Comments Add Comment

बाहुन र मधेसीलाई एक प्रदेश, क्षेत्री र जनजातिलाई दुई

कमल मादेन
तथ्यका आधारमा विश्लेषण गर्दा ६ वटा प्रदेशमध्ये दुईवटामा क्षेत्री, दुईवटामा जनजाति (तामाङ र मगर) र एक/एकवटा प्रदेशमा बाहुन र मधेसीको बाहुल्य देखिन्छ । यद्यपि मधेस प्रदेशमा दलितहरु सबैभन्दा बढी छन् ।

प्रदेश कुल जनसंख्या जनसंख्या प्रतिशत जनसंख्या प्रतिशत
पहिलो दोस्रो तेस्रो चौथो
४५,३४,९४३ १७ क्षेत्री १४.७७ बाहुन १२.०८ राई ११.३२ लिम्बु ८.४१
५४,०१,१४५ २० यादव १४.७७ मुसलमान ११.५७ पासवान २.७८ बाहुन २.३५
५५,२९,४५२ २१ तामाङ २०.३३ बाहुन १८.२८ क्षेत्री १७.२८ नेवार १६.९१
२२७९६०१ १० बाहुन २१.३५ मगर १५.८५ गुरुङ १४.४४ क्षेत्री १३.५६
४९,१६,९७२ १७ मगर १५.३५ थारु १५.१५ क्षेत्री १४.५० बाहुन १२.६८
३८,२९,३९२ १५ क्षेत्री ४५.१३ बाहुन १२.६३ कामी १२.०३ ठकुरी ७.३८

(स्रोत : मुक्तसिंह तामाङ र ओम गुरुङ सम्पादित पुस्तक – सोसल इन्क्लुजन एटलस अफ नेपाल :  इथ्निक एण्ड काष्ट ग्रुप्स् -२०१४)

संविधानसभाबाट ६ प्रदेशसहितको संविधान बनाउने प्रस्ताव अघि बढाइएको छ । प्रस्तावित प्रदेशहरु चर्चामा रहेका लिम्बुवान, खम्बुवान, नेवा, ताम्सालिङ, मगरात, थरुहट आदिको संरचनामा आधाारित छैनन् । यदि यही प्रस्तावित मस्यौदाअनुसार नै प्रदेश निर्धारण भयो भने यो बहुसंख्यक जनताले सोचेअनुसारका प्रदेश हुनेछन् या कामै नलाग्ने बन्नेछन् ?

प्रस्तुत लेखमा प्रदेशहरुको औचित्यका बारेमा नभई प्रस्तावित ६ प्रदेशको भूगोल र त्यसमा रहेका मुख्य जातजातिको बसोबासको स्थिति कस्तो छ भन्ने आधारमा मात्रै वस्तुगत विश्लेषण गरिएको छ । राष्ट्रिय जनगणना ०६८ का आधारमा यो विश्लेषण गरिएको हो ।

1_pardesh

पूर्वका १४ जिल्लाहरु समेटिएको यो प्रस्तावित प्रदेशमा पहिले लिम्बुवान, खम्बुवान, कोचिला आदि प्रदेश बनाउनुपर्ने माग उठेको थियो । प्रस्तावित प्रदेश १ ले मुलुकको ३२.९६ प्रतिशत भूभाग ओगटेको छ । जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ ।

अहिले छुट्याइएको सीमांकनअनुसार यो प्रदेशमा क्षेत्रीको संख्या सबैभन्दा बढी (१४.७७ प्रतिशत) छ ।

एक नम्बर प्रदेशमा जनसंख्याको हिसाबले दोस्रोमा बाहुन (१२.०८ प्रतिशत), तेस्रोमा राई (११.३२ प्रतिशत) र चौथोमा लिम्बू (८.४१ प्रतिशत) जातिको बसोबास छ ।

नेपाल एकीकरण पहिले अरुण नदीपूर्वमा लिम्बू अरुणदेखि सुनकोसीसम्म राई समुदायका राज्य थिए । गोर्खाली सेनालाई लिम्बूवान जित्न संकट परेको थियो । बिसं १८३१ ताका गरिएको एक सम्झौताबाट लिम्बूहरु पछि हटेका हुन् । शाह बंशीय राजाले लिम्बूवानमा विशेषतः लिम्बू समुदायलाई भूमि व्यवस्थापन सम्बन्धी एक अधिकार किपट दिएको थियो । त्यो बिसं ०४६ साल अघिसम्म कतैकतै कायम थियो ।

लिम्बुवानले अलग  प्रदेश माग्दै आएको अरुणपूर्वका ९ जिल्लाको जनसंख्यामा पनि पहिलो नम्बरमा लिम्बुहरु नभई बाहुनहरु छन् । दोस्रोमा क्षेत्री र तेस्रोमा मात्रै लिम्बू छन् । ९ जिल्लामा तिनीहरु क्रमशः  १३.४८, १३.१८ र १०.६३ प्रतिशत छन् । त्यस्तै थारु, तामाङ, नेवार र मगर पाँचौं, छैठौं, सातौं र आठौं स्थानमा छन् ।

लिम्बुहरुको थात थलो रहेको ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्लामा भने लिम्बू समुदायको संख्या उल्लेखनीय अर्थात् ४० प्रतिशतजति छ । धनकुटा, इलाम, संखुवासभामा पनि लिम्बूको संख्या उल्लेखनीय छ ।

एक नम्बर प्रदेश अन्तरगतका तराईका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा पहाडी मूलका बासिन्दाहरु बिशेषतः माथि उल्लेखित ६ जिल्लाबाटै बसाई सरेर गएकाहरुको बाहुल्य छ । यद्यपि सोलुखुम्बुको खुम्जुङ, टयाङबोचे, स्याङबोचे आदि ठाउँका बासिन्दाका लागि उल्लेखित तराईका ३ जिल्ला पुग्नु भनेको पश्चिम नेपालको मुगु, दार्चुला, जुम्ला आदि पुग्नुजस्तै अभेक ठाउँ हो । उनीहरु बरु डोल्पा, हुम्ला, जुम्लाको बिभिन्न ठाउँसँग परिचित छन् । तर, तिनका लागि सुनसरीको कप्तानगञ्ज, साहेबगन्ज, झापाको पृथ्वीनगर, देउनिया खोला कहिल्यै नसुनेको नाम हुन सक्छ ।

सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर र उदयपुर जिल्लामा राईको घनत्व बढी छ । तराईका ३ जिल्ला धिमाल, मेचे, राजबंशी, झाँगड/उराऊ, थारुहरुको पुरानो बसोबासस्थल हुन् । त्यहाँ ती समुदाय पनि उहिल्यैदेखि बस्दै आएका हुन् ।

पूर्वी पहाडी जिल्लाहरुमा क्षेत्री, बाहुन, मगर, तामाङ, गुरुङ, भुजेल, कामी, दमाई भने सेन बंशको मध्यतिर र धेरैजसो शाह बंशको उदय ताका अर्थात २४०/२५० बर्ष पहिले पुगेका हुन् ।

2_pardesh

सप्तरीदेखि पर्सासम्म तराईका ८ जिल्लालाई समेटेर प्रदेश नं २ प्रस्ताव गरिएको छ । उल्लेखित ८ जिल्लाले नेपालको ६.५६ प्रतिशत भूभाग ओगटेको छ । थोरै भूभाग भए पनि जनसंख्याको हिसाबले उक्त प्रदेश अहिले प्रस्तावित ६ प्रदेशमध्ये धेरै जनसंख्या हुनेतर्फ दोस्रो स्थानमा पर्छ । यहाँको जनसंख्या ५४ लाख १ हजार १ सय ४५ छ ।

प्रस्तावित प्रदेश नं २ मा मधेसी दलितको संख्या सबैभन्दा बढी छ । तराईका १० समुदायहरु बाँतर/सर्दार, चमार/हरिजन/राम, चिडिमार, धोबी, डोम, दुसाध/पासवान, हल्खोर, खत्वे, मुसहर, तत्मा/तत्वालाई मधेसी दलित भनिन्छ ।

दुसाध/पासवानको संख्या उक्त प्रस्तावित प्रदेशमा १ लाख ५० हजार ६ सय ५४ अर्थात २.७८ प्रतिशत छ । पासवानको संख्या प्रस्तावित प्रदेश नं २ मा क्षेत्री र पहाडे बाहुनको भन्दा बढी हो । यहाँ क्षेत्री, बाहुन मात्र २.२६ र २.३५ प्रतिशत छन् ।

प्रस्तावित प्रदेश नं २ मा मधेसी दलित १५.३५ प्रतिशत छन् । पहाडे दलित ०.९० प्रतिशत छन् । दुबै जोड्दा कुल दलित १६.२५ प्रतिशत पुग्छन् ।  यादव र मुसलमानको संख्या दोस्रो र तेस्रो स्थानमा छ । यादव १४.७७ र मुसलमान ११.५७ प्रतिशत छन् ।

पर्सा र बारा बाहेकका ६ जिल्लामा यादव कुल जनसंख्याको १६.७९ प्रतिशत छन् । सिराहामा यादव २४.३८ प्रतिशत छन् । धनुषा, सप्तरी, सर्लाही र सिराहामा यादव १/१ लाखभन्दा बढी संख्यामा छन् । राष्ट्रपति डा. रामबरण यादव धनुषाका हुन् ।

त्यसैगरी चमार, तेली र कोइरी/कुश्वाहा पनि प्रदेश नं २ मा उल्लेखनीय संख्यामा छन् ।

महोत्तरी र धनुषा जिल्ल्लाका १० गाविसमा मधेसी बाहुन (कायस्थ, नुराङ र राजपुत) को संख्या २५ देखि ५० प्रतिशतसम्म छ ।

नेपालमा सबैभन्दा बढी साक्षर प्रतिशत मधेसी बाहुनको छ । त्यसैगरी मधेसी दलितमा सबैभन्दा कम साक्षर दर छ । प्रस्तावित प्रदेश नं २ मा मधेसी दलितको संख्या धेरै भएकाले उक्त प्रदेशको साक्षरता दर सबैभन्दा कम ४१.०४ प्रतिशत छ ।

त्यस्तै उक्त प्रस्तावित प्रदेशमा धुनिया (कपासको काम गर्ने मुस्लिम), हजाम/ठाकुर, हलुवाई, कल्वर, कानु, कुम्हर, लोहार, माली, मलाहा (माछा मार्ने), नुनिया (माटो काट्ने), सोनार, सुधी, खत्वे, धोबी, मुसहर/मुसर आदि तराई मूलका समुदायहरु सघनरुपमा बसोबास गर्छन् ।

3_pardesh

प्रस्तावित प्रदेश नं ३ मा काठमाडौ उपत्यकाका ३ जिल्लासहित जम्मा १२ जिल्ला छन् । यस प्रस्तावित प्रदेशमा उल्लेखित ६ प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या छ । तर, क्षेत्रफलका हिसाबले ५ औं स्थानमा पर्छ । प्रदेश नं ३ सबैभन्दा सानो प्रदेश नं २ भन्दा १० हजार ६ सय ३९ बर्ग किलोमिटर ठूलो छ । त्यस्तै चौथो ठूलो प्रदेश नं ४ भन्दा मात्र यो प्रदेश ३१२ बर्ग किलोमिटर सानो छ ।

प्रस्तावित प्रदेश नं ३ ले नेपालको १३.७९ प्रतिशत भूभाग ओगटेको छ । त्यो प्रदेशमा तामाङ सबैभन्दा बढी संख्यामा छन् ।

देशभरि तामाङहरु १५ लाख ३९ हजार ८ सय ३० संख्यामा छन् । तीमध्ये ११ लाख २४ हजार ३ सय २५ प्रस्तावित प्रदेश नं ३ मा छन् । त्यो संख्या प्रदेश ३ को कुल जनसंख्यामध्ये २०.३३ प्रतिशत हो । तामाङ पछि मात्रै बाहुन, क्षेत्री र नेवार समुदायको संख्या आउँछ । तिनीहरु क्रमशः १८.२८, १७.२८ र १६.९१ प्रतिशत छन् ।

काठमाडौ उपत्यका र आसपासको क्षेत्रलाई समेटेर नेवा ताम्सालिङ प्रदेश बनाउने माग उठेको थियो । काठमाडौ उपत्यकामा पहिले नेवारको बाहुल्य थियो । काठमाडौ उपत्यकाका ३ नै जिल्लामा ०५८ को जनगणनासम्म नेवारको संख्या बढी थियो । तर, ०६८ को जनगणनामा पहाडे बाहुन काठमाडौ जिल्लामा नेवार भन्दा २६ हजार ९ सय ९० जना बढी भएका छन् ।

अब नेवारको संख्या ललितपुर र भक्तपुरमा मात्र बढी छ । देशभरिका पाहाडे बाहुन काठमाडौमा थुप्रिएका छन् । पहाडे बाहुनहरु स्याङजा, झापा लगायतका जिल्लाबाट बितेको १०/१५ वर्षयता ठूलो संख्यामा काठमाडौ भित्रिएका छन् । (यो पनि पढ्नुहोस्)

4_pardesh

यो प्रस्तावित प्रदेशमा जम्मा ११ जिल्ला छन् । तीमध्ये बाग्लुङ र नवलपरासी जिल्लाका केही भाग प्रस्तावित प्रदेश नं ५ मा गाभिएका छन् । क्षेत्रफलका हिसाबले यो प्रस्तावित प्रदेश  ३ नम्बर प्रदेश भन्दा केही ठूलो भए पनि जनसंख्या भने ६ वटै प्रदेशमध्ये सबैभन्दा कम छ  ।

बाग्लुङ र नवलपरासीको सबै जनसंख्या लिँदा उक्त प्रदेशमा पहाडे बाहुन २४.३१ प्रतिशत पुग्छन् । त्यसपछि मगर, क्षेत्री  र गुरुङको संख्या क्रमशः २०.९१, १४.८० र ११.६७ प्रतिशत छन् ।

बाग्लुङ र नवलपरासी जिल्लाका जनसंख्या गणना नगर्दा प्रस्तावित प्रदेश ४ मा बाहुन, मगर, गुरुङ र क्षेत्रीका संख्या क्रमशः २१.३५, १५.८५, १४.४४ र १३.५६ प्रतिशत हुन्छ ।

मगर १ सय २५ जातजातिमध्ये संख्या धेरै भएको क्षेत्री, बाहुन पछि तेस्रो समुदाय हो । मगरहरु पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका बिशेषत पहाडी जिल्लाहरुमा सघनरुपमा बसोबास गर्छन् । नवलपरासी, स्याङजा, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी जिल्लाहरुमा मगरको संख्या उल्लेखनीय छ ।

यो प्रस्तावित प्रदेश हिमाली जिल्लाहरु जस्तो गोर्खा, कास्की, लमजुङहरुका कारण मगर संख्यामा पहिलो स्थानमा पर्न सकेन । गुरुङ पनि उक्त प्रदेश ४ मा उल्लेखीय संख्यामा छन् ।

कामीसँगै अन्य दलितलाई जोड्ने हो भने यो प्रदेशमा दलितको जनसंख्या केही बढी हुन जान्छ र दलित तेस्रो जातिमा आउन सक्छ ।

5_pardesh

यो प्रदेशमा सग्ला ८ र खण्डित ३ जिल्ला परेका छन् । क्षेत्रफलका आधारमा यो प्रस्तावित तेस्रो ठूलो प्रस्तावित प्रदेश हो । जनसंख्याको हिसाबमा पनि बढी जनसंख्या हुनेमा या प्रस्तावित प्रदेश तेस्रो स्थानमा पर्छ । यो प्रस्तावित प्रदेशमा बाग्लुङ र नवलपरासीका साथै रुकुमलाई पनि विभाजन गरिएको छ ।

यो प्रदेश अन्तरगत बर्दिया र दाङमा थारुको संख्या अत्यधिक छ । ती २ जिल्लामा थारुहरु २,२६,०८९ र १,६३,११६ संख्यामा छन् । त्यसैगरी रुपन्देही, बाँके र कपिलवस्तुमा पनि थारुको संख्या उल्लेखनीय नै छ । ती ३ जिल्लामा थारु क्रमशः ८४,७८८, ७६,८७९ र ७०,०९६ संख्यामा छन् ।

मगरहरु पाल्पा, रोल्पा, रुपन्देही, दाङ र प्युठानमा धेरै संख्यामा छन् । ती पाँच जिल्लामा मगर क्रमशः १,३६,५८८, ९७,०११, ९४,२४७, ७५,१३१ र ७४,३१२ को संख्यामा छन् ।  दाङमा क्षेत्री १,३७,६७२ संख्यामा छन् । त्यसैगरी उल्लेखित जिल्लामध्ये क्षेत्री सबैभन्दा कम रोल्पामा २०,६२८ संख्यामा छन् । पहाडे बाहुन सबैभन्दा बढी रुपन्देही जिल्लामा १,४०,२४९ को संख्यामा छन् ।

यो प्रदेशमा मगरको संख्या पहिलो स्थानमा छ । मगरपछि मात्र थारु, क्षेत्री र पहाडे बाहुनको संख्या आउँछन् । नवलपरासी, बाग्लुङ र रुकुमको जनसंख्या नजोड्ने हो भने पहिलो स्थानमा मगर, त्यसपछि क्रमशः थारु, क्षेत्री र पहाडे बाहुन दोस्रा, तेस्रो र चौथो नम्बरमा आउँछन् ।

उल्लेखित चार समुदायको संख्या प्रस्तावित प्रदेश नं ५ मा क्रमशः  १५.३५, १५.१५, १४.५० र १२.६८ प्रतिशत छन् । नवलपरासी, बाग्लुङ र रुकुम जिल्लामा मगर ११२,३३१, ७५,३१० र ४९,७४३ संख्यामा छन् । ती ३ जिल्लामा क्षेत्री ३९,९७७, ५०,२४० र ५३,८५७ संख्यामा छन् । त्यसैगरी पहाडे बाहुन ११२,५५९, ५२,४८३ र ६,९१० संख्यामा छन् ।

6_pardesh

यो प्रस्तावित प्रदेशमा १८ सग्ला र १ बिभाजित गरी जम्मा १९ जिल्ला छन् । यो प्रदेश क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो भए पनि जनसंख्या भने कमी छ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १५ प्रतिशत अर्थात ३८ लाख २९ हजार ३ सय ९२ संख्या छ ।

तराईका २ जिल्ला कैलाली र कन्चनपुरमा थारु अत्यधिक संख्यामा छन् । नेपालमा थारु सबैभन्दा बढी संख्या भएको जिल्ला कैलाली हो । कैलालीमा थारु ३ लाख २२ हजार १ सय २० संख्यामा छन् । कञ्चनपरमा थारु १ लाख १५ हजार ८ सय ७६ संख्यामा छन् ।

उसो त यो प्रदेशमा क्षेत्रीको पनि बाहुल्यता छ । यो प्रदेशका ८ जिल्लामा क्षेत्रीको संख्या १ लाख भन्दा बढी छ । क्षेत्री सबैभन्दा बढी संख्यामा कैलाली जिल्लामा १ लाख ६३ हजार ८ सय ८४ संख्यामा छन् ।

क्षेत्रीहरु यो प्रदेशमा ४५.१३ प्रतिशत छन् । क्षेत्रीपछि पहाडे बाहुन र कामीको संख्या थोरै बहुत उस्तै छ । बाहुनहरु कामी भन्दा मात्र ०.६ प्रतिशतले बढी छन् । यो प्रदेशमा बाहुन र कामी क्रमशः ४,५७,५२५ र ४,३५,८२६ संख्यामा छन् । प्रतिशतमा बाहुन १२.६३ प्रतिशत र कामी र १२.०३ प्रतिशत छन् ।

यो प्रदेशमा ठकुरीहरु ७.३८ प्रतिशत (रुकुमलाई नजोड्दा) हुन आउँछ । रुकुमको जनसंख्यालाई नजोड्दा यो प्रदेशको जनसंख्या ३६ लाख २० हजार ८ सय २६ हुन आउँछ ।

भूगोलका आधारमा प्रस्तावित प्रदेश नं ६ पनि प्रस्तावित प्रदेश १ जस्तै असहज छ । तराईका २ जिल्ला समावेश गरेर त्यो प्रदेशको सीमाङकन झनै असहज र विवादित बनेको छ ।

लेखक कमल मादेन
लेखक कमल मादेन

जाँदाजाँदै : संविधानमा प्रदेशको सीमाङकन हुनु आफैमा राम्रो हो । तर, संविधान बनाउने कुरा कांग्रेस, एमाले, एमाओवादीका ८/१० जना नेता तथा मधेसी नेता बिजयकुमार गच्छदारको बैठक खेल्ने खेलोमा परिणत भएको छ । अहिलेका लागि मानौं उनीहरु नै भगवान हुन् । भगवानले जे दिन्छन्, त्यही शिरोपर गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ देखियो ।

यस्तो आग्रह र भावनाबाट बनेको संबिधान कस्तो होला ? तिनका स्वार्थ पूर्ति गर्ने सीमांकन कति बैज्ञानिक होला र टिक्ला ? यो प्रश्नको उत्तर सायद निकट भविश्यले देला ।

(नोट : बाग्लुङ, रुकुम, नवलपरासी लगायतका केही जिल्लाहरुको विभाजन भएकाे स्थितिमा  जनसंख्याको हिसाबले ५ नम्बर र ६ नम्बर प्रदेशको विश्लेषणमा सामान्य तलमाथि हुन सक्छ )

याे पनि पढ्नुहाेस् – यी हुन सक्छन् ६ प्रदेशका सम्भावित राजधानी (नक्सासहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment