+
+
Shares

गुल्मीमा घट्दै तोरीखेती

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते ८:२७

५ मंसिर, गुल्मी । यतिबेला गुल्मीका गाउँघरका खेतबारी तोरीका पहेँलपुर फूलले ढकमक्क छन् । असोजको अन्तिम सातादेखि कात्तिक महिनासम्म छरिएको तोरी फुलेपछि खेतबारी पहेँलै बनेका छन् । टाढाबाट हेर्दा खेतबारीमा पहेँलो फूलको गलैँचा बिछ्याएजस्तो देखिन्छ ।

गाउँघरको सौन्दर्य बढाउनुका साथै किसानको आम्दानीको स्रोतसमेत बनेको तोरीखेती पछिल्लो समय भने घट्दै गएको छ । बजारमा तोरीको तेलको माग र मूल्य दुवै बढिरहेका बेला गुल्मीका किसान भने यो खेतीप्रति निरुत्साहित हुँदै गएका छन् ।

परम्परागत रूपमा जिल्लाका अधिकांश क्षेत्रमा हुँदै आएको तोरीखेती किसानको प्राथमिकताबाट हट्दै गएको हो । वर्षे बाली भित्र्याएपछि खाली रहने खेतबारीमा हिउँदे बालीका रूपमा तोरी छर्ने चलन पुरानै हो । कम लगानी र तुलनात्मक रूपमा कम रेखदेखमा खेती गर्न सकिने भएकाले ग्रामीण भेगका किसानका लागि तोरी महत्वपूर्ण बाली मानिँदै आएको थियो ।

तर पछिल्ला वर्षमा पर्याप्त वर्षा नहुनु, सिँचाइ सुविधा अभाव, प्रतिकूल मौसम र समयमा मलखाद नपाउनुलगायत कारणले यसको उत्पादन प्रभावित हुँदै आएको छ । समयमै पानी नपर्दा बिरुवा कमजोर हुने तथा फूल लाग्ने र दाना बन्ने प्रक्रियामा असर पर्ने गरेको छ ।

तोरीखेतीका लागि बालीको विभिन्न अवस्थामै आवश्यक चिस्यान हुनुपर्छ । तर सिँचाइ सुविधा नहुँदा किसान आकाशे पानीकै भर पर्नुपर्ने अवस्थामा छन् । जलवायु परिवर्तनका कारण वर्षा अनियमित हुनु, लामो समय खडेरी पर्नु र मौसमको अनिश्चितताले खेतीपातीको चक्रसमेत प्रभावित हुँदै गएको छ ।

एकातिर उत्पादनको सुनिश्चितता नहुनु र अर्कोतिर श्रम तथा लगानीअनुसार प्रतिफल नपाउनुका कारण किसानले तोरीखेतीको क्षेत्रफल घटाउँदै लगेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कले पनि जिल्लामा तोरीखेती घट्दै गएको देखाउँछ ।

केन्द्रका अनुसार जिल्लामा अहिले १ हजार ३१ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ । अघिल्लो वर्ष १ हजार १४० हेक्टरमा तोरीखेती गरिएको थियो । यसरी एक वर्षमै खेती हुने क्षेत्रफल १०९ हेक्टरले घटेको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख विवेक पन्थले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष तोरीखेतीको क्षेत्रफल घटेको बताए । उनका अनुसार प्रतिकूल मौसमी अवस्थाका कारण यस वर्ष तोरी उत्पादनसमेत घट्न सक्ने अनुमान छ ।

विशेषगरी सिँचाइ सुविधा नभएका ग्रामीण क्षेत्रमा अनियमित वर्षा र लामो खडेरीको असर बढी देखिएको छ । सामान्यतया कम सिँचाइमा पनि खेती गर्न सकिने बाली मानिए पनि वृद्धि र दाना लाग्ने संवेदनशील अवस्थामा आवश्यक चिस्यान नपुग्दा उत्पादनमा उल्लेख्य असर पर्न सक्छ ।

बजारमा तोरीको तेलको माग र मूल्य बढिरहेको अवस्थामा स्थानीय उत्पादन बढाउन सके बाहिरबाट आउने तेलमाथिको निर्भरता घटाउन सकिन्छ । त्यसका लागि किसानलाई गुणस्तरीय बीउ, मलखाद र कृषि प्राविधिक सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यक छ ।

अहिले गुल्मीका खेतबारी तोरीका पहेँला फूलले ढकमक्क छन् । गाउँघरको सौन्दर्य बढाइरहेको यो दृश्यले राम्रो उत्पादनको आशा जगाए पनि घट्दो खेती क्षेत्रफल र मौसमको अनिश्चितताले किसानको आम्दानीमाथि चुनौती थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?