Comments Add Comment

विप्लवको चीन भ्रमण र वादशाहको असहयोग नीति

राजकुमार श्रेष्ठ

२५ भदौ, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवको हालैको चीन भ्रमणबारे बुझ्न खोज्दा उनीनिकटका एक नेताले ‘चीन, तिब्बत र नेपाल’ पुस्तकको एक अंश पढेर सुनाउँदै भने- ‘विप्लवलाई पनि चिनियाँहरुले यसै भने होलान् ।’ विप्लवनिकट नेताले पढेर सुनाएको नेपालले अंग्रेजविरुद्ध लड्न सहयोग माग्दा उत्तरी छिमेकीको जवाफसम्बन्धी बाबुराम आचार्यको कितावको प्रशंग यस्तो छ-

netrabikram chand‘अंग्रेज र तिब्बत सरकारका बीचमा अहिलेसम्म कुनै किसिमका वैरभावहरु भएका छैनन् र उनीहरु अहिलेसम्म यहाँ आएका पनि छैनन् । यसैले तिब्बतमा आक्रमण गर्नको निम्ति बाटाघाटाको चियो-चर्चो गर्न उनीहरु यहाँ आए होलान् भन्ने कुरालाई विश्वास गर्न सकिँदैन । तैपनि उनीहरु कथंकथाचित यहाँ आएका नै हुन् भने पनि उनीहरुलाई छेक्ने काम तपाई (नेपाली) हरुकै हो । बादशाहको दक्षिणतर्फको ढोकाको सुरक्षा गर्ने अभिभारा त्यहाँ तपाईहरुमाथि नै रहिआएको छ । जहाँसम्म हामीलाई नगद र खरखजानाहरुको माग गर्नुभएको र यो ब्यहोरा चीनको बादशाहका हजुरमा जाहेरी गरी पठाउने भन्ने कुरा छ, यो विचारणीय छ । बादशाहका खरखजाना र नगद रकमहरु अरु देशहरुलाई दिने चलन आजसम्म प्रचलित छैन । ….. यसैले अहिलेलाई तपाईहरुले अंग्रेजसँग मिलिजुली गरी आफ्नो मुलुकको स्याहार र सम्भार गरी बसेमा नै बेश होला । यसो गरेमा नै तपाईहरुमाथि बादशाहको युगयुगान्तरसम्म मेहरबानी रहिरहने छ । अब आइन्दा यस किसिमका मागहरु त्यहाँबाट हामी कहाँ कहिल्यै पनि नआऊन् ।’

अंग्रेजहरुले नेपालमा आक्रमण गर्न लागेपछि नेपालले चीनसँग सहयोग माग्दा तिब्बतमा रहेका अम्बानहरुले गीवार्णयुद्धलाई पठाएको भनिएको पत्रको अंश हो यो ।

letter-biplop

चीनबारे विप्लव मौन

विप्लव हालैमात्र चीन पुगेर आए । केही गोप्य भेटवार्ताहरु पनि गरे । तर, नेपाल फर्किर्एपछि उनले यसबारे कसैसँग खुलेर कुराकानी गर्न चाहेका छैनन् । पत्रकारहरुले भेट्न खोजे चीन भ्रमणबारे चाँही कुरा नगरौं है भन्दै पहिल्यै शर्त राख्छन् । पार्टीका नेताहरुसँग पनि उनले खासै खुलेर कुरा गरेका छैनन् ।

एक निकटवर्तीका अनुसार विप्लवले भ्रमण सकारात्मक भएको मात्रै भन्ने गरेका छन् । ‘चीन भ्रमण सकारात्मक नै रहृयो । केही भेटवार्ता भयो भन्नुहुन्छ’ माओवादीका एक नेताले भने-‘तर हामी कसैले सहयोग गरे पनि नगरे पनि आफ्नै बलमा सघर्ष गर्ने हो भन्ने विप्लवजीको भनाइ छ ।’

चीनको बलमा क्रान्ति असम्भव

चीनको सहयोग लिएर भारतको विरोधमा गतिविधि गर्ने कार्यलाई चिनियाँहरुले धेरै पहिलेदेखि असहयोग गर्दै आएको कुरा इतिहासकार बाबुराम आचार्यको कितावको माथि उल्ल्ेखित अंशले पनि पुष्टि गर्छ । यतिबेला चीनको आड लिएर फेरि जनयुद्धमा जान सकिन्छ कि भन्ने विप्लवको प्रयास पनि कुनै नौलो या सम्भव बाटो होइन । विगतमा भारतमा नक्सलवादी आन्दोलन हुँदा चारु मजुम्दारले सहयोग माग्दा माओत्सेतुङले सहयोग गर्न अस्वीकार गरेका थिए । अहिले पनि चिनियाँ नेताहरुले विगतको बादशाकालीन परराष्ट्र नीतिबाट आफूलाई विचलित गरेका छैनन् । शायद यही भएर जनयुद्धका लागि साथ माग्न चीन गएका विप्लव भिसो पानीले नुहाएर र्फकनु परेको छ । यही भएर उनले कार्यकर्तालाई हामी आफ्नै बलले लड्नुपर्छ भन्ने निश्कर्षमा पुगेका हुन् ।

वैद्य चुनावमा आए विप्लव भूमिगत हुने

निर्वाचन प्रक्रियाको विरोधमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी अहिले राष्ट्रिय राजनीतिको केन्द्रमा छ । त्यो पार्टीभित्र पनि विद्रोहको लाइन बोकेका सचिव नेत्रक्रिम चन्द विप्लव केन्द्रमा छन् । यस अर्थमा नेपाली राजनीतिको केन्द्रमा विप्लव छन् । पार्टीका अधिकांश प्रमुख नेताहरु सहमति गरेर चुनावमा जानुपर्छ भन्ने मत राख्छन् तर, उनी अहिलको राजनीतिक प्रक्रियाबाट पार लाग्दैन र अब दीर्घकालीन जनयुद्धमा जानुपर्छ भन्ने मान्यताका साथ हिँडिरहेका छन् । जनयुद्ध सुरु गर्नुअघि अन्तराष्ट्रिय समर्थन खोज्ने क्रममा नै विप्लव चीन गएको उनी निकटका नेताहरुले बताए ।

संगठनमा बलियो पकड भएका विप्लवलाई वाइपास गरेर सहमतिमा जाने हिम्मत मोहन वैद्य, रामबहादुर थापा बादल लगायतका नेताहरुमा देखिएको छैन । यसले अहिलेको राजनीतिक सहमतिको प्रयास अडि्कएको नेताहरु बताउँछन् । पोखरा बैठकले संविधानसभाको कार्यदिशा समास्त भएको भन्दै विद्रोह वा दीर्घकालीन जनयुद्धको विकल्प देखाएकाले पनि विप्लवलाई क्रस गर्न कठिन भएको बताइन्छ ।

पार्टी विभाजनका क्रममा भएको बौद्ध भेलादेखि प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन हुँदै पोखरा बैठकमा पुग्दा माओवादीले आफ्नो दस्तावेजमा संविधानसभाको कार्यदिशाको अब औचित्य छैन, सरकार र दलहरुले गर्ने भनेको दोस्रो संविधानसभाको निर्वाचनलाई ध्वस्त पार्ने जस्ता विषय उल्लेख छन् । त्यसैलाई टेकेर विप्लव देशका विभिन्न स्थानमा पुगेर युवाहरुलाई परिचालन गरेका छन् । उनकै निर्देशनमा पूर्व सहायक डिभिजन कमाण्डर समेत हरेका उदयबहादुर चलाउने अध्यक्ष रहेको राष्ट्रिय युवा जनस्वयंम सेवकले मार्चपास गर्दै आएको छ । जो एके ४७ बोकिन्छ, उम्मेदवारलाई ठोकिन्छ जस्ता नारा लगाइरहेका छन् ।

स्रोतका अनुसार कार्यदिशालाई लिएर सुरु भएको विवादले बैद्य माओवादीमा विभाजनका रेखाहरु कोरिन सुरु भइसकेको छ । हाम्रो पार्टीको भागमा फेरि अर्को फुट लेखेको रहेछ, एक नेताले भने, चुनावमा जाने सहमति भएकै दिनबाट पार्टी फुट्छ । नेताहरुले भने जस्तो असोज पहिलो साताभित्र बैद्य माओवादीमा चुनावमा जाने सहमति हुने हो भने पार्टी फुट टाढा छैन । यस्तोमा विप्लव आफ्ना सहयोगीहरुका साथ भूमिगत हुने पक्का छ ।

उसो त महत्वकांक्षी नेताका रुपमा हेरिने विप्लवलाई अर्को प्रचण्ड बन्न खोजेको आरोप पनि लाग्ने गरेको छ । ‘उनी अर्को सिकलेस दोहोर्‍याउन चाहन्छन्’ एमाओवादीका एक नेताले भने । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्ड बाबुरामलाई तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हेलिकोप्टर चढाएर सिकलेसबाट बालुवाटार ल्याएका थिए । जसका कारण उनलाई सवारी मन्त्रीको आरोप समेत लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment