Comments Add Comment

इजरायल–प्यालेस्टाइन द्वन्द्व : कुन देश कसको पक्षमा ?

४ जेठ, काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आक्रमण जारी छ । इजरायलको आक्रमणबाट गाजामा भारी क्षति पुगेको छ ।

इजरायलको आक्रमणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख छ । यसैगरी १ हजार ३ सय ५ जना घाइते भएका छन् । यसैगरी इजरायली सेनाले हालसम्म १३० जना चरमपन्थीहरुलाई मारेको जनाएको छ ।

यसैक्रममा एक हप्तामा गाजाबाट चरमपन्थीहरुले गरेको आक्रमणबाट हालसम्म १० इजरायलीको मृत्यु भएको छ, जसमा दुई बच्चा र एकजना सैनिक पनि रहेको बीबीसीले जनाएको छ ।

विश्व समुदाय विभाजित

इजरायल–प्यालेस्टाइन आक्रमणलाई रोक्ने कोसिस भइरहेको छ तर सफल भएको छैन । विभिन्न देशहरु दुई पक्षमा विभाजित भएपछि इजरायल–प्यालेस्टाइन युद्ध विश्वको मुद्दा बनिसकेको छ । धेरैजसो इस्लामिक देशहरु प्यालेस्टाइनीको समर्थनमा देखिएका छन् भने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफूलाई २५ बढी देशको समर्थन रहेको दाबी गरेका छन् ।

अमेरिका र इजरायल एकअर्काका घनिष्ट मित्र हुन् भन्ने कुरा छिपेको छैन । त्यसैले विश्वको सुपर पावर भनिने अमेरिकाले इजरायललाई साथ दिएको छ । उसले इजरायललाई आत्मरक्षाको अधिकार रहेको बताउँदै आएको छ ।

प्रमुख युरोपीय देश फ्रान्स, बेलायत र जर्मनी पनि इजरायलको पक्षमा छन् । त्यसैले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनबीचको मुद्दामा भिटो आवश्यक पर्यो भने इजरायललाई फाइदा हुने बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुस र चीन पनि स्थायी सदस्य छन् । इजरायल–प्यालेस्टाइनबीच जारी द्वन्द्वको विषयलाई लिएर चीनले अमेरिकाको चर्को आलोचना गरेको छ ।

इजरायलका राष्ट्रपति बेन्यामिन नेतन्याहुले आफूलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका देशहरुमा अष्ट्रेलिया, अष्ट्रिया, अलबानिया, ब्राजिल, क्यानडा, कोलम्बिया, साइप्रस, जर्जिया, हंगेरी, इटली, स्लोभेनिया र युक्रेनलगायत छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् । इजरायललाई आत्मरक्षाको अधिकार भए पनि प्यालेस्टाइनका नागरिकहरु पनि सुरक्षित रहन पाउनु पर्ने उनको मत छ ।

अर्कोतर्फ इस्लामिक देशहरुले इजरायलले गरेको आक्रमणको कडा विरोध गर्दै आएका छन् । उनीहरुले प्यालेस्टाइन क्षेत्रमा हुँदै आएको हिंसा रोक्न माग गर्दै आएका छन् । इजरायलको विरोध गर्ने देशहरुमा साउदी अरब, टर्की, इरान, इराक, पाकिस्तान, युएई, कुवेतलगायत छन् । खाडीका धेरै देशहरुले इजरायलको खुलेर विरोध गर्दै आएको बीबीसीले जनाएको छ ।

इजरायलको छिमेकी देश जोर्डनका राष्ट्रपतिले इजरायलको आक्रमण रोक्न गहन कूटनीतिकरुपमा गहन प्रयास भइरहेको जनाएका छन् । जोर्डनमा प्यालेस्टाइनको समर्थनमा ¥यालीहरु निक्लने गरेका छन् ।

अर्को एक छिमेकी देश लेबनानले पनि प्यालेस्टाइनमाथि भइरहेको आक्रमण रोक्ने पहलका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

इजरायलको छिमेकी देश इजिप्टले संघर्षविरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कोसिस गरिरहेको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस के हो इजरायल-प्यालेस्टाइन विवादको चुरो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment