Comments Add Comment

भारदहका ६० वर्षे रामकिसुन यसरी मारिए

Saptari-Jhadap

एस. के. शान

२३ भदौ, सप्तरी । भारदह गाविसमा प्रहरीको गोली लागेर बुधबार पुनः एकजनाको ज्यान गयो । प्रहरीको गोली लागेर पोर्ताहा गाविस-१ निवासी रामकिसुन राउतको मृत्यु भएको हो ।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागी ६० बर्षीय राउतको मृत्यु भयो, उनी भारदहबासीका मिलनसार अभिभावक थिए ।

भारदहममै प्रहरीको गोली लागेर मृत्यु हुने रामकिसुन दोस्रा व्यक्ति हुन् । यसअघि भदौ १ गते प्रहरीले गोली चलाउँदा भारदह १ निवासी राजीव राउतको मृत्यु भएको थियो ।

प्रहरीले चलाएको रबरको गोली लागेर बुधबार अन्य दुई व्यक्ति पनि घाइते भएका छन् । पोर्ताहा ५ बस्ने विजय खिडहरी र पोर्ताहा ४ बस्ने अनिल ठाकुर रबरको गोली लागेर घाइते भएका छन् ।

कसरी मारिए रामकिसुन ?

प्रदर्शनकारी र प्रहरीबीच बुधबार झडप भइरहेको थियो । प्रदर्शनकारीले ढुंगा फ्याँकिरहेका थिए भने प्रहरीले अश्रु ग्यास र हवाई फायर गरिरहेका थिए । रामकिसुन त्यसअघि नै घरभन्दा करिब दुई सय मिटर पर रहेको शीतल किराना पसलमा केही सामान किन्न आएका रहेछन् ।

तर, झडप तिब्र भइसकेकाले किराना पसलका साहूले पसल खोलेनन् । रामकिसुन पसलबाहिर रहेको बेञ्चमा बसे । विस्तारै प्रदर्शनकारीले त्यहीँ पसलतिर गएर प्रहरीमार्थि ढुंगा बर्साउन थाले । प्रहरीले पनि उत्तैतिर अश्रु ग्यास र हवाई फायर गर्न थाल्यो । त्यत्तिकैमा प्रहरीले गोली चलाउन थाल्यो । सशस्त्र प्रहरीको समूहबाट गोली चलेको धेरैले थाहै पाएनन् ।

प्रदर्शनकारीहरु त ज्यान बचाएर भागे, तर बेञ्चमा बसिरहेका ६० बर्षीय राउतको छातीमा गोली लाग्यो । छातीमा लागेको गोली पिठ्यूँबाट बाहिर निस्केको एकमिनेटभित्रै उनको प्राण निस्कियो ।

को हुन् राउत ?

Ram-kisunबुधबार प्रहरीको गोली लागेर मृत्यु भएका राउत भारत सरकारको कोशी कोलोनी परियोजना अन्तर्गत विराटनगरस्थित सम्पर्क तथा भू-सर्जन कार्यालयमा चालकको रुपमा कार्यरत रही केही दिन अगाडि मात्रै अवकाश पाएका व्यक्ति हुन् ।

गाउँमा भद्र व्यक्तिका रुपमा परिचित राउतको कसैसँग कुनै किसिमको दुश्मनी थिएन । ‘गाउँमा कुनै किसिमको समस्या हुँदा के गर्ने भनेर उनैसमक्ष नै सरसल्लाहका लागि गाउँलेहरु आउथे । मृतकका भाइ सञ्चारकर्मी समेत रहेका धर्मपाल राउतले भने, “गाउँमा उनीसँग कसैको कुनै किसिमको बादविवाद हालसम्म भएको छैन ।’

‘स्थानीय व्यापारीमाझ उनी अत्यधीक लोकपि्रय थिए । ‘बेरोजगार व्यक्तिलाई थोरै सहयोग गरेर उनले व्यापार, व्यवसाय शुरु गराउँथे’ स्थानीय माँ कंकालनी बचत तथा ऋण सहकारी संस्थाका निर्देशक आकाश भण्डारीले भने, उनको गुणगान गाउँदा कुनै व्यापारी थाक्दैनथे ।

रामकिसुनको निधनपछि पोर्ताहा मात्र होइन, भारदह गाविसका बासिन्दाहरु समेत शोकमग्न भएका छन् ।

कसरी भयो झड्प ?

मंगलबार राति मधेसी मोर्चा सप्तरीका नेता/कार्यकर्ताहरु पूर्व -पश्चिम राजमार्गअन्तर्गत भारदहमा रुख ढालेर रातभर जाग्राम बसेका थिए । प्रहरीले सो राजमार्ग भएर चल्ने सवारीसाधन स्कटिङ्गलाई निरन्तरता दिएपछि मधेसी मोर्चाका जिल्ला तहका नेताहरुको अगुवाइमा रातभरि सडकमा रुख ढालेर उनीहरु जाग्राम बसेका थिए ।

Saptari-Tanab

लगभग पाँच हजारको संख्यामा रातभरि सडकमै रहेका आन्दोलनकारीले इलाका प्रहरी कार्यालय भारदहदेखि डेढ सय मिटर पश्चिममा रहेको कदमको ठूलो रुख र मुख्य चोकमा अशोकको ठूलो रुख काटेर सडक जाम गरेका थिए ।

बिहान सबै आन्दोलनकारी आ-आफ्ना घरतिर गए । आन्दोलनकारी घर गएपछि जिल्ला प्रहरी प्रमुख एसपी शिशिर कर्माचार्यको नेतृत्वमा गएको प्रहरी टोलीले प्रहरी कार्यालय अगाडिको रुख सडकबाट हटाए । तर, चोकको रुख हटाउने क्रममा प्रदर्शनकारीको तर्फबाट प्रहरीमाथि ढुंगा प्रहार सुरु भयो । ५/७ जना मिलेर ढुंगा हानेपछि प्रहरीले उनीहरुलाई लखेटेर भगाए ।

त्यसको १० मिनेट नबित्दै करिब ५० जनाको संख्यामा आएका प्रदर्शनकारीले सडकको अवरोध हटाइरहेका प्रहरीमाथि ढुंगा बर्साए । विस्तारै प्रदर्शनकारीको भिड बढ्दै गयो ।

Saptari-tanab

प्रदर्शनकारीले ढुंगाा हान्ने र प्रहरीले अश्रु ग्यास एवं हवाइ फायर प्रहार गर्ने क्रम केहीबेर जारी रह्यो । दुबै पक्षबीच लगभग एकघण्टा झडप भएपछि प्रहरीले आन्दोलनकारीलाई ताकेरै गोली चलायो । आन्दोलनकारीलाई त केही भएन तर, रामकिुसन राउत ठहरै भए ।

त्यसपछि झडपको स्थिति रहेको भन्दै स्थानीय प्रशासनले भारदहमा दिउँसो २ देखि बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

भक्तजनमाथि पनि कुटपिट

प्रदर्शनका क्रममा कंकालिनी मन्दिरमा पूजापाठ गर्न आएका व्यक्तिहरुलाई पनि प्रहरीले निर्घात कुटपिट गरेका छन् ।

भारतको बीरपुरबाट पूजा गर्न आएका ओमप्रकाश साह, सप्तरीको डिमनबाट आएका सन्तोष कुमार रामलाई प्रहरीले बन्दुकको कुन्दाले कुटपिट गर्दा उनीहरु गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।

गोलीकाण्डपछि झन् आक्रोशित

प्रहरीले चलाएको गोली लागेर भारदहमा थप एक व्यक्तिको ज्यान गएपछि जिल्लाका बासिन्दाहरु झन् आक्रोशित भएका छन् । गोली लागेको घटना प्रवाह भएको केहीबेरमै जिल्लाको भारदहसहित कञ्चनरुप नगरपालिका, हनुमाननगर, फर्सेठ, रुपनीका बासिन्दाहरुले बन्दलाई कडा पारेका छन् । सम्पूर्ण पसलहरु बन्द गराएर उनीहरुले ठाउँ-ठाउँमा सडक जाम गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले जिल्लाको कञ्चनरुप नगरपालिकाको कञ्चनपुरस्थित अस्थायी ट्राफिक प्रहरी कार्यलयमा आगजनी गरी नष्ट गरेका छन् ।

गोलीकाण्डपछि कञ्चनरुप नगरपालिकामै मधेशी मोर्चाद्वारा पाँच हजारभन्दा बढीको सहभागितामा लाठी जुलुस प्रदर्शन गरिएको छ । राज्यले दमनलाई निरन्तरता दिएका कारण जनता स्वयं जाग्न थालेको बताउँदै मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले भने, ‘अब आन्दोलन अझ सशक्त बन्दै जानेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment