Comments Add Comment

बहसः माओवादी अब महाअभियोगबाट ‘ब्याक’ हुन सक्छ ?

नेता भन्छन्- खिलराज र लोकमान बाध्यताका उपज

maoist-hq-meeting

५ कात्तिक, काठमाडौं । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डकै भनाइअनुसार अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग दर्ता भएको सुनेपछि उनलाई रातभर निद्रा लागेन ।

पार्टी संसदीय दलमा बताएअनुसार उनले बुधबार राति प्रधानमन्त्री पदबाट राजीनामा दिनेसम्म सोचेका थिए । यो बैठकअघि माओवादीले हेडक्वार्टर बैठक पनि राखेको थियो ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डमा लोकमानविद्ध उभिन अझै धर्मराइरहेका छन् । उनी प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय कुरिरहेका छन्

तर, आफ्ना ८२ मध्ये ४० जना सांसदले हस्ताक्षर गरेको महाअभियोग प्रस्तावको स्वामित्व माओवादीले अहिलेसम्म लिएको छैन । साथै हस्ताक्षर संकलन गर्ने उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।

महाअभियोग दर्तापछिको ३६ घण्टामा देखिएको माओवादीको यो मनोदशा हेर्दा धेरैले कतै माओवादी लोकमानलाई महाअभियोग लगाउने निर्णयबाट पछि त हट्दैन ? यसबारे आशंका गर्न थालेका छन् ।

प्रस्ताव दर्ता गर्दा प्रचण्डलाई जानकारी थिएन

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरुलाई बताएअनुसार बुधबार अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोग दर्ता भएको झण्डै तीन घन्टापछि मात्र उनले थाहा पाएका थिए ।

[sam_list]  महाअभियोग दर्ता भएपछि सभामुख ओनसरी घर्तीले कार्की निलम्बनमा परेको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा पठाएकी थिइन् । प्रधानमन्त्री कार्यालयमा पत्र पुग्दा राति पौने १० बजेको थियो । संसद सचिवालय स्रोतका अनुसार मध्यरातमा पुगेको लोकमान निलम्बनमा परेको पत्र बुझ्ने मान्छे समेत भेट्टाउन हम्मेहम्मे परेको थियो ।

हस्ताक्षर संकलनको अगुवाइ गरेका माओवादीका एक नेताका अनुसार लोकमानलाई हटाउनुपर्छ भनेर प्रचण्डसँग छलफल भएको थियो । संसदमा बोल्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए भने बोलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

स्रोतले भन्यो, लोकमानलाई हटाउनुपर्छ भन्ने कुरा भएको थियो । तर, प्रस्ताव दर्ता गरेको बेला भनिएको थिएन ।’

यसले माओवादीमा विवाद ल्याएको छ । प्रचण्ड स्वयंमले आफ्ना विश्वास पत्र समेतको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता भएको थाहा नपाएपछि प्रचण्डले आफ्नो साथीहरुले फसाए भन्दै राजीनामा दिनेसम्मको सोच बनाएको संसदीय दलको बैठकमा बताएका छन् ।

र, प्रस्तावमा हस्ताक्षर नगर्ने प्रचण्ड निकटवर्ती प्रभावशाली नेताहरु नै अहिले पनि खुश देखिएका छैनन् । पार्टी नेताहरु र प्रधानमन्त्रीलाई समेत जानकारी नदिई एमालेको योजनामा प्रस्ताव दर्ता भएको भन्दै उनीहरुले प्रचण्डले महाअभियोगको पक्षमा उभिन दिएका छैनन् ।

‘लोकमान त बाध्यताको उजप पो रहेछन्’

स्रोतहरुका अनुसार लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नुअघि एमाले र माओवादीका केही नेताहरुबीच विभिन्न चरणमा छलफल भएको थियो । तर, सबै निकै गोप्य राखियो ।

पार्टीमा छलफल भयो कि भएन प्राविधिक विषय हो । जे भएको छ, ठीक भएको छ । यसको पक्षमा माहौल बनाउनुपर्छ

लोकमानले लडाकू शिविरमा भएको भनिएको भ्रष्टाचारलाई देखाएर लगातार धम्क्याएका थिए । माओवादी नेताहरुलाई सुरुमा त लोकमान भारतका मान्छे भन्ने लागेको थियो । पछिल्लो एक पटकले उनीहरुको यो भ्रम हट्यो र छापामार शैलीमा अट्याक गरे ।

माओवादी एक नेताले भने, प्रचण्ड भारतीय राष्ट्रपतिको राजकीय सम्मानमा बसेका बेला पत्र काट्ने निर्णय गर्ने भारतीय मान्छे हुन सक्दैन । राजनीतिलाई ट्राकमा ल्याउन खिलराज रेग्मीलाई स्वीकार गर्दा उनीसहितका केही बाध्यताको उजपका रुपमा आएका हरेछन् ।’

जब माओवादी नेताहरु लोकमान दिल्ली होइनन् भन्ने निष्कर्षमा पुगे, उनीविरुद्ध महाअभियोग दर्ता गर्ने योजनाले गति लियो । जसले बुधबार साँझ मूर्त रुप लिएको स्रोतको दाबी छ ।

नेताहरुका अनुसार लोकमानविरुद्ध एमालेसँग मिलेर महाअभियोग दर्ता गर्ने अभियानमा माओवादीमा रहेका पूर्व लडाकू कमाण्डर नेताहरुको निणर्ायक भूमिका छ । शर्मा मात्र फ्रन्टमा आएका हुन् ।

के अब माओवादी पछि हट्छ ?

यसका बाबजुत प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डमा लोकमानविद्ध उभिन अझै धर्मराइरहेका छन् ।

उनी प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णय कुरिरहेका छन् । र, कांग्रेसको निर्णयका आधारमा पार्टीले निर्णय गर्ने प्रचण्ड निकतवर्तीहरु बताउँछन् ।

यसले कतै प्रचण्ड र देउवा एकअर्कालाई देखाएर महाअभियोगको विपक्षमा उभिने त होइन भन्ने आशंका जन्माएको छ । तर, लोकमानलाई महाअभियोग लगाउने पक्षमा रहेका एक माओवादी नेता दाबीका साथ भन्छन्, अब पछि हट्न सकिँदैन ।

फायर खोलेपछि पछि हट्दा पिठ्यूँमा गोली लाग्न सक्छ । अर्थात अब फेरि लोकमानको पक्षमा उभिनु भनेको माओवादीलाई सर्वनाशको बाटोबाट कसैले रोक्न नसक्ने उनको विश्लेषण छ ।

उनी भन्छन्, टंगालको आतंक कति भइसकेको थियो । प्रधानमन्त्रीलाई कसैले नटेर्ने, सचिव, कर्मचारी ठोकेदार सबै लोकमान भनेपछि थुर्रर हुन्थे । सोझाहरु उनको कारबाहीमा परे, भ्रष्टहरु सेटिङ मिलाएर हिँडिरहेका छन् । त्यसैले पार्टीमा छलफल भयो कि भएन प्राविधिक विषय हो । जे भएको छ, ठीक भएको छ । यसको पक्षमा माहौल बनाउनुपर्छ ।’

यी पनि पढ्नुस्

प्रधानमन्त्री प्रचण्डको गुनासोः खुकुरीको धारमा हिड्नु परेको छ

गृहमन्त्री विमलेन्द्र भन्छन्- लोकमान प्रकरण सरकार ढाल्ने एमालेको खेल हो

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

लोकमानलाई महाअभियोग लगाउने उर्जामन्त्री भन्छन्ः कारवाही स्वीकार्य छ

‘एमालेले अहंकार देखाएकै हो, तर कांग्रेस लोकमानको रक्षाकवच बन्न सक्दैन’

लोकमानलाई राजीनामा दिन योगेश भट्टराईको सुझाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment