Comments Add Comment

महिना दिनभित्र ४८ अर्बको आन्तरिक ऋण उठाउँदै सरकार

  पुष्प दुलाल
१८ जेठ, काठमाडौं । सरकारले आगामी एक महिनाभित्र ४८ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । यो आर्थिक वर्षमा सरकारलाई खर्च गर्ने पैसाको अभाव नभए पनि आगामी आर्थिक वर्षदेखि भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुननिर्माणमा खर्च गर्ने उद्देश्यले आन्तरिक ऋण उठाउन लागिएको हो ।

चालू आर्थिक वर्षमा सरकारले कूल ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । तर, अबौर्ं रकम Nepali moneyखर्च हुन नसकेर सरकारी ढुकुटीमै थन्किएकाले १० महिनासम्म पनि आन्तरिक ऋण उठाएको थिएन ।

बैशाख १२ गते र २९ गतेको विनासकारी भूकम्पले ठूलो क्षति गरेपछि क्षतिग्रस्त संरचना पुननिर्माणका लागि आन्तरिक ऋणमार्फत सरकारले रकमको जोहो गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई बताए ।

सरकारले ३५ अर्ब विकास ऋणपत्र, १८ अर्बको ट्रेजरी बिल, २ अर्ब ५० करोडको नागरिक बचतपत्र, २५ करोडको बैदेशिक रोजगारपत्र गरी यो वर्ष ५२ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने कार्यक्रम राखेको थियो ।

‘जसमध्ये पहिलो चरणमा ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र हप्तादिन अघिमात्रै बिक्री भइसकेको छ । बोलकबोलबाट बिक्री  गरिएको पाँच वर्षे विकास ऋणपत्रको ४ प्रतिशत व्याजदर छ ।’ डा. श्रेष्ठले भने- जसमा ३७ अर्ब ३३ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन परेको थियो । घटीमा बोलकबोल गर्छ त्यसलाई बिक्री गर्ने सरकारी योजना हो ।’

श्रेष्ठका अनुसार जेठ १२ गतेदेखि २ अर्ब ५० करोडको नागरिक बचतपत्रको बिक्री खुल्ला गरिएको छ । खुल्ला छ । २६ गते बन्द हुने यो बचतपत्रमा लगानी गर्ने सर्वसाधारणले ८ प्रतिशत व्याज पाउने छन् ।

‘नागरिक बचतपत्र स-साना र छरिएर रहेका व्यक्तिग निक्षेपकर्ताहरुका लागि निष्काशन गरिएको हो ।’ उनले भने- जो कोही नेापाली नागरिकले नागरिकताको फोटोकपी बुझाएर देशभर रहेका विभिन्न ५१ स्थानबाट यो बचतपत्र किन्न सक्नेछन् । काठमाडौं उपत्यकाबाहेक धादिङ, चितवन, बुटव, कास्की,  धनुसा, मोरङ, सर्लाहीबाट नागरिक बचतपत्र बिक्री भइरहेको छ ।
त्यसैगरी, यो आर्थिक वर्षभित्र नै ३० अर्ब रुपैयाँ बराबरको ५, ७, ९, १० र १५ वर्षे विकास ऋणपत्र निष्काशन गर्ने प्रवक्त श्रेष्ठले जानकारी दिए । यसको व्याजदर भने बजारले निर्धारण गर्नेछ । ‘जसले कम व्याजदरमा बोलकबोल गर्छ, यो बण्ड उसैलाई बिक्री गरिन्छ’ उनले भने ।

त्यस्तै, यसैवर्ष २५ करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका नेपालीहरुले खरिद गर्नसक्ने यो बचतपत्रको व्याजदर सबैभन्दा बढी अर्थात ९ प्रतिशत छ ।

सरकारले असारको दोस्रो देखि तेस्रो हप्ताभित्र १८ अर्ब रुपैयाँ बराबरको बट्टादर ट्रेजरी बिल निष्काशन गर्ने श्रेष्ठले जानकारी दिए । ट्रेजरी बिलमा संगठित संस्था (जस्तै बैंक वित्तीय संस्थालगायतले) मात्रै लगानी गर्न पाउने छन । ३ देखि ६ महिना अवधिको यो ट्रेजरी बिलको व्याजदर पनि बजारले निर्धाण गर्ने र यसको व्याजदर अत्यन्तै न्यून हुने उनले बताए ।

वर्षान्तमा किन उठाइयो ?

यो आर्थिक वर्ष बजेट अपेक्षअनुसार खर्च नभएको हुनाले सरकार आन्तरिक ऋण नउठाउने योजनामा रहेको तर, बिनासकारी भूकम्पका कारण आगामी वर्ष सरकारलाई निकै ठूलो स्रोत चाहिने भएकाले वर्षन्तमै भए पनि ऋण उठाउन सरकार कस्सिएको डा. श्रेष्ठले बताए । प्रत्येक वर्ष सरकारले कूल ग्राहस्थ उत्पादनको ३ प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउन पाउँदैन ।

‘वर्षको अन्त्यमा उठाइएको आन्तरिक ऋणले सरकारलाई व्याजदरको भार पनि कम पर्छ र आगामी वर्ष खर्च गर्न स्रोत पनि जुट्छ ।’ उनले भने ।

विभिन्न विकासका कार्यक्रमहरु सञ्चालन गर्न रकमको अभाव भएमा सरकारले आर्थिक ऐनमा उल्लेख भएअनुसार आन्तरिक ऋण उठाएर खर्च गर्न पाउने अधिकार छ । रकमको अभावमा विकास निर्माणका कामहरु ठप्प नहोउन भनेर सरकारलाई आन्तरिक ऋण उठाउन पाउने कानूनी व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment