Comments Add Comment

दाङका दुई उपमहानगरमा कसले जित्ला ? कांग्रेसलाई विरासत जोगाउने चिन्ता

खुमबहादुरको गृहजिल्लामा कांग्रेस भर्सेस कम्युनिष्ट राजनीति

४ असार, दाङ । दुई उपमहानगरपालिका रहेको दाङ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले बाजागाजा, झाँकीसहित तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् ।

दाङमा घोराही र तुलसीपुर गरी दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । दक्षिण एसियाकै ठूलो उपत्यका भनेर दाबी गरिने दाङमा मतदाताको संख्या २ लाख ९१ हजार १५९ छ । यहाँबाट ५ सय २० जनप्रतिनिधि चुनिने छन् ।

दाङमा २७ दल दर्ता छन् । तीमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । तर, मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले र माओवादी हुन् ।

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसबाट गेहेन्द्र गिरी प्रमुख र देवका नेपाली उपप्रमुखको उम्मेदवार बनेका छन् । गिरी कांग्रेसका पूर्वसांसद हुन् । २०५६ सालको आम निर्वाचनमा दाङ क्षेत्रनम्बर ४ बाट कांग्रेस नेता गिरी सांसदमा निर्वाचित भएका थिए ।

एमालेबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा घनश्याम पाण्डेको र उपप्रमुखमा माया ‌ आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

माओवादीबाट शेशुराम भण्डारी र सीता ओलीको क्रमशः प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी परेको छ ।

यसैगरी घोराही उपमहानगरपालिकामा कांग्रेसबाट क्षेत्रीय सभापति भुपबहादुर डाँगी प्रमुख र पुष्पा श्रेष्ठ उपप्रमुखमा उम्मेदवारी दर्ता भएको छ ।

घोराही उपमहानगरपालिकाको प्रमुखमा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने उम्मेदवार छन् ।

यसैगरी माओवादी केन्द्रले घोराही उपमहानगरपालिका प्रमुखमा पोलिटव्यूरो सदस्य जीवन गौतमलाई र उपप्रमुखमा सीता चौधरीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसमा असन्तुष्टिः घोराही, लमही र गढवामा वागी

उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेसमा चरम असन्तुष्टि छ । जिल्लामा सहमतिको प्रयास असफल भएपछि कांग्रेसले अन्तिम समयमा केन्द्रबाट उम्मेदवार टुंगो लगाएको थियो ।

दाङका सबै स्थानीय तहमा कांग्रेस नेता खुमबहादुर खड्का निकटका व्यक्ति उम्मेदवार छन् । खुमबहादुरले एकलौटी गरेको भन्दै दाङ कांग्रेसमा असन्तुष्ट चुलिएको छ । खासगरी दाङ जिल्लाका पूर्व कांग्रेस सभापति वीरकेशरी गौतम, पूर्वसांसद कृष्णकिशोर घिमिरे लगायतका नेताहरु उम्मेदवार चयनप्रति असन्तुष्ट छन् ।

घोराही उपमहानगरपालिकाको उपप्रमुखमा ठाकुरप्रसाद महराले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी लमही नगरपालिकामा खुमबहादुरकै आफन्त सतबरीयाका डिल्लीबहादुर खड्काले र गढवा गाउँपालिकाको अध्यक्षमा डिल्ली आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । खड्का साविकको सतवरिया गाविसको र आचार्य साविकको गंगापरस्पुर गाविसको पूर्वअध्यक्ष हुन् ।

विरासत जोगाउने चुनौति

२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा कांग्रेसलाई आफ्नो पुरानो बिरासत जोगाउने चुनौति छ । किनकि दोस्रो संविधानसभा चुनावमा कांग्रेसले दाङका सबै पाँचवटै क्षेत्र जितेको थियो ।


दाङका स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता घोराही उपमहानगरपालिकामा छन् । ७८ हजार ४१९ मतदाता रहेको घोराही उपमहानगरपालिकामा साविकको घोराही नगरपालिका, त्रिपुर नगरपालिका (ढिकपुर, नारायणपुर र हापुर गाविस), लक्ष्मीपुर, रामपुर, धर्ना, सौंडियार र सैघा गाविस पर्दछन् ।

विगतलाई हेर्ने हो भने घोराहीमा कांग्रेसको पकड देखिन्छ । ०४९ सालको स्थानीय चुनावमा कांग्रेसका यज्ञबहादुर डाँगी घोराहीको मेयरमा चुनिएका थिए । तर ०५४ को चुनावको परिणाम एमालेको पक्षमा गयो र मेयरमा अमरबहादुर डाँगी निर्वाचित भए ।

माओवादी युद्धमै भएकाले ०५४ को चुनावमा भाग लिएको थिएन । शान्ति प्रक्रियालगत्तै ०६४ मा भएको पहिलो संविधानसभा चुनावमा भने सदरमुकाम घोराही रहेको दाङ क्षेत्र नम्बर ३ सहित जिल्लाका सबै पाँचवटै निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । दाङ क्षेत्रनम्बर ३ बाट माओवादी नेता कृष्णबहादुर महरा विजयी भएका थिए ।

त्यसको ६ वर्षपछि अर्थात् ०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा भने कांग्रेसको पक्षमा पासा पल्टियो । कांग्रेसले दाङमा ‘क्लिन स्वीप’ गर्‍यो । दाङ क्षेत्र नम्बर ३ बाट माओवादीका निर्मल आचार्यलाई पछि पार्दै कांग्रेसका राजु खनाल विजयी भए । माओवादीका आचार्य र कांग्रेसका खनालबीच ससुरा-ज्वाइँको सम्बन्ध छ ।

तत्कालीन तीन नम्बर क्षेत्रमा पर्ने घोराहीका धर्ना, सौडियार, ढिकपुर, नारायणपुर र हापुर गाविसबाट कांग्रेस भारी मतान्तरले विजयी भएको थियो । एमालेको ७ हजार ५ सय, माओवादीको सात हजार र कांग्रेसको पक्षमा १५ हजार ५ सय मत खसेको थियो ।


दुई नम्बर क्षेत्रमा परेका रामपुर, लक्ष्मीपुर, सैघा, स्युजा, काभ्रे, लोहारपानी, हाँसिपुर, सिसहनिया र लालमटिया गाविस गाभिएका थिए, जहाँबाट कांग्रेसकै उम्मेदवार सुशीला चौधरी विजयी भएकी थिइन् ।

अहिले घोराही उपमहानगरपालिकामा साविकको त्रिपुर, सौडियार र धर्ना गाविसलाई पनि घोराही उपमहानगरमै गाभिएको छ । यस्तै साविकको दुई नम्बर क्षेत्रका सैघा रामपुर, लक्ष्मीपुर गाविस पनि घोराही उपमहानगरमै पर्दछन् ।

त्यसैले कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले आफ्नो पक्षमा चुनावी परिणाम आउनेमा विश्वस्त रहेको बताए ।

साविकका तुलसीपुर नगरपालिका तथा डुरुवा, मानपुर, बिजौरी र पवननगर गाविस गाभिएर बनेको तुलसीपुर उपमहानगरपालिका ७६ हजार ८८१ मतदाता छन् । दोस्रो संविधानसभा चुनावमा साविकको तुलसीपुर नगरपालिकासहित हलवार, बिजौरी, मानपुर, डुरुवा, फुलबारी, उरहरी र टरिगैं गाविस रहेको क्षेत्रबाट कांग्रेस एमालेभन्दा झिनो मतअन्तरले विजयी भएको थियो । माओवादी तेस्रो भएको थियो ।

अहिले स्थानीय चुनावमा कांग्रेसका पूर्वसांसद गेहेन्द्र गिरी प्रमुख पदका उम्मेदवार बनेका छन् । तुलसीपुरको मेयरमा कांग्रेसका शंकर गिरी र तेजबहादुर बस्नेत, घनश्याम रेग्मी लगायत आकांक्षी थिए । खुमबहादुर खड्काको विश्वासपात्र गेहेन्द्र गिरीले टिकट पाएपछि कांग्रेसका केही उम्मेदवारमा उब्जिएको असन्तुष्टिको फाइदा लिने दाउँमा एमाले छ । तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे सशक्त उम्मेदवार मानिन्छन् ।

खुमबहादुरको विगत

साविकको दाङ क्षेत्र नम्बर एकमा पर्ने लमही कांग्रेस नेता खुमबहादुर खड्काको घर भएको क्षेत्र मानिन्छ । तर, पहिलो संविधानसभा निर्वाचनमा लमही बजारमै माओवादीका सात जना कार्यकर्तालाई गोली हानेर हत्या गरेको आरोप माओवादीले खुमबहादुरलाई लगाउने गरेको छ ।

सो घटनालाई माओवादीले चुनावी मसला बनाउन पाएपछि कांग्रेस उम्मेदवार खुमबहादुरलाई भारी मतान्तरले हराउँदै माओवादीका इन्द्रजित चौधरी निर्वाचित भए । माओवादीले लमही नगरपालिकाको सोही क्षेत्रमा इन्द्रजितलाई स्थानीय चुनावको कमाण्डर बनाएको छ ।

इन्द्रजित भन्छन्, ‘अहिले पुरानो विरासत फर्काउने लक्ष्यसहित चुनावको तयारीमा व्यस्त छौं, सम्पूर्ण पार्टी पंक्ति चुनावमा परिचालित भएको छ र हालसम्म सकारात्मक परिणाम पनि आइरहेको छ ।’ उनले लमही नगरपालिकाको चुनावमा कांग्रेससँग प्रतिस्पर्धा हुने बताए ।

दोस्रो संविधान सभा चुनावमा लमही समेत रहेको दाङ क्षेत्रनम्बर एकमा पनि कांग्रेसको वागी उम्मेदवारी परेको थियो । कांग्रेसका लिला खनाल सूर्यमुखी फूल चुनाव चिह्न लिएर स्वतन्त्ररुपमा लडेका थिए । तर खनालको उम्मेदवारीले कांग्रेसलाई कुनै प्रभाव परेन र पार्वती डिसी चौधरी विजयी भइन् । सो चुनावमा एमालेका रेवतीरमण शर्मा दोस्रो र माओवादीकी नारायणी शर्मा तेस्रो स्थानमा रहे।

पहिलो चरणको स्थानीय चुनावको परिणामले उत्साहित एमाले दाङको नतिजा आफ्नो पक्षमा पार्न प्रयासरत छ ।

त्यसो त दोस्रो संविधान सभा चुनावमा विभाजित भएको माओवादी अहिले एकतावद्ध छ । दाङमा सबैभन्दा पहिले उम्मेदवार टुंगो लगाएर माओवादीले नै चुनाव प्रचार प्रसारलाई आक्रामक बनाएको थियो । पहिलो संविधानसभा चुनावमा निर्वाचित नारायण शर्मा, दामा शर्मा र इन्द्रजित थारु वैद्य माओवादी परित्याग गरी प्रचण्ड नेतृत्वकै माओवादीमा फर्किएका छन् ।

उनीहरु दुई महिना अघिदेखि नै दाङमा सक्रिय भएर चुनाव प्रचारमा खटिएका छन् । हालका परराष्ट्र मन्त्री कृष्णबहादुर महरा र पूर्वमन्त्री रेखा शर्मा पनि दाङमै बसेर माओवादीको पक्षमा माहोल बनाउन सक्रिय छन् । कृष्णबहादुर महरा र रेखा शर्माको उपस्थितिले पनि माओवादीको पक्षमा जनमत बढेको दाङका नेताहरु बताउँछन् ।


शहरी जनमत कता ?

घोराही र तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तीव्र गतिमा विकास भइरहेका दाङका प्रमुख शहरहरु हुन् । घोराही दाङ जिल्ला सदरमुकाम हो भने तुलसीपुर राप्ती अञ्चलको सदरमुकाम हो ।

पहिलो संविधानसभा चुनावको परिणामलाई हेर्दा माओवादीको प्रभाव र दोस्रो संविधानसभा चुनावको परिणामलाई हेर्दा कांग्रेसको प्रभाव बढी देखिन्छ । तर, प्रमुख प्रतिपक्षी एमाले अहिले सशक्त बन्दै आएको छ । त्यसको उदाहरण गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावको परिणाम हो ।

पहिलो चरणको स्थानीय चुनावमा अधिकांश सदरमुकाम र शहरउन्मुख स्थानीय तहमा एमालेले जितेको छ । दाङको शहरी जनमत कसको पक्षमा जान्छ यसै भन्न सकिने अवस्था छैन । तर, कांग्रेसमा देखिएको असन्तुष्टिको फाइदा दोस्रो संविधान सभा चुनावमा दोस्रो बनेको एमालेले उठाउन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment