Comments Add Comment

वर्षा शुरु भयो, कसरी जोगिने पहिरोबाट ?

१७ असार, काठमाडौं । लगातार वर्षा हुन थालेपछि एक बर्ष अघि भूकम्पले हल्लाएको जमिनमा पहिरो बग्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन-चार दिन पानी पर्नसक्ने जनाएको छ ।

Taplejung-pahiro1यो प्राकृतिक विपत्तीलाई हामी रोक्न त सक्दैनौं तर, सचेत भइयो भने क्षति न्यूनिकरण भने गर्न सक्छौं ।

नेपालको हिमाली क्षेत्रको भौगर्भिक स्थितिको अध्ययन गरिरहेको इसिमोडका भूगर्भविद सम्ज्वाल बज्राचार्य भन्छन्, ‘यस वर्ष वर्षायाममा बढी पहिरोको खतरा छ । नागरिक आफै सचेत भएमा दुर्घटना न्यूनीकरण हुन्छ ।

वर्षायाममा कस्ता उपाय अपनाउने त ? आउनुस् तपाईंलाई हामी हेर्दा सामान्य तर बढी महत्वपूर्ण जानकारी दिँदैछौं ।

चिरा परेको जमिनमा भल काट्ने

भूकम्पले धेरै जमिन चिरा पारेको छ । यस्तो चिरा परेको ठाउँबाट पानी भित्र छिर्दा ठूला पहिरो जाने खतरा बढी हुन्छ । चिरा परेको ठाउँ देखेमा वरिपरि भल काटेर पानी तर्काउन सके पहिरोको जोखिम कम हुन्छ । माथिबाट सिधै परेको पानी बाहेक चिरा परेको ठाउँबाट पानी पस्न दिनुहुँदैन । यदि माटैमाटो छ वा माटो र गिर्खा ढुंगा मिसिएको बनोट छ भने पहिरो जाने खतरा एकदम उच्च हुन्छ । बस्तीको वरिपरि भल काट्ने विधि एकदम वैज्ञानिक मानिन्छ ।

बज्राचार्य भन्छन्, चिरिएका सबै ठाउँ उत्तिकै जोखिममा हुँदैनन् । कतिपय ठाउँहरु चिरिएको देखिए पनि भित्रसम्म पानी छिर्दैन । कतिपय भाग चिरिएको नदेखिने तर पानी छिरिरहेको हुन्छ । त्यसैले भल काटेर पानीलाई एकीकृत गरेर निकास दिनुपर्छ ।

तीनवटा खतरा

बस्तीभन्दा माथिबाट पहिरो आउने, बस्ती भएकै भूभाग पहिरो बनेर बग्ने र बस्तीभन्दा तलबाट नदी वा खोलाले जमिन कटान गर्दा भासिएर जमिन खस्ने खतरा बढी हुन्छ ।

त्यसकारण बस्ती आफैंमात्र सुरक्षित भएर मात्र हुँदैन, बस्तीभन्दा तल र माथिको अवस्थालाई पनि ध्यान दिनुपर्छ । यदि बस्तीमाथिको पाखा चिरा परेको छ, पानी छिरिरहेको छ भने पहिरोको जोखिम उच्च हुन्छ । यस्तै बस्ती धेरै भिरालो छ र पानी जथाभावी बग्न दिइएको छ भने पनि जोखिम बढ्छ । त्यसैले पानीलाई एकीकृत गरेर सुरक्षित ठाउँबाट कटाएमा धेरै जोखिम कम हुन्छ ।

यस्तो अवस्थामा बस्ती नै छोड्ने

जमिन धेरै भिरालो छ, माटो धेरै गलिसकेको छ र बग्ने सम्भावना बढी छ भने त्यस्तो ठाउँमा भल काटेरमात्र सुरक्षित हुन सकिँदैन । त्यसैले कम्तिमा वर्षायामसम्मका लागि भएपनि ठाउँ नै छोड्नुपर्छ ।

भूगर्भविद बज्राचार्य भन्छन्, आर्थिक गतिविधि हुने कारण उच्च जोखिमयुक्त ठाउँहरुबाट मान्छेहरु हट्न चाहिरहेका छैनन् । सिन्धुपाल्चोकको जुरेमा यस्तै भएको हो ।

यस्तै सन् १९९० आसपासमा कोलम्बियामा ज्वालामुखीले ठूलो बस्ती छोप्यो । त्यहाँ कफीको एकदम राम्रो उत्पादन हुने कारण नागरिकहरुले ज्वालामुखी विस्फोट हुन्छ भन्ने सूचना दिँदादिँदै पनि बस्ती छोड्न मानेनन् । तर एक दिन राति ज्वालामुखी बिस्फोट भयो र बस्ती पुर्‍यो । त्यसैकारण अहिले बस्नै नहुने, उच्च जोखिम भएका जमिनमा बस्नु हुँदैन ।

यस्तो जमिन उच्च जोखिम

ब्रर्जाचार्यका अनुसार ३० देखि ५० डिग्रीको कोणमा भिरालो जमिनमा सबभन्दा बढी पहिरो जान्छ ।

बस्तीको तल्लो भाग भिरालो छ, माथिल्लो भाग पनि भिरालो छ तर बस्ती भएको भाग सानो टार छ भने त्यस्तो ठाउँ पनि जोखिमपूर्ण हुन्छ ।

तर ५० डिग्री भन्दा पनि भिरालो जमिन बलियोसँग अडिएको हुन्छ । त्यहाँ पहिरोको सम्भावना एकदमै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment