Comments Add Comment

भानुभक्तले अंग्रेजी रामायण हेर्न दुई सय वर्ष कुर्नुपर्‍योः इन्दबहादुर राई

दार्जीलिङमा 'द रामायण अफ भानुभक्त' विमोचित

१३ असार, दार्जीलिङ । भानुभक्त आचार्यकृत रामायण अंग्रेजी भाषामा प्रकाशित भएको छ । २०१ औं भानुजयन्ती आउनै लागेका बेला दार्जिलिङका भाषाशास्त्री डा. गोकुल सिन्हाले १० वर्ष लगाएर रामायणको अंग्रेजी अनुवाद गरेका हुन् ।

Ramayanडा. सिन्हाले अनुवाद गरेको पुस्तक ‘द रामायण अफ भानुभक्त’ को विमोचन दार्जीलिङस्थित साहित्यकार इन्द्रबहादुर राईको घरबाट गरिएको छ ।

पुस्तकको विमोचन गर्दै साहित्यकार राईले रामायणको अंग्रेजी संस्करण आउनु ठूलो उपलब्धि भएको बताए । उनले भने-‘भानुभक्तले अंग्रेजी रामायण हेर्न दुई सय वर्ष कुर्नुपर्‍यो ।’

विमोचन कार्यक्रममा बोल्दै अनुवादक डा. सिन्हाले विभिन्न भाषामा अनुवाद गरिएको पाइए पनि रामायण हालसम्म अंग्रेजी नभएकाले अनुवाद गरिएको बताए ।

अनुवादक डा. सिन्हा दार्जिलिङको सरकारी महाविद्यालयका पूर्वप्राध्यापक हुन् । हालसम्म उनले गीता, कुरान र बाइबल लगायतका धार्मिक ग्रन्थहरु नेपालीमा अनुवाद गरेका छन् ।

साथै सिन्हाले देवकोटाका अंग्रेजी कविताहरु नेपालीमा अनुवाद गर्नुका साथै ‘महाकवि देवकोटा दोर्जेलिङ्गै’मा पुस्तक समेत रचना गरेका छन् ।

सिन्हाले अंग्रेजी भाषामा ‘रोल अफ द गोर्खाज इन मेकिङ मोर्डन इण्डिया’ नामक पुस्तकका साथै अंग्रेजी शब्दकोषसमेत लेखेका छन् ।

डा. सिन्हाले उत्तरबंगाल विश्वविद्यालयबाट रामकथामा विद्यावारिधि गरेका छन् ।

स्रोतः हिमालय दर्पण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment