Comments Add Comment

मधेसी मोर्चाका नेताहरु मधेसमै ‘गद्दार’ घोषित ?

समाचार टिप्पणी

२६ असोज, काठमाडौं । नयाँ संविधानलाई अस्वीकार गर्दै दुई महिनासम्म मधेस झरेर जनतालाई आन्दोलनमा उतारेका मधेसी मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र विजय गच्छदारलगायतलाई मधेसमा आफ्नै कार्यकर्ताले ‘गद्दार’ को संज्ञा दिन थालेका छन् ।
Madeshi-Morcha-Meeting
संसद भवनमा पसेर मधेसी मोर्चाका सांसदले संविधानलाई स्वीकार गरेपछि मधेसमा मोर्चाका नेताहरुविरुद्ध आक्रोश देखिएको हो ।

मोर्चाभित्र तिव्र अन्तरविरोध र फुट देखिएको छ भने मधेसको आन्दोलन अब मोर्चाको नियन्त्रणभन्दा बाहिर जाने संकेतहरु देखिएका छन् ।

संविधानसभामा भोट हालेकै दिन तमलोपाका संसदीय दलका उपनेता बृजेशकुमार गुप्ताले पार्टी अध्यक्ष महन्थ ठाकुरका हातमा राजीनामा थमाएका छन् । त्यस्तै अनिलकुमार झा नेतृत्वको सदभावनाकी सहअध्यक्ष सरिता गिरीले पनि पार्टीबाट राजीनामा दिइसकेकी छिन् ।

मोर्चाका नेताहरुले गद्दारी गरेको र मधेसी जनतालाई धोका दिएको भन्दै मधेसी मोर्चाभित्र भाँडभैलो मच्चिएको छ ।

संयुक्त मधेसी राष्ट्रिय आन्दालने समितिका सहसंयोजक गोपाल ठाकुरले अब मधेसी मोर्चाका नेताहरुलाई मधेस आन्दोलनमा सहभागी हुने नैतिक अधिकार समाप्त भएको बताएका छन् ।

मोर्चाका नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा ओली वा कोइराला जसलाई मतदान गरेको भए पनि संविधानलाई स्वीकार गरेको ठहरिने ठाकुरले बताएका छन् ।

सोमबार बोलाइएको मधेसी मोर्चाको बैठक राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले बहिस्कार गरेको छ । तर, स्वयं महतोकै पत्नी शैलुकुमारी महतोसमेत संसदको मतदानमा सहभागी भएकी र महतोको स्वीकृतिमै सदभावना पार्टीका नेताहरुले सुशील कोइरालालाई मतदान गरेको मोर्चाका नेता बताउँछन् ।

सोमबारको बैठक सदभावना पार्टीले बहिस्कार गरे पनि मंगलबार राजधानीमा फेरि मोर्चाको बैठक डाकिएको छ ।

गच्छदारको पार्टीमा पहिरो

उता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार संविधानमा सपथ खाँदै उपप्रधानमन्त्री बनेपछि उनको पार्टीमा पहिरो जान थालेको छ ।

Madeshi-Neta

सोमबारै बारा र पर्साका फोरम लोकतान्त्रिकका नेताहरुले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा पर्सा जिल्ला अध्यक्ष शशी कपूर मियाँ, बारा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, पूर्वराज्यमन्त्रीद्वय कलावती पासवान र दूर्गादेवी महतोसमेत छन् । त्यस्तै सामुहिक राजीनामा दिनेमा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य कृपासिन्धु चौधरी समेत छन् ।

गच्छदार सरकारमा गएपछि उनको मोर्चा औपचारिकरुपमा फुटेको छ । मोर्चाबाट शरदसिंह भण्डारी लगायत बाहिर निस्किएका छन् ।

गुप्ता के भन्छन् ?

मधेसी नेताहरुले संसदमा पुगेर मतदान गरेपछि तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले त्यसलाई गद्दारीको संज्ञा दिएका छन् ।

मधेसी मोर्चाका चारवटै दल र विजय गच्छदारले मधेस आन्दोलन, मधेसी जनता र मधेसका सहिदहरुलाई धोका दिएको गुप्ताको आरोप छ । संविधानलाई मानेर मधेसी मोर्चाका नेताहरु राज्यपक्षमा गएको गुप्ताको भनाइ छ ।

मधेसमा एउटा क्रन्तिकारी पार्टी भइदिएको भए गच्छदार, राजेन्द्र महतोहरुले यस्तो दुस्कार्य गर्न नसक्ने भन्दै गुप्ताले मधेस आन्दोलनका मुद्दा समाप्त नभएको बताएका छन् ।

मधेसमा गडबडी यथावत

केपी ओली प्रधानमन्त्री बनेकै दिन रौतहटको गौरमा ओली र विजय गच्छदारको पुत्ला जल्यो । पुत्ला जलाउने कार्यक्रममा रादभावना पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।

प्रधानमन्त्रीले सपथ ग्रहण गरेको दिनमा चाँहि जनकपुरको रामजानकी मन्दिरमा मधेस अधिकार संघर्ष समितिका कार्यकर्ताले केपी ओली, सुशील कोइराला र प्रचण्डका नाममा क्षमा पूजा गरे ।

Chema-Pooja

पशुपतिनाथ मन्दिरमा कलाकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा क्षमा पूजा गरेकै जवाफजस्तो देखिने गरी सुशील, केपी र प्रचण्डको अभिनयसहित मधेसी कार्यकर्ताले तीन नेताको क्षमा पूजा गरे ।

व्यवस्थापिका संसदमा मोर्चाका नेताहरु प्रवेश गरेर संविधानलाई स्वीकार गरे पनि मधेसको बन्द र हडताल पूर्ण रुपमा खुलेको छैन । मोर्चाका नेताहरुले आन्दोलन फिर्ता लिएको घोषणा पनि गरेका छैनन्, तर उनीहरुले आफ्नै कार्यकर्ता र जनताको समर्थन गुमाएका छन् ।

जनकपुरलगायत पूर्वी तराईको जनजीवन अहिले पनि सहज हुन सकिरहेको छैन । तर, मोर्चाका नेताप्रति आन्दालनेकारीको विश्वास गुमेका कारण अब आन्दोलन साम्य हुने अनुमान गरिएको छ ।

साथै दसैंजस्तो चाडबाड आउन लागेकाले बन्द हडताल क्रमशः खुल्ने संकेतहरु देखिएका छन् ।

कसले ‘फसायो’ महन्थ ठाकुर र राजेन्द्र महतोलाई ?

आखिर राज्यपक्षसँग कुनै सहमति नै नगरी मधेसी मोर्चाका नेताहरु किन व्यवस्थापिका संसदमा भाग लिए ? मधेस आन्दोलनकारीको भाषामा भन्दा आखिर कसले फसायो महन्थ ठाकुर, राजेन्द्र महतोजस्ता नेतालाई ?

सूत्रहरुका अनुसार मधेसी मोर्चाका नेताहरु संसदमा प्रवेश गर्नुका पछाडि तीनवटा कारण छन्, पहिलो कारण-मतदानमा सहभागी नहुँदा कारवाहीमा परिने र संसद सदस्यता एवं पदै गुम्ने डर । दोस्रो- सुशील कोइरालालाई जितिहाले मन्त्री खान पाइने लोभ । र, तेस्रो भारतीय गुप्तचरका पूर्वप्रमुख एबी माथुर र भारतीय राजदूतले दिएको निर्देशन ।madesh banda2

सूत्रहरुका अनुसार भारतीयहरुको उक्साहटमा लागेका मधेसी मोर्चाका नेताहरुलाई दूतावासले सुशील कोइरालाका पक्षमा मतदान गर्न रातारात निर्देशन दिएपछि उनीहरु आँखा चिम्लिएर व्यवस्थापिका संसदमा प्रवेश गरेका हुन् ।

सुशील कोइरालाले चुनाव जितेको भए मन्त्री बन्न पाइने आशमा मोर्चाका नेताहरुले कोइरालालाई मतदान गरेको मोर्चाभित्र चर्चा छ ।

अब के होला मधेसमा ?

मधेसी मोर्चाका नेताहरु बदनाम भएपछि अब मधेसमा के होला ? अब त्यहाँ भारतको पक्षधर मानिने मोर्चाका नेताहरु कमजोर हुने र पश्चिमी राष्ट्रको पक्षधर मानिने सिके राउत मार्का हाबी हुने संकेत देखिएको छ ।

भारतीयहरुकै सल्लाह र निर्देशनमा मोर्चाका नेताहरुले रातारात संविधानलाई स्वीकार गरेपछि अब मधेसमा भारतीय प्रभाव एकाएक कमजोर बन्न् पुगेको छ । भारततर्फ गएर, भारतीय नेताहरुको मेसमा खाना खाँदै मधेस आन्दोलनमा सहयोग लिने राजेन्द्र महतो लगायतका नेताहरुको ‘बिजनेस’ लाई अन्ततः भारतले नै बुमर्‍याङ बनाइदिएको छ ।

केपी ओली प्रधानमन्त्री हुनासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीसँग मिलेर अघि बढ्ने इच्छा देखाएका छन् । मोदीले ‘फेरि मधेश हैन, देश’ को नीति लिँदै नेपालका बारेमा ‘कोर्ष करेक्सन’ गर्न खोजेपछि मधेसी मोर्चाका नेताहरुले बल्ढ्याङ खाएका छन् ।

घटनाक्रमले देखाइसकेको छ कि अब भारतले महन्थ ठाकुर र राजेन्द्र महतोलाई भन्दा बढी केपी ओली र विजय गच्छदारहरुसँग सहकार्यको प्रयास अगाडि बढाउनेछ ।

तर, यसको प्रतिफलस्वरुप मधेसको आक्रोशित जनमतमा पश्चिमाहरुले चलखेल गर्ने र भारतले छाडिदिएको फिल्डमा विखण्डकारीहरु फस्टाउने खतरा पनि बढेको छ ।

विखण्डनको वकालत गर्दै अाएका डा. सिके राउतले राजेन्द्र महतो लगायतले देखाएको असन्तुष्टि र सरिता गिरी लगायतले दिएको राजीनामालार्इ फेरि मधेसका जनता झुक्याउने अर्को नाटकको संज्ञा दिएका छन् ।

मधेसका चर्चित भनिएका नेताहरु यसरी बदनाम हुनु भनेको अर्को शक्तिलाई मलजल पुर्‍याउनु हो ।

सिके राउतले फेसबुकमा पोस्ट गरेको कार्टुन
सिके राउतले फेसबुकमा पोस्ट गरेको कार्टुन

ओली सरकारले मधेसी जनताको हितमा काम गर्‍यो भने त्यहाँ एमाले हावी नहोला भन्न पनि सकिन्न । मधेसी मोर्चाका नेताहरु बदनाम भएपछि अब मधेसमा राजनीतिक जमिनमा एकप्रकारको ‘भ्याकुम’ देखिएको छ ।

मधेसी मोर्चाका नेताहरु मधेसका जनताप्रति डा. बाबुराम भट्टराईजति पनि इमान्दार नदेखिएको चर्चा सुरु भएको छ यतिबेला मधेसमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment