+
+
Shares

३ करोड जनसंख्यालाई १५० टेलिभिजन : नेपालमा टीभी उद्योगको भविष्य

देशमा आवश्यकताभन्दा बढी टेलिभिजनहरू खुलेका छन्। बजारको अध्ययनबिना नै तीन करोड जनसंख्याका लागि २६० भन्दा बढी टेलिभिजनले अनुमति लिएका छन् भने करिब १५० भन्दा बढी टेलिभिजनहरू सञ्चालनमा छन्। देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुन नसक्दा, नयाँ उद्योग नखुल्दा र भएका पनि बन्द हुने वा विदेशमा स्थानान्तरण हुने अवस्थामा विज्ञापन बजार बढ्न सकेको छैन।

लक्ष्मण हुमागाईं लक्ष्मण हुमागाईं
२०८३ मंसिर ५ गते ७:३०

आज विश्व टेलिभिजन दिवस। विश्‍वभरका टेलिभिजनकर्मीहरूको महान पर्व। टेलिभिजनले सामाजिक, साँस्कृतिक, सूचना, सञ्‍चार, मनोरञ्जन र शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको सम्झना गर्ने दिन। आम सञ्‍चारका क्षेत्रमा पत्रपत्रिका र रेडियोको विकासपछि प्रसारणमा आएको टेलिभिजनले सूचना तथा सञ्‍चारका क्षेत्रमा सन् १९६० को दशकमा क्रान्ति नै ल्यायो। सोही दशकमा विकास भएको स्याटलाइटले टेलिभिजनलाई विश्‍वव्यापी बनायो भने श्यामश्वेत टेलिभिजन रङ्गीन भयो। टेलिभिजनको गुणस्तरमा समेत वृद्धि भयो भने विश्‍वभर टेलिभिजनको लोकप्रियता र माग बढ्न पुग्यो। त्यसैले सन् १९६० को दशकलाई टेलिभिजनको स्वर्ण युग भनियो।

विश्‍वका जुनसुकै कुनामा घटेका घटनालाई तत्काल विश्वभर फैलाउने क्षमता टेलिभिजनसँग भयो । टाढाटाढाका दृश्य घरमै बसेर हेर्न सकिने, सूचना, सन्देश, मनोरञ्‍जन र शिक्षा प्राप्त हुने भएकोले टेलिभिजनले सामाजिक र साँस्कृतिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्‍यो। टेलिभिजनको यही योगदानको स्मरण गर्दै सन् १९९६ को नभेम्बरको २१ र २२ तारिखमा संयुक्त राष्ट्र संघले आफ्नो मुख्यालयमा वर्ल्ड टेलिभिजन फोरमको आयोजना गर्‍यो। जसमा टेलिभिजनले सामाजिक परिवर्तनमा गरेको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २१ का दिनलाई विश्‍व टेलिभिजन दिवसको रूपमा मनाउने निर्णय गर्‍यो। त्यसकै सम्झनामा विश्वभर आज विश्‍व टेलिभिजन दिवस मनाइँदैछ।

सूचना, शिक्षा, मनोरञ्‍जनका साथै उत्प्रेरणाका लागि टेलिभिजन महत्वपूर्ण मानिन्छ। टेलिभिजनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम, समाचार र समसामयिक विषयवस्तु जनतासमक्ष पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। शिक्षा तथा ज्ञानको विस्तार गर्न टेलिभिजनले शैक्षिक कार्यक्रम, वृत्तचित्र, बहस तथा छलफल र ज्ञानमूलक सामग्रीको उत्पादन तथा प्रसारण गरी अनौपचारिक शिक्षामा योगदान पुर्‍याएको हुन्छ। स्वास्थ्य, वातावरण, मानव अधिकार, लोकतन्त्र, सुशासन र सामाजिक न्यायका विषयमा जनचेतना फैलाउन टेलिभिजन महत्वपूर्ण मानिन्छ।

लोकतन्त्रको सुदृढीकरणका लागि सार्वजनिक बहस, विचार आदानप्रदान र सरकारका गतिविधिको निगरानीमार्फत लोकतान्त्रिक अभ्यासलाई टेलिभिजनले सहयोग पुर्‍याएको हुन्छ। भिन्‍न विचार र दृष्टिकोणलाई छलफलमा ल्याई आम दृष्टिकोण निर्माणमा टेलिभिजनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्‍न भाषा, कला, संस्कृति, परम्परा, लोकगीत तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने काम टेलिभिजनले नै गर्छ। सामाजिक एकता र सहकार्य कायम गर्न विभिन्न समुदाय, वर्ग, क्षेत्र र देशका मानिसहरूबीच सूचना तथा विचारको आदानप्रदान गर्ने तथा विपद् तथा संकटको समयमा सूचना प्रदान गर्ने काम टेलिभिजनले गर्दछ। भूकम्प, बाढी, महामारी र अन्य विपद्का समयमा तत्काल सूचना, चेतावनी र सुरक्षासम्बन्धी जानकारी प्रदान गरी जीउधनको रक्षा गर्ने काम टेलिभिजनले गर्छ।

टेलिभिजन मनोरञ्जनको पनि महत्वपूर्ण साधन हो। टेलिशृङ्खला, चलचित्र, खेलकुद, सङ्गीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम टेलिभिजनमा प्रस्तुत हुने गर्छन्। जनताको आवश्यकता र सार्वजनिक हितलाई केन्द्रमा राखेर निष्पक्ष, विश्वसनीय, विविधतापूर्ण र समावेशी सामग्री उत्पादन तथा प्रसारण गर्न प्रेरित गर्ने भएकोले टेलिभिजन सञ्‍चारको प्रभावकारी साधन भएको हो।

टेलिभिजनमा नयाँ प्रविधिको प्रयोग

टेलि भनेको टाढाको, भिजन भन्‍नाले दृश्यलाई बुझाउँछ। त्यसैले टाढाको दृश्य देखाउन सक्ने साधन नै टेलिभिजन हो। भारतमा टेलिभिजनलाई दूरदर्शन भनिन्छ भने श्रीलङ्कामा रूपबाहिनी भन्‍ने गरिन्छ। नेपालमा अंग्रेजी शब्द टेलिभिजन नै भन्‍ने गरिएको छ। इन्टरनेटको विकास हुनुअघिसम्म टेलिभिजन सूचना तथा सञ्‍चारको एक प्रभावकारी साधन मानिन्थ्यो। इन्टरनेटको विकासले टेलिभिजनप्रति मानिसको आकर्षण घटेको भनिए पनि वास्तविकता भिन्‍न छ।

इन्टरनेटको विकासले टेलिभिजनका प्लाटफर्महरू परिवर्तन भए। परम्परागत टेलिभिजन सेटको सट्टा अब टेलिभिजन मोबाइलमा, ट्याबमा, कम्प्युटरमा हेर्न र सुन्‍न सकिने भयो। प्रसारणकै बेला हेर्नुपर्ने बाध्यताबाट दर्शक तथा स्रोतालाई मुक्ति मिल्यो। इन्टरनेट प्रोटोकल टेलिभिजनको विकासले दर्शकले आफूले चाहेको समयमा टेलिभिजनका कार्यक्रम हेर्न सक्ने भएका छन्। प्रसारणकै बेला हेर्नुपर्ने बाध्यता हटेको छ। परम्परागत टेलिभिजन कार्यक्रमका सम्बन्धमा प्रतिक्रिया दिन नसक्ने अवस्था अब टरेको छ। दर्शकले कार्यक्रमको तत्काल प्रतिक्रिया दिन सक्ने भएका छन्। कार्यक्रमको लोकप्रियता मापन गर्न सहज भएको छ। कति मानिसले हेरे, कति समय कार्यक्रम हेरे र के प्रतिक्रिया दिए तत्काल थाह पाउन सकिने भएको छ।

इन्टरनेटको विकासले टेलिभिजन प्रसारणमा केवल भू-सतह, भू-उपग्रहको प्रयोगको सट्टा इन्टरनेट प्रसारणमा जान सहज बनाएको छ। इन्टरनेट प्रोटोकल टेलिभिजन (आईटीभी), परम्परागत टेलिभिजन प्रसारणसँग सम्बन्ध नै नराखी सोझै दर्शककोमा इन्टरनेटमार्फत पुग्न सक्ने सुविधा ओभर द टप (ओटीटी), चाहेको समयमा कार्यक्रम हेर्न सकिने सुविधा (भीओडी), स्ट्रिमिङ सेवा, मोबाइल एप, कम्प्युटरमा हेर्न मिल्ने एप्लिकेसन जस्ता सेवा उपलब्ध भएका छन्। प्रसारणको गुणस्तरमा व्यापक सुधार भई दृश्यहरू ४K र 8K मा उपलब्ध हुन थालेको छ। भर्चुअल उत्पादन र उन्नत ग्राफिक्सले टेलिभिजन कार्यक्रमको प्रस्तुति अझ प्रभावकारी बनाएको छ।

टेलिभिजनको भविष्य

टेलिभिजन उद्योग भविष्यमा रहँदैन, समाप्त हुन्छ भन्ने तर्क गर्ने गरेको सुनिन्छ। प्रविधिले टेलिभिजनको उत्पादन, वितरण र प्रसारण प्रविधिमा भिन्नता ल्याएको छ र त्यो ल्याइनै रहने छ। कोठाको कुनामा राखिने टेलिभिजन सेटको अवशेष रहला नरहला तर टेलिभिजन अर्थात् टाढाको दृश्य हेर्ने र जान्ने प्रक्रिया निरन्तर रहने छ र अझ परिष्कृत हुनेछ। टेलिभिजनको परम्परागत स्वरूप, प्रविधि, व्यावसायिक मोडेल, सामग्री उत्पादन र वितरण प्रणालीमा ठूलो परिवर्तन आउने छ र आइसकेको छ। परम्परागत टेलिभिजन प्रसारण क्रमशः डिजिटल, इन्टरनेटमा आधारित, अन्तरक्रियात्मक र व्यक्तिगत रुचिअनुसार सामग्री उपलब्ध गराउने सञ्चार प्रणालीमा रूपान्तरण भइरहेका छन्।

नेपालमा मात्र नभई विश्वभर परम्परागत टेलिभिजनहरू संकटमा छन्। प्रविधि रूपान्तरण गर्न नसक्ने र समयानुकूल चल्न नसक्ने टेलिभिजनहरू क्रमशः बन्द हुने वा संकटग्रस्त हुनेछन्। टेलिभिजनको सामग्री केबल, भू-सतह र भू-उपग्रहबाट मात्र नभई इन्टरनेट र स्ट्रिमिङ प्लाटफर्मबाट पनि वितरण हुन थालेको छ र यो प्रविधि अझ बढ्ने छ। यसबाट एकातिर टेलिभिजन प्रसारण कम खर्चिलो हुनेछ भने परम्परागत प्रसारणभन्दा इन्टरनेटबाट हुने प्रसारण विश्वव्यापी बनाउन सहज हुनेछ।

अबको टेलिभिजन उद्योगमा एआईको प्रयोग बढ्नेछ। समाचार लेखन, दृश्य सम्पादन, अनुवाद र प्रस्तुति समेत एआईले गर्नेछ। त्यति मात्र होइन दर्शकको रुचि, चाहनाको विश्लेषण गरी तदनुरूपका सामग्रीको सिफारिस एआईले गर्नेछ। मानिस ती सबै गतिविधिको परीक्षणकर्ता मात्र हुनेछन्। परम्परागत टेलिभिजन सेटमा देखिने टेलिभिजन अब विभिन्न प्लाटफर्म तथा यन्त्रमा उपलब्ध हुनेछ। एउटै कार्यक्रम टेलिभिजन, मोबाइल, वेबसाइट, युट्युब र सामाजिक सञ्जालमा एकैसाथ वा फरक फरक समय र स्वरूपमा उपलब्ध हुनेछ। अबको टेलिभिजन उद्योग अन्तरक्रियात्मक र प्रतिक्रियात्मक हुनेछ र दर्शकले आफूले चाहेको समयमा आफूलाई मनपर्ने कार्यक्रम हेर्न, तत्काल प्रतिक्रिया दिन र प्रश्न गर्न सक्नेछन्।

विगतमा टेलिभिजनमा विज्ञापन टेलिभिजनको लोकप्रियतामा आधारित थियो भने अबको विज्ञापन बजार लक्षित हुनेछ। विज्ञापन तथ्याङ्कमा आधारित हुनेछ। प्रायोजित सामग्रीको विस्तार हुनेछ। विज्ञापनको प्रभावकारिता दर्शकको व्यवहार र तथ्याङ्कका आधारमा मापन गरिनेछ। टेलिभिजनको प्रविधिमा व्यापक सुधार आउनेछ।

डिजिटल युगमा विश्वसनीय र मौलिक सामग्री प्राप्त गर्न कठिन हुने अवस्थामा टेलिभिजनले तथ्यमा आधारित समाचार, खोजमूलक सामग्री पस्कन सक्नु पर्नेछ। त्यसका लागि सार्वजनिक प्रसारण सेवाको सट्टा सार्वजनिक सञ्चारमाध्यमको विकास आवश्यक हुन्छ। यस्ता माध्यमले टेलिभिजन, रेडियो, वेबसाइट, मोबाइल एप र सामाजिक सञ्जाललाई एकीकृत गरेर नागरिकलाई सेवा दिन आवश्यक छ। सार्वजनिक हित, जनहितका साथै सबैमा पहुँच पुर्‍याउन इन्टरनेटको प्रयोगले सजिलै पहुँच पुग्नेछ।

नेपालमा टेलिभिजन उद्योग

नेपालको टेलिभिजन उद्योग यतिबेला गम्भीर संकटमा छ। परम्परागत टेलिभिजनहरू विज्ञापनको अभावमा संकटमा छन् भने इन्टरनेटमा आधारित टेलिभिजन सञ्चालनमा नीतिगत समस्या देखिएको छ। देशमा आवश्यकताभन्दा बढी टेलिभिजनहरू खुलेका छन्। बजारको अध्ययनबिना नै तीन करोड जनसंख्याका लागि २६० भन्दा बढी टेलिभिजनले अनुमति लिएका छन् भने करिब १५० भन्दा बढी टेलिभिजनहरू सञ्चालनमा छन्। देशको आर्थिक अवस्थामा उल्लेख्य सुधार हुन नसक्दा, नयाँ उद्योग नखुल्दा र भएका पनि बन्द हुने वा विदेशमा स्थानान्तरण हुने अवस्थामा विज्ञापन बजार बढ्न सकेको छैन।

आम सञ्चारमाध्यमबीच रहेको तीव्र प्रतिस्पर्धाका कारण कुनै एक टेलिभिजनमा विज्ञापन प्रसारण गर्दा अन्य टेलिभिजनबाट आउने दबाब तथा प्रभावका कारण विज्ञापनदाताहरू टेलिभिजनका साथै अन्य आमसञ्चारका माध्यममा विज्ञापन गर्न हिच्किचाएका छन्। विज्ञापनको अभावका कारण अधिकांश टेलिभिजनहरूले नयाँ खालका कार्यक्रम उत्पादन गर्न सकेका छैनन्। नयाँ अवधारणामा कार्यक्रम उत्पादन र प्रसारण गर्दा विज्ञापन प्राप्त हुने भए पनि लगानीको अभाव र बजारको अनिश्चितताका कारण कार्यक्रम उत्पादन हुन सकिरहेको छैन।

नेपालमा टेलिभिजनका लगानीकर्ताले एकपटक लगानी गर्ने, त्यसपछि निरन्तर आयको आशा राख्ने गरेको पाइन्छ। टेलिभिजन यस्तो उद्योग हो जहाँ निरन्तर लगानीबाट मात्र निरन्तर आय आर्जन हुन्छ। ठूलो लगानी हुने र जनरुचिका कार्यक्रम निर्माण नभए लगानी खेर जाने खतरा टेलिभिजनमा रहन्छ। जनरुचि र चाहना मात्र नभई विज्ञापनदाताको रुचि र चाहनालाई समेत विचार गरेर कार्यक्रम निर्माण गर्न सक्ने हो भने मात्र टेलिभिजन चलाउन सकिन्छ। साथै परम्परागत टेलिभिजनमा मात्र सीमित नभई आईपीटीभी, ओटीटी, भीओडी, स्ट्रिमिङ लगायतका काममा टेलिभिजनलाई परिवर्तन गर्न सक्ने हो भने नेपालको टेलिभिजन बजार अझै सम्भावनायुक्त हुन सक्छ।

विश्व टेलिभिजन दिवस, एउटा सञ्चार क्षेत्रको उत्सव त हुँदै हो, यो सूचना, अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको विविधता, लोकतन्त्र, शान्ति, विकास र सांस्कृतिक आदानप्रदानको महत्त्वपूर्ण साधन हो र त्यसलाई आत्मसात् गर्ने दिन हो। प्रविधिले सञ्चारको स्वरूप परिवर्तन गरे पनि विश्वसनीय सूचना, जनउत्तरदायी पत्रकारिता र सार्वजनिक हितका लागि टेलिभिजनको महत्त्व कायमै छ। त्यसैले टेलिभिजनलाई प्रविधिको विकाससँगै सार्वजनिक उत्तरदायित्व, स्वतन्त्रता र जनताको सेवामा केन्द्रित गराउनु आवश्यक छ।

भविष्यमा कुन टेलिभिजन च्यानलले धेरै दर्शक पाउने भन्नेमा टेलिभिजन उद्योगको प्रतिस्पर्धा सीमित रहने छैन। कुन संस्थाले गुणस्तरीय सामग्री उत्पादन गर्छ, दर्शकको विश्वास जित्छ, डिजिटल प्रविधि अपनाउँछ र दिगो आर्थिक मोडेल विकास गर्छ भन्ने कुराले यसको भविष्य निर्धारण गर्नेछ। टेलिभिजन पर्दामा देखिने टाढाका दृश्य मात्र होइन, यसले प्रदान गर्ने सूचना, मनोरञ्जन, शिक्षा र उत्प्रेरणाको महत्त्वलाई सम्झने दिन हो टेलिभिजन दिवस। सबैमा शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?