Comments Add Comment

राधाकृष्ण मैनालीलाई कारवाही गर्नेबारे एमाले पोलिटब्युरोमा छलफल

माधवले कुरा उठाएपछि ओलीले भने-मैनालीले द्वेष र कुण्ठा पोखे

४ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वविरुद्ध नियोजित रुपमा विषाक्त प्रचार गरेको भन्दै केन्द्रीय सदस्य राधाकृष्ण मैनालीमाथि कारवाही गर्ने भएको छ । बुधबारबाट शुरु भएको पोलिटब्यूरो बैठकको प्रारम्भमै मैनालीमाथि कारवाहीको प्रशंग उठेको हो ।

मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ भन्ने आत्मकथामा व्यक्त गरेका दाबी र आरोपलाई एमालेले खारेज गर्दै उनीमाथि कारवाही गर्ने भएको हो ।

बुधबार शुरु भएको एमाले पोलिटब्यूरो बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति र तीन दलका शीर्ष नेताबीच भएको वार्ताका बारेमा जानकारी गराएलगत्तै बरिष्ठ नेता माधव नेपालले मैनालीको विषय प्रवेश गराएका थिए ।

नेता नेपालले पार्टीको केन्द्रीय समितिमा रहेका मैनालीले सिंगो पार्टीको बदनाम गर्ने ढंगले हुँदै नभएका कुरा ल्याएर अध्यक्ष ओली र आफूसहित अन्य नेतृत्वमाथि हिलो छ्यापेको बताए । नेपालले मैनालीका आरोपको पार्टीले आधिकारिक रुपमै खण्डन गर्दै उनीमाथि कारवाही गर्नुपर्ने प्रस्ताव राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

बुधबारको बैठकमा उपाध्यक्ष बामदेव गौतमले विधिसम्मत ढंगले यो विषयलाई टुंग्याउन सुझाव दिएपछि यसबारे अध्यक्ष ओलीले बोलेका थिए ।

बैठकमा मैनालीका किताब र अन्तरवार्ताहरुको प्रसंग उप्काउँदै अध्यक्ष ओलीले विषाक्त कुराहरु बाहिर ल्याइएको टिप्पणी गरे । उनले मैनालीमा द्धेष र कुण्ठा विगतदेखि नै रहेको भन्दै अहिले पनि तिनै कुण्ठा र द्वेष पुस्तक तथा अन्तरर्वार्तामा व्यक्त भएको बताए ।

ओलीले बैठकमा भने- ‘उनका अन्तर्वार्ता र पुस्तकका अंशहरु मैले पनि पढेँ, हाम्रा बारेमा जे कुरा भनेका छन्, अधिकांश झूठा छन् । माधव नेपालले च्यासल बैठकमा भारतीय सेना र हतियार ल्याउनुपर्छ भनेको कुरा सरासर गलत हो । खासमा उनीभित्र लामो समयदेखि द्वेष र कुण्ठा थियो, त्यही प्रकट भएको छ ।’

मैनालीले आफूमाथि पुस्तौनी धनका कुरा उठाउने गरेको आरोप लगाएको भन्दै ओलीले त्यसको पनि खण्डन गरे । केपी ओलीले भने- ‘मैनालीहरु हुनेखाने सम्पन्न परिवारकै थिए । म कमजोर परिवारकै हुँ । उनीहरुका चार हल गोरु थिए होलान्, हाम्रोमा २ हल थिए । उनीहरुका मोही थिए, हाम्रा थिएनन् । कुरा यत्ति नै हो ।

मैनालीका बारेमा पोलिटब्यूरो बैठकमै गम्भीर रुपमा कुरा उठेपछि पार्टीले उनका आरोपलाई खारेज गरेर सार्वजनिक रुपमा खण्डन गर्ने निर्णय भएको पोलिटव्यूरो सदस्य अरुण नेपालले बताए । उनले भने- ‘नियोजित रुपमा पार्टीका नेताहरु विरुद्ध विषाक्त ढंगले द्वेष पोख्ने काम भएको छ, उहाँका सबै आरोपलाई खारेज गर्ने निर्णय भयो ।’

स्रोतका अनुसार सार्वजनिक रुपमा मैनालीका आरोपको खण्डन गर्ने र विधानअनुसार उनीमाथि कारवाही अघि बढाउने सहमति एमाले नेतृत्वमा भएको छ । उनीमाथि अनुशासन आयोगले स्पष्टीकरण लिने र त्यसपछि अन्य कारवाही अघि बढ्नेछ ।

नेकपा एमालेका संस्थापक नेता मैनाली ०५९ सालमा पार्टी छाडेर तत्कालीन राजाको शाही कदमको समर्थनमा गएका थिए । उनी ०६१ मा ज्ञानेन्द्र शाहको सरकारमा मन्त्री भएका थिए । गणतन्त्र स्थापनापछि माओवादी प्रवेश गरेका मैनाली करीव एक वर्ष अघिमात्र एमालेमा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment