Comments Add Comment

स्थलगत रिपोर्ट : वीरको पनि उही बिजोग

अक्सिजन र बेडको अभाव बढ्दै

२० वैशाख, काठमाडौं । मूलपानीका भरत थापाका भाइ निकेशलाई कोरोना संक्रमणको शंकामा सात दिनअघि वीर अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वास समस्या बढेपछि बुहारी र भाइका सासुलाई पनि आइतबार दिउँसो वीर ल्याइपुर्‍याए ।

तर, उनीहरुले बेड पाउन सकेनन् । बुहारीलाई सास फेर्न झन्झन् गाह्रो हुँदै गयो । आत्तिएका थापाले सबैतिर हारगुहार गरे । तीन घण्टाको प्रयासपछि उनले एउटा अक्सिजन सिलिण्डर पाए । ‘सिलिण्डर मात्र होइन, बिरामीको अक्सिजन लेभल नापिदिने, ब्लड प्रेसर नापिदिने काम पनि गरिएन’, सोमबार वीर अस्पतालकोे कोरोना वार्ड बाहिर भेटिएका थापाले आफ्नो पीडा सुनाए ।

अस्पताल प्रशासनले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उनी आक्रोश पोखिरहेका थिए । ‘यहाँको वातावरण हेर्दा म आफैं पनि संक्रमित हुने अवस्था आइसक्यो’, थापाले भने, ‘मुलुककै ठूलो अस्पताल भनेपनि अस्पतालको अवस्था बिजोग छ ।’

काठमाडौं बबरमहलका ५४ वर्षीय संक्रमितका आफन्त आरती केसी (परिवर्तित नाम) पनि अस्पतालले बिरामीको ख्याल नगरेको बताउँछिन् । उनको गुनासो छ, ‘राति बिरामीले बोलाउँदा नर्सहरूले बेवास्ता गर्छन् । भनिन्, ‘सास फेर्न गाह्रो भयो भने कहाँ भन्ने हो थाहा छैन !’

अर्का एक बिरामीका आफन्त पनि कोरोना वार्डमा नर्स र डाक्टरको संख्या निकै कम देखिएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हामीले देख्दा नै एउटा कोठामा एकजना पनि नर्स थिएनन् । यस्तो भयो भने बिरामी अस्पतालमा नै मर्न के बेर !’

सोमबार दिउँसो हामी वीरको कोरोना वार्ड पुग्दा बिरामी कुरुवाहरू भुइँमा सुतेका भेटिए । कोही वार्डको भर्‍याङ, प्यासेज र बार्दलीमा बसिरहेका थिए । मिनरल वाटरका बाक्सा, म्याट र मोबाइल चार्जर बोकेर बसेका बिरामीका आफन्तलाई हात धुने ठाउँ समेत छैन । पानीको धारामा फोहोर थुप्रिएर जाम भएको छ ।

भर्‍याङ र बार्दली वरपर पुराना बोतल, फालिएका स्यानिटाइजर र प्रयोग भइसकेका मास्क भेटिए । फोहोर अवस्थाकै कारण बिरामीका आफन्तहरू शौचालय जान समेत डराएका छन् । उनीहरू आफैंले ल्याएको पानीले हात धुनेदेखि सबै काम गरिरहेका भेटिए ।

अस्पतालबाटै संक्रमणको जोखिम

पर्वतबाट आएका १८ वर्षीय किशोर नियमित जाँचका लागि वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा आउने–जाने गरिरहन्थे । यसै क्रममा संक्रमित भएका उनी हाल वीरकै कोरोना वार्डमा उपचारत छन् ।

‘चेकजाँचका लागि आउँदा–जाँदा नै कोरोना लाग्यो वा अस्पताल बसाइमै लाग्यो पत्तो पाएको छैन’, उनका कुरुवाले भने, ‘अब म पनि संक्रमित भएँ भने हाम्रो त उठीबास हुन्छ ।’

उनीमात्र होइन, वीरका अधिकांश सेवाग्राहीले स्वास्थ्य मापदण्ड तथा सरसफाइको कमीले अस्पताल नै कोरोना संक्रमण हुने थलो बनेको गुनासो गरे । उनीहरूका अनुसार अस्पतालका वार्डमा को व्यक्ति कहिले आउँछ भन्ने थाहा हुँदैन । जसले गर्दा जोखिमयुक्त मानिएको कोरोना वार्डमा पनि मानिसको भीड छ ।

कोरोना वार्डमा मात्र होइन, वीरको इमर्जेन्सीमा पनि कोरोना परीक्षण अनिवार्य गरिएको छैन । जुनसुकै व्यक्ति इमर्जेन्सीमा प्रवेश गर्नाले बिरामीहरूमा त्रास बढेको छ ।

इमर्जेन्सीमा नयाँ बिरामी राखिनासाथ उसको कोरोना परीक्षण गरिएपनि उक्त व्यक्तिको उपचारकै क्रममा संक्रमण फैलन सक्ने कुरालाई ख्याल गरिएको पाइँदैन । बिरामी र आफन्तसँगै अस्पतालका सुरक्षा गार्ड तथा सरसफाइ कर्मचारीलाई पनि कोरोना संक्रमण हुने उच्च जोखिम देखिन्छ ।

अस्पतालका एक सुरक्षा गार्डले सधैं डरैडरमा काम गर्नुपरेको गुनासो पोखे । उनका अनुसार सुरक्षा गार्डलाई पीपीई, मास्क, पञ्जाको व्यवस्था गरिए पनि ती सामग्री नियमित फेरबदल गर्न अपुग हुन्छ । ‘गार्ड भएपनि बेड बोक्ने, बिरामीलाई ओसार्ने काम गर्दा कोरोना सर्ने डर हुन्छ’ उनले भने, ‘हाम्रो जागिरले गर्दा परिवारमा पनि त्रास बढेको छ ।’

यस्तै सरसफाइ विभागमा काम गर्ने कर्मचारीहरू पनि सधैं त्रासमा काम गर्नुपरेको सुनाउँछन् ।

बेड र अक्सिजनको अभाव 

वीर अस्पतालका कोरोना फोकल पर्सन डा. अच्यूत कार्की पनि संक्रमितलाई बेड उपलब्ध गराउन मुश्किल परेको बताउँछन् । भन्छन्, ‘हामीलाई खाली बेड जुटाउन नै गाह्रो परेको छ । यो अवस्थाले गर्दा अन्य व्यवस्थापनका पाटो बिग्रन पुगेको छ ।’

अहिले वीर अस्पतालले कोरोना संक्रमतिका लागि अस्पतालको पछाडिको (पश्चिमतर्फ) भवनका तीन तलालाई कोरोना–वार्ड बनाएको छ । ग्याष्ट्रोलोजी वार्ड र कार्डियोलोजी वार्डसमेत कोरोना संक्रमितको उपचारका लागि लागि छुट्याइएको छ ।

सोमबारसम्म वीरमा हाल १ सय ८ शय्या कोरोना संक्रमितका लागि छुट्याइएको डा. कार्कीले अनलाइनखबरलाई बताए । यसबाहेक २७ बेड सस्पेक्टेड (कोरोना शंका लागेका) बिरामीको लागि छुट्याइएको छ । ‘संक्रमितको चाप बढ्दै गएकाले अन्य वार्डलाई पनि कोरोना वार्ड बनाउँदै लगिएको छ’ डा. कार्की भन्छन्, ‘हामीसँग भएको सबै स्रोत–साधन उचित परिचालन गर्दा पनि कोरोनासँग जुध्न अपुग हुन्छ ।’

वीर अस्पतालको पूर्वाधार कोरोनामैत्री उपचारका लागि नभएको उनको भनाइ छ ।

यता अस्पतालको नयाँ सर्जिकल भवनलाई पनि २०० शय्याको कोरोना उपचार वार्ड बनाउने निर्णय भएको थियो । उक्त नयाँ भवन ठेकेदार कम्पनीबाट अस्पतालाई हस्तान्तरण भइसकेको छ । यद्यपि नयाँ भवन कोरोना उपचारको लागि सञ्चालन आउन अझै केही महिना लाग्ने अस्पताल प्रशासनले बताएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment