Comments Add Comment

थारुहरुले बनाए युवादस्ता, अमेरिकाबाट आएका महाविर बने संयोजक

Mahabir-Chaudhari

२० मंसिर, काठमाडौं । थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई निर्णायक बनाउन भन्दै थारु युवाहरुको स्वयमसेवक दस्ता गठन गरिएको छ । कांग्रेसको तरुण दल, एमालेको युवा संघ र एमाओवादीको वाईसीएल जस्तै थारुहरुले पनि ‘थारु युवा संवयसेवक’ गठन गरेका हुन् ।

दाङको पश्चिम चखौरामा तीन दिनसम्म चलेको थारु युवाहरुको भेलाले महाविर चौधरीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । पुस महिनाभित्र पथलैयामा भेला आयोजना गरी स्वयमसेवक दस्ताको नयाँ नेतृत्व चयन गरिने छ ।

तदर्थ समितिका संयोजक बनेका महाबीर चौधरी ‘थारु अराउण्ड द वर्ल्ड’ नामक संस्थाका अध्यक्ष हुन् । अमेरिकामा बस्दै आएका उनी थारु आन्दोलनलाई सघाउन भन्दै नेपाल आएका छन् ।

‘थारु अराउण्ड द वर्ल्ड’लाई विश्वभरका थारुहरुको छाता संस्थाको रुपमा चिनिन्छ । दाङमा आयोजित भेला पनि सोही संस्थाको ब्यानरमा गरिएको थियो ।

कार्यक्रममा एमाओवादीका सांसद सन्तकुमार थारु, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरी, थरुहट तराई पार्टी नेपालका गोपाल दहित, थरुहट नेतृ गंगा चौधरी, आदिवासी जनजाति महासंघका नेता पासाङ शेर्पालगायत सहभागी थिए । भेलामा थारु बहुल क्षेत्रका १ सय बढी युवाहरु सहभागी थिए ।

८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भेलाले ‘एक गाउँ, एक सय थारु युवा जाउँ’ नाराका साथ जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

भेलामा सहभागी फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरीले आन्दोलनमा युवाहरुको भूमिका निर्णायक हुने भएकाले संगठित गरिएको बताए । यहि महिनाभित्र सबै जिल्लामा थारु स्वयमसेवक दस्ता गठन गर्ने र पुस महिनाभित्र पथलैयामा युवा भेला गरी नेतृत्व टुंगो लगाउने उनले बताए ।

पहिचान विरोधीलाई कारवाही

‘थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउँछौं । त्यसको नेतृत्व युवाहरुले गर्नेछन्,’ चौधरीले भने, ‘युवाहरुलाई गाउँ-गाउँमा हुने विकास निर्माणको काममा पनि परिचालन गरिनेछ ।’

आन्दोलनको क्रममा भइरहेको कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने तथा थरुहट प्रदेश र पहिचान विरोधीहरुलाई गाउँमा बहिस्कारको थालनी पनि गरिसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment