Comments Add Comment

सफलताको कथाः स्कुल छाडेर पार्टनर खोज्दै रक्सी भट्टीमा !

बेलायतका ली बिगिन्स यसरी बने अर्बपति

७ फागुन, काठमाडौं । मानिसले सफल हुन विद्यालय जानैपर्छ वा औपचारिक शिक्षा लिनैपर्छ ? बेलायतका ली बिगिन्सले यसलाई असफल सावित गरिदिएका छन् । १९ वर्षको उमेरमा पढाइ छाडेर व्यवसायमा लागेको उनी अहिले ३८ वर्षको उमेरमै अर्बपति बन्न सफल भएका छन् ।

स्कुले जीवनमा लि बिगिन्स कहिल्यै सफल भएनन् किनकि हरेक परीक्षाका नतिजाहरु निराशाजनक हुन्थे । निराशाले गर्दा नै स्कुल पढ्न छाडेका बिगिन्स अहिले भने ठूलो सम्पत्तिका मालिक बनेका छन्, त्यो पनि आफ्नै कमाइको ।

स्कुले जीवनमा उनले कहिल्यै नतिजा राम्रो ल्याउन सकेनन् । बिगिन्सका अनुसार उनले इएस, एफएस र जीएस को ग्रेड हासिल गर्थे । नतिजा राम्रो ल्याउन नसकेपछि उनले १५ वर्षको उमेरमा स्कुल नै छाडे ।

स्कुल छाडेपछि समस्या झनै बल्झियो । उनका मनमा निराशाहरु झनै बढ्दै गए । रोजगारीका लागि विभिन्न कम्पनीमा आवेदन दिए । तर, कतैबाट पनि खासै राम्रोखालको प्रतिक्रिया आएन ।

ठाउँ-ठाउँमा आवेदन दिन धाइरहनुपर्ने बाध्यताले उनलाई हैरानी बनायो । यही हैरानी र निराशाका बीचमा एक नयाँ आइडियाको जन्म भयो। जसले नै उनलाई अहिले धनाढ्य व्यक्ति बनाएको छ ।

आफूले कम्पनीमा आवेदन दिन नपरोस् ता कि रोजगारदाता नै आफूलाई खोज्दै आओस्, उनी यही चाहन्थे । आखिर यस्तो कसरी सम्भव छ ? यसका लागि उनले रोजगार खोज्नेहरुको बायोडाटा राख्ने एक वेबसाइट निर्माण गर्ने निर्णय गरे । साथै यस्तो वेबसाइटमा रोजगारदाताहरुले सर्च गरेर आफ्ना लागि कर्मचारी खोज्न सकुन् भन्ने उनको चाहना थियो ।

उनले यो बिजनेशको नयाँ आइडिया बनाउँदासम्म उनीसँग कम्प्युटरको राम्रो ज्ञान नै थिएन । हुन त उनले स्कुल छाडेपछि फिलिटमा कम्प्युटर क्लास लिन थालेका थिए । तर, पनि वेबसाइट नै डिजाइन गर्ने गरी भने उनीसँग ज्ञान थिएन ।

पार्टनर खोज्न रक्सी भट्टी पसे

आफैले मात्रै एक्लै सञ्चालन गर्न नसक्ने देखेपछि उनले रक्सी भट्टीमा गएर आफूलाई प्राबिवधिक रुपमा सहयोग गर्ने मानिस खोजे ।
रक्सी भट्टीमा गएर उनले भने ‘कसैलाई थाहा छ, वेबसाइट कसले निर्माण गर्न सक्छ ?’ उनका एक साथीले एकजना आफ्नो साथी अर्थात बिरियन वाकेमले वेबसाइट डिजाइन गर्न सक्ने बताए । साथीकै सहयोगमा भेटिएका वाकेम उक्त बायोडाटा राख्ने वेबसाइट सञ्चालनमा पार्टनर बन्न मञ्जुर भए ।

१९ वर्षको उमेरमा नै उनले यो बिजनेशको आइडिया निकालेका थिए । यसै सोचअनुरुप नै उनले ८ सय ९९ पाउण्ड स्टर्लिङ खर्चेर कम्प्युटर किनेका थिए । तर, आफुसँग वेबसाइट डिजाइनसम्बन्धी आवश्यक ज्ञान नभएका कारण उनले यो काम थाल्न सकेका थिएनन् ।
स्कुल छाडेपछि उनले आफ्नो बाबुको कार्पेट उत्पादक कम्पनीमा सेल्सम्यान बनेर काम गरे । तर, उनी त्यसमा सन्तुष्ट बन्न सकेनन् ।

ऋण लिएर काम सुरु

वेबसाइट निर्माण गरी सञ्चालन गर्न उनिहरुले ९ हजार पाउण्ड स्टर्लिङ डलर ऋण लिए । साथै वाकेम र बिगिन्सले के के जिम्मेवारी सम्हाल्ने भन्ने पनि टुङ्गो लाग्यो । वाकेमले प्राबिधिक कुराहरु हेर्ने र बिगिन्सले विभिन्न नयाँ आइडिया र नेर्तत्व गर्ने निर्णय भएपश्चात उनीहरुले वेबसाइट डिजाइनको काम थाले । यो www.cv-library.co.uk अहिले धेरै कम्पनीका लागि कामदार खोज्ने साइट बनेको छ भने कैयन जागिर खोज्नेका लागि जागिर भेट्याउने थलो बनेको छ ।

वेबसाइट निर्माणपछिका पहिला तीन वर्षहरुमा उनीहरुको व्यवसाय खासै राम्रो भएन । तर, पछिल्ला वर्षहरुमा भने उनीहरुको नाफा आकाशिँदै गयो । अहिले उनको वेबसाइट बायोडाटाको लाइबे्ररी नै भनेर चिनिन्छ । साथै अहिले यो बेलायातको तेस्रो जागिर खोजिदिने कम्पनीको रुपमा समेत स्थापित भएको छ ।

अहिले उनको कम्पनीको पुुँजी १ सय मिलियन पाउण्ड रहेको छ । साथै अहिले पनि यसको मूख्य कार्यालय भने उनले फिलिटमा नै राखेका छन् ।

बिगिन्सका अनुसार यसले अहिले बाषिर्क २५ मिलियन पाउण्डको कारोबार गर्दछ । साथै यसले अहिले अमेरिकामा पनि आफ्नो व्यवसाय बिस्तार गर्ने योजना बनाएको छ ।

अहिले बिगिन्स ३८ वर्षका भएका छन् । उनी भन्छन् ‘स्कुले जीवन मेरा लागि निकै कष्टकर नै थियो, मसँग एकेडेमिक ज्ञान थिएन । मैले साँच्चिकै संघर्ष गरेको थिएँ । साच्चिँकै भन्दा म त्यतिबेला हार खाएको मानिस नै थिए ।’

उनले थपे ‘तर जब मेरो उमेर बढ्दै गयो मैले आफुलाई केही गर्न सक्ने प्रमाणित गर्नुपर्ने थियो । तर, यसमा म सफल बनें ।’ सुरुका वर्षहरुमा उनको वेबसाइटले राम्रो व्यवसाय गर्न सकेन । जसका कारण उनले आफ्नो बाबुको कार्पेट व्यवसायमा सेल्सम्यानको जागिर पनि चटक्कै छोड्न सकेनन् ।

व्यवसाय राम्रो हुन नसकेपछि उनले आफ्नो वेबसाइटको विज्ञापन गर्ने सोच बनाए । उनले सुरुमा गुगल तथा अन्य सर्च इन्जिनलाई पैसा तिरेर विज्ञापन गरे ।

गुगलमा विज्ञापन गरेसँगै उनका ग्राहक बढ्दै गए । उनी भन्छन् ‘गुगल र अन्य सर्च इञ्जिनमा विज्ञापन गरेपछि हाम्रो वेबसाइटमा बायोडाटा राख्नेहरु हृवात्तै बढे । सन् २००४ मा त चमत्कार नै भयो । ‘

अहिले उनको वेबसाइटमा विभिन्न ब्यक्तिहरुका बायोडाटा राखिएको छ । विभिन्न रोजगारदाताले उनको वेबसाइटमा गएर कर्मचारी चयन गर्ने गर्दछन् ।

बिगिन्सका अनुसार उनको वेबसाइटमा अहिले पनि ९.५ मिलियन व्यक्तिका बायोडाटा रहेका छन् । साथै यो वेबसाइटबाट अहिले १० हजार कम्पनीले कर्मचारी खोज्ने सेवा लिन्छन् ।

सन् २०१३ देखि यो कम्पनी बिगिन्सको मात्रै भएको छ । वाकेमले आफ्नो परिवारसँगै समय बिताउने निर्णय गरेसँगै सबै जिम्मा उनले नै लिएका छन् । बिगन्सले वाकेमको स्वामित्वलाई १० मिलियनमा खरिद गरेका हुन् ।

कर्मचारीलाई कडा सर्त

उनको कम्पनीमा कर्मचारीहरुका लागि कडा सर्त राखिएका छन् । किनकि उनको कम्पनीमा कार्यालय समयमा चुरोट पिउने, मोबाइल प्रयोग गर्ने र निजी कामका लागि इन्टरनेट सर्फ गर्न पाईंदैन । उनको कम्पनीमा अहिले १ सय ४० जना कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment