Comments Add Comment

इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे चीनले गर्‍यो अमेरिकाको आलोचना

Photo Credit : AP

३ जेठ, काठमाडौं । इजरायल–प्यालेस्टाइनबीच जारी द्वन्द्वको विषयलाई लिएर चीनले अमेरिकाको चर्को आलोचना गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले आइतबार अमेरिकाले संयुक्त राष्ट्रसंघलाई यो हिंसाको विरुद्धमा खुलेर बोल्न नदिएको आरोप लगाएका छन् । उनले एक भर्चुअल कार्यक्रममा बोल्दै केवल एक मुलुकको कारण राष्ट्रसंघले एक स्वरमा आफ्नो कुरा राख्न नपाउनु दुःखद् रहेको बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङले अमेरिकालाई आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरेका छन् । चीनले गाजा क्षेत्रमा अहिले भइरहेको रक्तपात रोक्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

अमेरिका इजरायलको मित्र राष्ट्र हो । गत साता अमेरिकाले इजरायल–प्यालेस्टाइन द्वन्द्वको विषयमा हुने एक बैठक स्थगित गरिदिएको थियो । साथै उसले यो हिंसाको विषयमा कुनै विज्ञप्ति पनि जारी गरेको छैन । यद्यपि राष्ट्रपति जो बाइडनको प्रशासनले गाजा क्षेत्रमा जारी हिंसा नियन्त्रणको लागि पर्दापछाडिको काम गरिरहेको र यस्तोमा सुरक्षा परिषद्को विज्ञप्ति आउनुको असर प्रतिकूल हुन सक्ने बताएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले हमासको आक्रमणको जवाफमा इजरायललाई आत्मरक्षाको अधिकार भएको बताएका थिए । प्यालेस्टाइन समर्थक मुलुकले भने आत्मरक्षाको अर्थ निर्दोष प्यालेस्टाइनी नागरिक माथिको आक्रमण नहुने भन्दै इजरायलको आलोचना गर्दै आएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गेटेरसले लडाइँ नरोकिए यो पूरा क्षेत्रको ‘अनियन्त्रित संकट’ बन्न सक्ने बताएको छन् । गाजा क्षेत्रमा युद्धवरामको लागि राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक पनि बसेको थियो । तर, यो बैठक विना कुनै निष्कर्ष सकिएको थियो । यसअघि पनि इजरायल–प्यालेस्टाइनको मामिलामा चीनले अमेरिकाको आलोचना गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment