Comments Add Comment

मस्यौदाको च्यात्नुको तुक छैन : मन्त्री रिजाल

सन्देश श्रेष्ठ
१६ असार, पोखरा । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले नयाँ संविधानको मस्यौदाको विरोध गर्नु र च्यात्नुमा कुनै तुक नभएको बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदा मै विरोध गरेर च्यात्नु गलत भएको उनको भनाइ छ ।

Minendra-Rijal

बुधबार कास्कीमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘संविधानको मस्यौदा राय सुझावका लागि जनतामा जान्छ र सुझाव लिएर मात्रै नयाँ संविधान जारी हुन्छ, त्यसैले प्रारम्भिक मस्यौदाको विरोध गर्नु र च्यात्नुमा कुनै तुक छैन ।’

मंगलबारको संविधानसभा बैठकमा पेश भएको संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै मधेसवादी दलहरुले च्यातेका थिए ।

उनले अवरोधका बाबजुद संविधान निर्माण हुने दाबी गरे । उनले भने, ‘मधेसवादी दलका केही नेताले संविधानको मस्यौदा च्यात्दैमा संविधान निर्माण प्रक्रिया रोकिदैन ।’

मन्त्री रिजालले नयाँ संविधान बनाउन दुई तिहाइ सभासदको खाँचो पर्ने भएकाले सबै दलको सहयोगबाटै संविधान बन्ने बताए । मस्यौदा निर्माणको क्रममा सहमति भइसकेका विषयमा केही विवाद भएपनि ति विवादले संविधान निर्माणमा असर नपार्ने उनको भनाइ थियो ।

उनले मस्यौदालाई जनतासामु लगेर सुझावसहित पुनः बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमार्फत विवाद निरुपण गरेर संविधानसभामा पुर्‍याउनुपर्ने औंल्याए ।

उनले भने, ‘संविधानको प्रारम्भिक मस्यौदा नै संविधानको पूरा रुप हैन, यसैलाई संविधान भन्ने भ्रम हुनुहुँदैन, बरु यसमा रहेका विवाद निरुपण गरेर जनतासामु जानुपर्छ ।’

पत्रकार महासंघले सुझाव दिएन

एक फरक प्रसंगमा मन्त्री रिजालले नयाँ संविधानमा प्रेस स्वतन्त्रता कायम रहने बताए ।

उनले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षलाई नयाँ संविधानमा प्रेस सम्बन्धि सुझाव मागेपनि नदिएको बताउँदै अहिले आएर विरोध गर्दा आश्चर्य लागेको बताए । उनले अहिलेपनि चित्त नबुझेका कुरा भए सच्याउन सकिने बताए ।

कांग्रेस महाधिवेशन भदौमै

नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री रिजालले सत्ता लम्बाउने खेलमा नेपाली कांग्रेस नरहेको दाबी गरे ।

कांग्रेसको महाधिवेसन तोकिएको मिति भदौमा नै हुने उनले बताए । उनले आफू पदाधिकारीमा उठ्ने मनसाय व्यक्त गरेपनि पद भने खुलाएनन् । उनले पार्टीमा देखिएको सदस्यता विवाद समितिले छानविन गरेर टुंग्याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment