Comments Add Comment

एमाले अध्यक्ष ओलीलाई मधेसको खुलापत्र

ओलीजी,
तपाई देशको ठूलो दोस्रो पार्टीको आदरणीय अध्यक्ष हुनुहुन्छ र बिगत केही दिनदेखि तपाईको नाम राष्ट्रवादी नेताको रुपमा चिनिन थालेको छ ।

तर तपाईको बिचारमा राष्ट्रवादीको परिभाषा के छ त ? के आफ्नै देशका नागरिकलाई युपी बिहार जानको लागि उत्तेजित अभिब्यक्ति दिनु राष्ट्रवाद हो त ? के १ करोड मधेसीहरुको जनसंख्या भएको मधेस नेपालमै छैन भनेर अभिब्यक्ति दिनु राष्ट्रियता हो त ? पक्कै पनि होइन ।

Bikash-Thakurराष्ट्रियता भनेको देशमा रहेको सम्पूर्ण जातजाती, धर्म, समुदायको बिकास एवम् संरक्षणको लागि सोच्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ ।

तर मधेसी लगायत बिभिन्न उत्पीडित समुदायले अधिकार माग्दा गोली, बिकास माग्दा गोली दिने अधिकार तपाईकै निर्देशनमा गृहमन्त्री बनेका माननीय बामदेव गौतमलाई कसले दियो त ?

२०६२/६३ को जनआन्दोलन पश्चात नेपालमा लोकतान्त्रिक गणतन्त्रको शासनब्यवस्था कायम भएको हामीलाई अवगत भएकै कुरा हो तर पनि तपाईको अनुहारमा देखिएको ज्ञानेन्द्र शाहको झझल्कोले यो ब्यवस्था कायम नभएको अनुभूति हामीलाई भएको छ ।

अधिकार र धर्मको मुद्दामा खुलेर बोल्न चाहने आफ्नै पार्टीका नेता कार्यकर्ता एवम् सभासदहरुलाई दबाएर राख्नु कतिको जायज छ ?

नेपालको संबिधान २०७२ को निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यस संक्रमणकालीन अबस्थामा मधेसी लगायत सम्पूर्ण उत्पीडीत समुदाय आफ्नो अधिकारको लागि लडिरहेका छन् ।

अझपनि अधिकार माग्नेलाई गोली, विकास माग्नेलाई गोली दिनु भयो भने कति दिन चल्छ हाम्रो देश ?

टीकापुर, वीरगंज, भैरहवा र जनकपुर लगायत मधेसमा भएको सम्पूर्ण घटना तपाईकै बिबादास्पद अभिब्यक्तिले भएको छ यसलाई स्वीकादै तपाईले नै नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ । सीमांकनको बिषयमा कांग्रेस चुप छ भने अर्कोतिर एमाओवादी अध्यक्ष प्रचण्डजीले एमालेकै कारण मधेसी र थारुको माग सम्बोधन हुन सकेको स्पष्टोक्ति बिभिन्न सञ्चारमाध्यमबाट गरिसक्नु भएको छ ।

ओलीजी,

देश भनेको काठमाडौं, सिंहदरबार र बालकोट मात्रै होइन । झापाको एक साधारण परिवारमा जन्मिएर हाल देशको प्रधानमन्त्री बन्ने दाबी गर्दै हुनुहुन्छ तपाई । झापाबाट काठमाडौ आउने बाटोमा पनि मधेसको भुमी अबश्य पनि पर्छ ।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि तपाईको पार्टीले आधा भन्दा बढी सीट मधेसबाटै जितेका हुन् भन्ने कुरालाई कदापी काट्न सकिदैन ।

मधेसी जनताले चुनावको समयमा एमालेलाई मत दिएर जिताउने र मधेसीहरुले अधिकार माग्दा गोली हान्ने यो कस्तो न्याय हो तपाईको अदालतमा ?

ओलीजी,

मधेसी जनताले उठाएको हरेक माग जायज छ, मधेसवादी नेताले गर्ने हरेक क्रियाकलाप राम्रो छ भनेर म भन्दिन तर सम्पूर्ण माग नै उपयुक्त छैन भनेर तपाईले भन्नु सरासर गलत हो ।

बिखण्डनको म घोर बिरोधी हुँ । तर, आफ्नै देशमा बिदेशी जस्तो बस्नु पनि उचित होईन भन्ने मलाई लाग्छ ।

बिगत २३ देखि सीमांकन र अधिकारको लागि मधेस-थरुहटमा जारी आन्दोलनले हालसम्म आन्दोलनकारी र नेपाल प्रहरीलाई मिलाई २९ जना नेपालीले शहादत प्राप्त गरिसकेका छन् । आन्दोलनको क्रममा शहादत प्राप्त सम्पूर्ण नेपालीहरुको भावनालाई कदर गर्दै घोषणा गरिएको दंगाक्षेत्र र कर्फ्यू तत्काल फुकुवा गर्न लगाई, सेनालाई तत्काल फिर्ता बोलाई असन्तुष्ट पक्षहरुसँग वार्ताको वातावरण बनाउन म हजुरसंग बिनम्र अनुरोध गर्दछु ।

ओलीजी,

अर्कोतर्फ हाम्रो देश नेपालमा हामी ९४५ सनातन धर्मालम्बीहरुको बासोवास छ । त्यसैले हाम्रो देशलाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र पनि कायम गरिनु पर्दछ । तपाईहरुको बिचारमा राष्ट्रको धर्म हुदैन रे । तर पाकिस्तान, बंगलादेश लगायत विश्वका थुप्रै देशहरु धर्म सापेक्ष छन् भने ९४५ सनातन धर्मालम्बीको बासोबास रहेको हाम्रो देश हिन्दु राष्ट्र किन हुन सक्दैन ?

उही तपाइँको

बिकाश कुमार ठाकुर
अध्यक्ष, हिन्दु युवा जनशक्ति संघ-नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment