+
+
Shares

कनक चैत्य महाविहारमा आयोजित महायज्ञमा राष्ट्रपति सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १३:५९

५ मंसिर, काठमाडौं । काठमाडौंको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मच्छिन्द्रनाथ मन्दिर) परिसरमा आयोजना गरिएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।

जगत् कल्याण र विश्व शान्तिको कामनासहित ५० वर्षपछि आयोजना गरिएको अयूता हुति महायज्ञमा राष्ट्रपति पौडेल शनिबार सहभागी भएका हुन् । उनी प्रथम महिला सविता पौडेलसहित महायज्ञमा सहभागी भएका थिए ।

आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा बिहीबारदेखि सुरु भएको महायज्ञ शनिबार सम्पन्न भएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्मदेशना, स्वस्तिक वाचन तथा विभिन्न धार्मिक पूजापाठका विधि समावेश गरिएको थियो ।

आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यका अनुसार नेवा: संस्कृति र विशेषगरी वज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ ।

काठमाडौं उपत्यकाको नेवा: बौद्ध तथा तान्त्रिक परम्परासँग जोडिएको यो महायज्ञ ऐतिहासिक विहारहरूमा विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा तीन दिनसम्म सञ्चालन गर्ने परम्परा रहेको उनले बताए ।

महायज्ञमा सहभागी हुने क्रममा राष्ट्रपति पौडेलले सेतो मच्छिन्द्रनाथ मन्दिरको दर्शन गर्नुका साथै हवनमा सहभागी भएर भेटीसमेत प्रदान गरेका थिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?