार जितिकसकेको छ । ‘आजसम्म जति पैसा उठेको छ, त्यो डकुमेन्ट्रीले गर्दा उठेको छ’ उनी भन्छिन्-निर्देशक थोमस मोर्गनले डकुमेन्ट्री बनाएर संस्थाको लाइफ नै चेन्ज गरिदिए ।’

एक समय थियो, पुष्पा बस्नेतलाई ७ हजार भाडा तिर्न पनि हम्मेहम्मे हुन्थ्यो । अहिले  मासिक ७० हजार भाडा तिर्छिन् । त्यति मात्र होइन, सपनाको घर बनाउन ६ करोडको कन्स्ट्रक्सन प्रोजेक्ट अहिले चलिरहेको छ । चारवटा भवनहरु बन्दैछन् ।

कस्तो हुनेछ सपना घर ?

एउटामा कार्यालय र वल्र्ड अफ क्लास रुम रहनेछ । जसमा बच्चाहरु पहिलोपटक कारागारबाट आएपछि ट्रान्जिसन पिरियडमा त्यहाँ बसेर आर्ट थेरापी गरिन्छ । पहिलोपटक आउँदा उसको व्यवहार बुझ्न सहज होस् भनेर ।

Puspa Basnet ko sapanako Ghar (6)

त्यो छोरीहरु घर हो । दुईतलामा छोरी बस्नेछन् । तल किचन हुनेछ । अर्को घर छोराहरुको हो । त्यसको भुइँतलामा तल स्टेज हुन्छ । पुष्पा भन्छिन्-एउटै ठाउँमा छोराछोरी राख्दैनौं । शौचालय, बाथरुम पर्याप्त छ । खेल्ने ठाउँ छ ।’

चौथो भवन भने आवासका लागि हो । जसमा पुष्पा आफैं बस्छिन्, सहयोग गर्ने संस्थाका प्रतिनिधिहरु आउँदा उनीहरुका लागि पनि बस्ने ठाउँ सोही घरमा नै बनाइनेछ ।

झण्डै एक घण्टाको कुराकानीमा जब जब घरको प्रशंग आयो, उनी निकै खुसी देखिइन् । यो खुशी उनको अनुहारमा त्यो प्रष्ट देखिन्थ्यो । उनले भनिन्-एउटा सपनाको घर भनौं न, हा हा हा । सपनाको घर बन्दैछ ।’

विष्णुराज भण्डारीको अदृश्य निर्माण कम्पनीले घरहरु बनाउने जिम्मा लिएको छ । उनी यो घरको जन्म थोमस मोर्गेन र विष्णुराज भण्डारीलाई मान्छिन् ।

निर्माण कार्य गत मार्चमा सुरु गरेको हो । साउनसम्ममा सक्ने लक्ष्य राखिएको छ । असोज ८ गते उद्घाटनको साइत निकालिएको छ ।
पुष्पाका अनुसार लगभग दुई करोड तिर्न बाँकी छ । ‘घर लिनुभन्दा अगाडि नै पैसा तिर्छु । हाँस्दै उहाँहरुलाई चसक्क नहोस् । बहिनीले पैसा दिन बाँकी छ’ उनले हाँस्दै भनिन् ।

जेलबाट निस्केर विद्यालय

पुष्पाले अहिले ४५ जना बालबालिकालाई आफूसँग राखेकी छिन् । सुन्धारा जेलमा डे केयर चलाउँछिन् । बालबालिकाहरु विहान जेलबाट निस्किएर पढ्छन्, र फेरि जेलमा जान्छन् । चार ना अर्को स्कुलमा जान्छन् र फेरि जेलमा बस्छन् ।

१५ जना जो छुटेर गएका छन्, उनीहरुको छात्रवृत्तिमा सहयोग गर्छिन् । ग्लास वाटर फाउण्डेसन र शिक्षा फाण्डेसन नेपालले पुष्पालाई सहयोग गर्दै आएका छन् ।

पुष्पा धेरै फण्ड ल्याउनु पनि टाउको दुखाउनु हो भन्ने ठान्छिन् । उनलाई यो राम्रोसँग थाहा छ कि आज जुन ठाउँमा आइपुग्न १० वर्ष लाग्यो, त्यो ठाउँबाट झर्न १० सकेण्ड पनि लाग्दैन ।

उनी भन्छिन्, मैले मेरो प्लेटमा जति खान सक्छु, त्यति मात्र खान्छु । धेरै खाएर वान्ता गर्न चाहन्न । त्यही कारण १० वर्षमा म यहाँ छु ।’
अहिलेसम्म बुबाआमा जेलबाट छुटेपछि १०० भन्दा बढी वालवालिका पुष्पासँग छुटि्टएर गइसके । आमाबुबा जेलबाट छुटेपछि उनीहरुले नयाँ जीवन सुरुवात गर्न चाहन्छन् र जसलाई पुष्पा सम्मान गर्छिन् । ‘म भेट्न जान पनि गाह्रो हुन्छ । भेट्न जाँदा मान्छेहरुले चिन्छन् । पुष्पा बस्नेत आएकी रहिछन् के जेल परेको हो भन्न सक्छन्’ लामो समय आफूले हुर्काएको छोराछोरीलाई भेट्न नपाउँदा उनलाई नमीठो लाग्छ ।

उनले बालगृह खोलेको पहिलो वर्ष नै एक युवक एसलएलसी परीक्षा सकेर हालै मात्र आफ्नो आमासँग गए । ‘घर जाने बेलामा यस्तो नराम्रोसँग रोयो कि अहिलेसम्म झझल्को आइरहेको छ’ निकै भावुक हुँदै पुष्पाले भनिन्- त्यो देख्दा कहिलेकाँही कोही कोहीका आमाबुबा नआइदिओस् भन्ने पनि लाग्छ, के भन्ने ।’

संस्था अरुलाई जिम्मा लगाउने योजना

पुष्पा अबको ५ वर्षपछि यो संस्था आफू कहाँ हुर्किएका बालबालिकाले नै चलाओस् भन्नेमा छिन् । उनको योजना छ ,घर बनाइसकेपछि एउटा अक्षय कोष खडा गर्ने र नेतृत्व हस्तान्तरण गर्ने । ‘म यसलाई फ्यामली बिजनेश बनाउन चाहन्नँ’ उनले प्रष्ट भनिन्- उनीहरुले जति फिल गर्न सक्छन्, मैले सक्दिँन । मेरा बुबाआमा जेल पर्नु भएको छैन । देखियो गरियो । भावमा बगेर यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने मात्र हो ।’

Puspa Basnet ko sapanako Ghar (2)

पुष्पाले बडो प्रष्टसँग भन्छिन्, कुनैबेला मैले मेरा कथा बेचेँ । अब भनेको उनीहरुले आफ्नो कथा बेचेर यो संस्थालाई अगाडि लैजानुपर्छ ।, पुष्पा बस्नेतले होइन ।’

बस्नेत १० वर्षसम्म आफूले पाएको सफलता र गरेको समाजसेवाको श्रेय पनि तिनै बालबालिकालाई दिन्छिन् । ‘पुष्पा बस्नेत भनेको केही पनि होइन, उनीहरु छन् र पो म भएँ । उनीहरु नभएको भए म हुँदै हुने थिइँन’ उनले भनिन् ।

बुबालाई सघाउने योजना

नेतृत्व हस्तान्तरणपछि भने उनी आफ्ना बुबाको बिजनेश सम्हाल्ने योजनामा छिन् । बाबुआमाको उमेर ढल्किँदै गएकाले पनि उनलाई त्यो जिम्मेवारी सम्हाल्नुपर्ने दबाव छ । उनले भनिन्-उहाँहरुको इच्छा छ कि छोरीले आफ्नो व्यापार छाडेर यसो गर्‍यो भन्ने छ । तर, मैले यहाँको सबै छोड्ने होइन ।’

पुष्पाका बुबाको लामो समयदेखि हाइड्रो व्यवसाय छ । आफूले बुबाको बिजनेश सम्हाल्न पाए आफूसँग बस्दै आएका छोराछोरीलाई पनि सहयोग पुग्ने उनको विश्वास छ । ‘मेरा केही छोरीहरु बिजनेश गर्न चाहन्छन्’ उनले भनिन्- ‘अरु ठाउँमा पठाउँदा उनीहरु सुरक्षित छन् कि छैनन् भनेर हेर्नुपर्छ । भोलि उनीहरुलाई केही भयो भने मैले जीन्दगीमा आफूलाई माफ गर्न सक्दिँन ।’

हुनेवाला पतिले पखेटा नकाटोस्

पुष्पाको अनुभव छ, समाजसेवामा लागेपछि व्यक्तिगत जीवन भन्ने धेरै रहँदैन । के खायो, के लगायोदेखि के गरिरहेको छ भन्नेमा समेत अरुले हेरिहेका हुन्छन् ।

व्यक्तिगत जीवनको कुराकानीका क्रममा उनले बुबाआमाको इच्छा पनि हेरिदिनुपर्छ भन्दै आफ्नो विवाहको संकेत गरिन् ।  उनले भनिन्- मेरा लागि यो प्राथमिकता हो । अबको ५ वर्षमा म मेरा लागि सही मान्छे भेट्टाउँछु जस्तो लाग्छ ।’

पुष्पा बस्नेत अझै अविवाहित छिन् । उनले अघि भनिन्, केही बितेको छैन । तर, भोलि मैले विवाह गर्ने भनेको केटा कस्तो होस् भने मलाई मेरो काम गर्न दिनुपर्छ । मेरो लाइफ आफ्नो तरिकाले बिताउन दिनुपर्छ । भोलि मेरो पखेटा काट्न नपरोस् ।’

बुबाले स्वतन्त्र उड्न दिएकाले नै आफू यो ठाउँसम्म आउन सफल भएको उनको निष्कर्ष थियो । उनले भनिन्, भोलि विवाह गरेपछि मैले गर्नुपर्ने भूमिकाहरु होला, तर अरुलाई खसी बनाउन म मेरो यो लाइफ त्याग्न सक्दिँन ।’

तर, पुष्पाको मात्र होइन, उनीसँग बस्दै आएका छोरा छोरीकै विवाह गर्ने बेला भइसक्यो । उनले भनिन्- अब आमा र छोरा छोरीको एउटै मण्डपमा विवाह गर्ने हा हा हा हा ..!

तस्वीरः श्रीधर पाैडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment