Comments Add Comment

प्रियाका श्रीमानले फेसबुकमा किन लेखे ज्यान मार्ने कुरा ?

विप्लवको वयानः प्रियाले विश्वासघात गरिन्

७ फागुन, काठमाडौं । आफ्नी छोरीलाई ज्वाइाले हत्या गरेकोे दाबी गर्दै प्रिया देउजाका पिता प्रद्युम्न देउजाले सातदोबाटो प्रहरीमा बिहीबार किटानी जाहेरी दिएका छन् । प्रहरी भने यसबारे पोष्टमार्टम रिपोर्ट नआउञ्जेल कुनै कदम चाल्ने मुडमा छैन ।

गत सोमबार इमाडोलस्थित आफ्नै निवासको बेडरुमभित्र झुण्डिएको अवस्थामा २२ वर्षीया प्रियाको शव भेटिएको थियो । ज्वाइँ विप्लव सुवेदीले आफ्नी छोरीलाई मारेर झुण्ड्याएको आरोप माइती पक्षको छ भने घरपट्टीकाले यसलाई आत्महत्या बताउँदै आएका छन् । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । जसले गर्दा यो घटनामा यसै भएको भन्न सकिने अवस्था छैन ।

झ्यालको ग्रीलमा झुण्डिएकी प्रियाको खुट्टा भुईंमा लत्रिरहेको देखिने तस्वीर यसअघि सार्वजनिक भएको थियो ।

किटानी जाहेरीमा विप्लवमा ससुरा प्रद्युम्नले प्रियाको मृत्यू हुनुभन्दा दुई दिनअगाडि विप्लवले लेखेको एउटा फेसबुक स्टाटसको स्कृन सटलाई प्रमाणका रुपमा प्रहरीसमक्ष प्रस्तुत गरेका छन् ।

के छ फेसबुक स्टाटसमा ?

गत शनिबार राति पौने ९ बजे विप्लवले फेसबुकमा आफ्नो प्रोफाइल पिक्चर अपडेट गर्दै एउटा स्टाटस लेखेका थिए । त्यसमा उनले लेखेका छन्, ‘म मौन रहनुको अर्थ यो होइन कि म केही पनि गर्न सक्दिनँ । म एउटा ‘मास्टर मर्डर प्लान’ पनि बनाइरहेको हुन सक्छु ।’

प्रियाको मृत्यू भएलगत्तै उनले सो स्ट्याटस फेसबुकबाट हटाए । अहिले उनले आफ्नो फेसबुक नै डिएक्टिभेट गरेका छन् ।

त्यस्तो स्टाटस लेख्नुको आशय के थियो ? हामीले विप्लवलाई सोध्यौं । उनले जवाफ दिए, ‘मैले अरु कसैलाई नै ईंगित गरेर मेटाफोरिक रुपमा त्यो स्टाटस लेखेको थिएा । त्यसको आशय केही गरेर देखाउँछु भन्ने थियो । तर, अहिले गलत अर्थ लाग्न गयो । म एउटा लेखक पनि हुा । कहिलेकाहीँ भावनामा बग्न खोज्दा यस्तो हुँदो रहेछ ।’

‘हत्या गर्ने नियत नै थियो भने के फेसबुकमा लेखेर बस्थेँ होला ?’ विप्लवले तार्किक प्रश्न गरे । उक्त स्टाटस लेख्ने बेलामा प्रियासँग आफ्नो विवाद सुरु नै नभएको पनि विप्लवको भनाइ छ ।

विप्लवको भनाइअनुसार पहिले काम गरेको अफिसमा उनको सामान्य लफडा परेको थियो । त्यहाँ काम गर्ने केही व्यक्तिहरुलाई लक्षित गरेर आफूले स्ट्याटस लेखेको तर यसको आशय हत्या गर्नु नभएको उनी बताउँछन् ।

उक्त फेसबुक स्ट्याटसको आधिकारिकता बारे प्रहरीले अनुसन्धान गर्ने महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी रामेश्वर यादवले बताए । तर, यही स्टाटसकै आधारमा प्रहरीले विप्लवलाई पक्राउ गर्नुपर्ने माइती पक्षको मागबारे यादवले जवाफ दिए- ‘अरुले पनि उनका नाममा एकाउन्ट खोलेर त्यस्तो लेखेको हुन सक्छ,जबसम्म त्यसको आधिकारिकता पुष्टि हुँदैन, तबसम्म यसलाई प्रमाण मान्न सकिँदैन । विप्लवले हामीसँग यो स्टाटस आफूले लेखेको हो भनेर स्वीकारेका छैनन् ।’

पोष्टमार्टमले देखायो आत्महत्या !

मृतकको पोष्टपार्टम रिपोर्ट आउन बाँकी छ, तर टिचिङ हस्पिटलका डाक्टरहरुले यो घटना हत्या जस्तो नदेखिएको मौखिक रुपमा बताएका छन् । लिखित पोष्टमार्टम रिपोर्ट आइतबार आउने भनिएको छ ।

घटनापछि प्रियाको घरमा पुगेका डीएसपी यादवले आफूलाई पनि यो आत्महत्या जस्तो लागेको, तर आत्महत्याको कारकतत्व विप्लव हुन सक्ने बताए । पोष्टमार्टम रिपोर्टपछि मात्र यकिन भन्न सकिने उनको भनाइ छ ।

प्रियाका बुवा प्रद्युम्न भने विप्लवका मान्छेहरुले आफ्नो पहुँच प्रयोग गरेर पोष्टमार्टम रिपोर्टसमेत प्रभावित पार्न सक्ने आशंका व्यक्त गर्छन् । उनले घटनामा प्रहरीको व्यवहार पनि आफूहरुप्रति पूर्वाग्रही रहेको जिकिर गरे ।

‘सप्रमाण किटानी जाहेरी दिँदा पनि पक्राउ गरिएको छैन, घटनाको अनुसन्धानमा पनि प्रहरी सन्तुलित देखिएन,’ देउजाले भने ।
डीएसपी यादव भने प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान गरिरहेको बताउँछन् । उनले भने, ‘हामीले उहाँहरुलाई केही दिन धैर्य गर्न भनिरहेका छौं । तर, उहाँहरु धैर्य गर्न सकिरहनुभएको छैन ।’

पोष्टमार्टम रिपोर्टमा हत्या देखिएको खण्डमा विप्लव कसै गरे पनि उम्किन नसक्ने यादवको भनाइ छ ।

विप्लवको बयानः प्रियाले विश्वासघात गरिन्

घटनाको चार दिनपछि अनलाइनखबरको सम्पर्कमा आएका विप्लवले अनलाइनखबरसँग आफ्नी पत्नीको कलेज पढ्ने साथीसँग अफेयर रहेको र उनले आफूलाई धोका दिएको वयान दिए । उनको भनाइको सार यस्तो छः

– काठमाडौं विश्वविद्यालयमा ए लेभल पढ्दा हाम्रो प्रेम सुरु भएको थियो । म पासआउट हुने बेलामा उनी त्यहाँ भर्ना हुन आएकी थिइन् । तीन वर्ष प्रेम सम्वन्धमा बाँधिएपछि हाम्रो बिहे भयो ।

– बिहेमा उनको परिवारको कति खर्च भयो, मलाई थाहा भएन । तर बिहेपछि मैले उनीहरुबाट एक पैसा लिएको छैन । मलाई अष्ट्रेलिया पठाउन पैसा दिएको कुरा झूटो हो ।

– बिहेपछि हाम्रो सम्वन्ध अत्यन्त सुमधुर रह्यो । उनलाई मैले आफ्नो मुटुमा राखेको थिएँ । कहिल्यै एक शब्द गाली गरेको छैन । उनी पनि मलाई उत्तिकै माया गर्थिन् । मेरी आमाले उनलाई छोरीजस्तै गर्नुहुन्थ्यो । मेरी बहिनीसँग उनको उत्तिकै मिलजुल थियो । पि्रयाले परिवारका सबैलाई आदर गर्थिन् ।

– प्रियाको सबै शीलस्वभाव राम्रो थियो । अलि बढी खर्चालु थिइन् । म हरेक दिन कलेज जाँदा उनलाई एक हजार रुपैयाँ दिन्थेँ । मैले उनीप्रति कहिल्यै पनि शंकाको दृष्टिले हेरेको थिइनँ ।

– अघिल्लो शनिबार राति मैले इन्स्टाग्राममा एकजना केटा साथीसँग पि्रयाको फोटो देखेँ । त्यो फोटो मलाई त्यति सहज लागेन । त्यसपछि मैले उनको मोबाइल लिएर भाइबरमा आएका म्यासेजहरु हेर्न थालेँ । त्यतिबेला रातको ११ बजेको थियो । त्यो केटा उसको स्कुलदेखिको साथी रहेछ जस्तो लाग्यो । उ र पि्रयाबीच धेरै अन्तरंग कुराकानी हुने गरेको देखेँ । एक घण्टा लगाएर ती म्यासेजहरु हेरेँ र मैले आफ्नो मोबाइलमा सेन्ड गरेँ । तर, मर्नुअघि उनले ती सबै म्यासेजहरु डिलिट गर्न भ्याइछन् । उनको मोबाइलबाट डिलिट गर्दा मेरोबाट पनि उड्दो रहेछ । ती म्यासेजहरु भाइबरबाट फिर्ता मगाउन प्रहरीको सहयोग लिने सोचिरहेको छु ।

– आफूले मुटुमा सजाएर राखेकी श्रीमतीले विश्वासघात गरेको देख्दा म आहत भएँ । तर, मैले उनलाई गाली गरिनँ । बरु सम्झाएर त्यो केटासँगको सम्वन्धको विषयमा सोधेँ । सुरुमा उनले अस्वीकार गरे पनि पछि आफूहरुले एक अर्कालाई माया गर्ने गरेको स्वीकारिन् ।

– प्रियाको स्वीकारोक्तिपछि मैले रातको १२ बजे उनका बुवालाई फोन गरेँ । उहाँ पोखरामा हुनुहुँदोरहेछ । मैले पि्रयाको बाहिर अफेयर रहेको कुरा आफूले थाहा पाएको बताएर तुरुन्तै छलफलका लागि आउन उहाँलाई आग्रह गरेँ । मैले कुरा गरेको केहीबेरमा उहाँले प्रियालाई फोन गर्नुभयो । प्रियाले ह्यान्ड्स फ्रीमा राखेर कुरा गरिन् । बुबाले उनलाई फोनमा बेस्सरी झपार्नुभयो । ‘ज्वाइँले भनेको कुरा साँचो रहेछ भने तँ मेरो लागि मरिस’ भनेर फोन राख्नुभयो ।

– भोलिपल्ट प्रियाले बाबुलाई फोन गरेर घरमा बोलाइन् । सासू र ससुरा दुवैजना राति ९ बजेतिर हाम्रो घरमा आउनुभयो । म, मेरी आमा, पि्रया र उहाँहरु दुईजना बसेर कुरा गर्‍यौं । मैले प्रियाकी आमालाई भनेँ, कि छोरीलाई सम्झाउनुस्, कि म उनलाई डिभोर्स दिन्छु । त्यतिबेला मैले प्रियालाई मार्ने धम्की दिएको कुरा झूटो हो । बरु मैले हाम्रो डिभोर्स भयो भने म एक्लै बाँच्न सक्दिनँ भनेर भनेको हुँ ।

– प्रियाका बुवा त्यतिबेला बेस्सरी रिसाउनुभएको थियो । उहाँले छोरीलाई कडा शब्दमा भन्नुभयो, ‘तँलाई अब मेरो घरमा स्थान छैन । भोलिदेखि कलेज जानुपर्दैन । बरु झुण्डिएर मर् । यो घरबाट पहिले तेरो डोली उठ्यो, अब अस्तु उठ्छ पनि भन्नुभयो । पि्रया रुन थालिन् ।

– प्रियाले कलेजमा मिल्ने केटासाथीको हात भाँच्चिएकाले उसलाई स्कुटरमा राखेर कलेजबाट घर पुर्‍याइदिने गरेको बताइन् । आफूहरुबीच साथीको सम्वन्ध मात्र रहेको र कुनै प्रेम नरहेको उनको भनाइ थियो । तर, मलाई उनको कुरामा विश्वास लागेन ।

– उहाँहरु फर्केर जानुभयो । त्यो रात आमाले हामी दुवैजना सँगै सुते झगडा पर्न सक्छ भनेर पि्रयालाई नन्दसँग सुत्न भन्नुभयो ।
– भोलिपल्ट बिहानै उठेर आमा अफिस जानुभयो । बहिनी कलेज गई । बिहान काकाको छोरा आएको थियो । उसले मलाई उठायो अनि मालपोतमा काम छ भनेर हिँड्यो । घरमा प्रिया र म मात्रै भयौं । हामीबीच बोलचाल भएन । उनले खाना पनि पकाइनन् । कलेज पनि गइनन् । म पनि निच मारेर बसेँ ।

– म ९ बजेतिर ल्यापटप बोकेर सिटिङ रुममा गएँ र काम गरेर बसेँ । उनको चालचुल थिएन । १२ बजेतिर हुनुपर्छ प्रिया बेडरुममा छिरिन् । १२ः४५ बजे म पनि सोफाबाट उठेर बेडरुमतिर लागेँ । तर ढोका भित्रबाट बन्द थियो । मैले ढकढक गरेँ, तर खुलेन । मैले ट्वाइलेटको भेन्टिलेसनबाट हाम्रो बेडरुममा चिहाएँ । पि्रया झ्यालमा उभिएर बाहिर हेरिरहेको जस्तो लाग्यो । तर शरीरमा कुनै हलचल थिएन । मैले प्रिया… प्रिया… भनेर बोलाएँ । तर, कुनै जवाफ दिइनन् । अनि मलाई चिसो पस्यो ।

– डर लागेपछि मैले पल्लो घरमा बस्ने हजुरबालाई फोन गरेँ । उहाँ आउनुभयो । काकाको छोरा पनि आयो । छरछिमेकी पनि जम्मा भए । सबैले भेन्टिलेसनबाट हेरे । सास चलिरहेको जस्तो छ भन्न थाले । त्यसपछि मलाई श्रीमतीलाई जसरी पनि बचाउनुपर्छ भन्ने लाग्यो ।

– ट्वाइलेटको झ्यालबाट हाम्रो बेडरुममा छिर्न सकिन्छ । मैले झ्यालको भेन्टिलेसन फुटाइदिएँ । तर, भित्र पस्नै लाग्दा हजुरबाले मलाई रोक्नुभयो । ‘प्रहरीले तँमाथि शंका गर्न सक्छ’ भनेर मलाई भित्र जान दिनुभएन । मेरो साटो मेरो भाइ (काकाको छोरा) भाउजूलाई जसरी पनि बचाउँछु भेन्टिलेसनबाट भित्र गयो । भित्र गएर उसले ढोका खोल्यो । सबैजना भित्र पस्यौं । एकजनाले उनको नाडी छाम्नुभयो । उनले सास छोडिसकेकी रहिछन् ।

– हजुरबा आत्तिनुभो । म झन् बेहोशजस्तै भएँ । मेरो भाइले पि्रयाका बुवालाई फोन गरेर बोलायो । आमालाई पनि उसैले बोलायो । भेन्टिलेसन फुटाउनुअघि नै कसैले प्रहरीलाई बोलाएको रहेछ । प्रहरी आइपुग्यो । मुचुल्का उठायो । प्रियाका बुवा पनि आउनुभयो । उहाँ मलाई सान्त्वना दिनुको सट्टा मैले प्रियालाई मारेर झुण्ड्याएको आरोप लगाउन थाल्नुभयो ।

– मेरो विचारमा प्रियाले सुसाइड गर्नुमा सबैभन्दा बेसी उनको बुवा नै जिम्मेवार हुनुहुन्छ । उहाँले छोरीलाई असाध्य लाडप्यार गर्नुहुन्थ्यो । कहिल्यै तँ भनेर बोलाएको पनि थाहा छैन । यस्ता बुवाले ‘तँ झुण्डेर मर’ सम्म भनेपछि उनले आफूलाई सम्हाल्न सकिनन् सायद । त्यसैले कठोर निर्णय लिइन् । आफ्नो गल्ती लुकाउन उनका बुवाले ममाथि नचाहिने आरोप लगाइरहनुभएको छ । मैले आइतबार उहाँहरुलाई नबोलाएको भए सायद यो अपि्रय घटना हुने थिएन ।

– हाम्रो परिवार अहिले शोकमा डुबेको छ । म आफैंलाई सुसाइड गरौंजस्तो भइरहेको छ । अर्कोतर्फ उनीहरुले हामीमाथि हत्याको आरोप लगाएर जाहेरी दिएका छन् । १३ दिनसम्म केही बोल्दिनँ । १३ दिनपछि उनीहरुमाथि नै केस गर्ने विचार गरेको छु ।

प्रियाकी साथी भन्छिन्, अफेयर थिएन

विप्लवले आफ्नी श्रीमती कलेजको एक साथीसँग चक्करमा रहेको दावी गरे पनि सोही कलेजमा पढ्ने प्रियाकी बेस्ट फ्रेन्डले भने त्यसलाई खण्डन गरेकी छिन् । उनले अनलाइनखबरसँग यसो भनिन्-

‘हाम्रो कलेजमा चारजना साथीहरुको ग्रुप थियो । प्रिया र म अनि दुईजना केटासाथी । हामी कलेजमा जतिखेर पनि सँगै हुन्थ्यौं । बाहिर घुम्न पनि सँगै जान्थ्यौं । हाम्रो ग्रुपको एउटा साथीको केही दिनअघि हात भाँच्चियो । ऊ बसमा चढेर कलेज आउन जान उसलाई गाह्रो हुने भएकाले प्रियाले उसलाई आफ्नो स्कुटरमा राखेर घर पुर्‍याइदिने गर्थी । यो कुरा उसले आफ्नो परिवारलाई बताएकी थिई । त्यो साथीसँग प्रियाको विशुद्ध मित्रता हो । अफेयरको कुरा सतप्रतिशत गलत हो । प्रिया र त्यो साथी दुईजना मात्रै एकपटक पनि घुम्न गएको मलाई थाहा छैन । त्यो साथीको अर्कै गर्लफ्रेन्ड छ ।

प्रिया दुई-तीन महिनादेखि अलि तनावमा थिई । उसको श्रीमानसँग खटपट परिरहेको रहेछ । खासमा उसको श्रीमानले फेसबुकमा कुनै केटीलाई आइ लभ यू भनेर म्यासेज पठाएको देखेकी रहिछ । त्यही विषयमा विवाद भएको रहेछ ।

हामी सबैकुरा आपसमा सेयर गथ्र्यौं । उसले मसित मर्ने कुरा कहिल्यै गरेकी छैन । ऊ मर्नलाई आँट गर्ने केटी पनि होइन । म प्रियाको घरमा तीनचोटि मात्र गएकी छु । उसको श्रीमान कस्तो हुनुहुन्छ भन्ने मलाई थाहा छैन । घटनाको पिक्चरहरु हेर्दा मलाई यो मर्डर नै हो कि जस्तो लाग्छ । तर आत्महत्या होइन, भनेर ठोकुवा चैं गर्न सक्दिन है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment