+
+
Shares

इजरायलमा रहेका नेपाली भन्छन् – ‘नेपाल आएर  के गर्ने ? बरू हाम्रो भिसा अवधि थपियोस्’

इजरायलमा केयरगिभरका रूपमा कार्यरत नेपाली श्रमिकहरू युद्धको त्रास र भाषाको कठिनाइबीच पनि स्वदेश फर्किन चाहँदैनन्। स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै उनीहरूले ५ वर्षे भिसा अवधि थपिदिन सरकारसँग माग गरेका छन्।

कञ्चन कञ्चन
२०८३ भदौ २ गते २१:१६
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलको रिशोन लेजियोनस्थित अहुजत रिशोनिममा काम गर्ने बुनु खड्का र सरोज श्रेष्ठले हिब्रु भाषा, कामको प्रकृति र सुरुवाती कठिनाइ सुनाए।
  • बुनुले कम्पनीले छ महिनासम्म क्लिनिङमा लगाएको भन्दै पिबामा उजुरी गरेपछि भोलिपल्टदेखि केयरगिभरको ड्युटी पाएको बताइन्।
  • इजरायलमा रहेका नेपाली श्रमिकले भिसा ५ वर्ष थप्न, वैदेशिक रोजगार प्रक्रिया सहज बनाउन र भ्रष्टाचार घटाउन नेपाल सरकारसँग माग गरेका छन्।

काठमाडौंमा जन्मे हुर्केकी बुनु खड्का चार वर्षदेखि इजरायलको रिशोन लेजियोनमा रहेको अहुजत रिशोनिममा केयरगिभरको रूपमा काम गर्छिन् ।

जीवनको उतरार्ध कटाईरहेका वृद्धवृद्धाहरूको रेखदेख गर्नु उनको दैनिक काम हो । उनीहरूलाई स्याहार गर्नु, औषधि उपचारमा सहायता गर्नु, खाना खुवाउनु जस्ता अत्यावश्यक दैनिक कार्यहरू उनको जिम्मेवारी हो । शुरूमा उनलाई खासै काम आउँदैनथ्यो ।

लामो समयसम्म नयाँ रहनसहन, रीति, संस्कृतिमा भिज्न उनलाई साह्रो पर्यो ।  काठमाडौमा बसेकी, हुर्किएकी बुनुले इजरायलको बारेमा जस्तो स्वप्न बुनेकी थिइन्, वास्तविकता त्यो भन्दा भिन्न रहेछ । उनले  इजरायलमा आएपछि यो कुरा महसुस गरेकी हुन् ।

‘ नेपालमा सिकेर गएका धेरै जस्तो कुराहरू त प्रयोगमा नै आएनन् । सामान्य केयर गिविंग ट्रेनिंग र अंग्रेजी भाषाको सामान्य ज्ञानमात्र बोकेर आएका थियौं । यहाँ आएपछि त म अचम्म नै परें । नेपालमा सिकेको कुरा र यहाँको वास्तविकतासँग तालमेल नै मिलाउन सकिन,’ बुनु भन्छिन् ।

इजरायलमा प्रयुक्त प्रविधि र नयाँ भाषासँगको अपरिचयले सुरुवाती दिनहरू अत्यन्त कष्टकर तरिकाले बिते  । कि त हिब्रु भाषामा दक्ष हुनुपर्ने, कि त उच्च स्तरको अंग्रेजी भाषाको ज्ञान हुनुपर्ने यी दुइ शर्तहरूले गर्दा काम गर्ने स्थानमा सामान्य कुराकानी गर्न पनि कठिन भएको थियो ।

अब उनी बल्ल अभ्यस्त हुन थालेकी छन् ।  यही बेला उनको ५ वर्षे भिसा सकिन लागेको छ । ‘नेपाल सरकारले हामीलाई धेरै गर्दिन्छ भन्ने आशा त छैन  ।  तर पनि हाम्रो ‘वर्किङ भिसा’ थप ५ वर्षको लागि लम्ब्याईदियोस्’ उनी भन्छिन् ।

बुनुसँगै एउटै संस्थामा काम गरिरहेका भक्तपुरका सरोज श्रेष्ठको पनि त्यस्तै अनुभव छ । हिब्रु भाषा नसिकी आफ्ना सबै परीक्षा र अन्तर्वार्ता अंग्रेजी भाषामै दिएका थिए । तर यहाँ आउँदा भने भाषाको कारणले गर्दा मानसिक तनाव  सहनु परेको उनको भोगाई छ ।

‘अब आउने अरू नेपाली श्रमिकहरूलाई चाहिँ के भन्न चाहन्छु भने सबभन्दा बढी हिब्रु भाषामा फोकस गर्दा हुन्छ। इङ्लिसभन्दा पनि हिब्रु भाषा सिक्यो भने यहाँ काम गर्न एकदम सजिलो हुन्छ,’ श्रेष्ठ भन्छन् ।

एक आफूले काम गरेको ठाउँको मान्छेले अंग्रेजी भाषा नबोलिदिने, त्यसमाथि कतिपयले त अभिमानवश प्रत्यूत्तर नै नदिने गरेको पनि श्रेष्ठ बताउछन् । तर,  गुगल ट्रान्सलेट प्रयोग गर्दै,  अरूले बोलेको अनुकरण गर्दै  जसोतसो उनले भाषा सिके ।

तर पनि नेपाल सरकारले इजरायलसँग गरेको जीटुजी सम्झौताअनुसार निष्पक्ष र बिनाकुनै घुस वा दलाललाई अतिरिक्त रकम नदिई इजरायल आउन पाएकोमा गुनु र सरोज  खुसी छन् ।

000 

इजरायलमा काम गर्ने अधिकांश नेपालीहरू वृद्धवृद्धा, पार्किन्सन्स र अल्जाइमर्सका बिरामीहरूको हेरचाह गर्ने काममा संलग्न छन् । मानसिक र शारीरिक रूपमा अस्वस्थ रहेका वृद्धवृद्धा र बिरामीहरूसँग काम गर्दा नेपाली श्रमिकहरूले हरेक पल धैर्यताको कडा परीक्षा दिनुपर्छ।

कार्यस्थलको वातावरणबारे बताउँदै सरोज भन्छन्, ‘नेपालमा बसेर सोचेको जस्तो काम छैन, एकदम गाह्रो छ। धेरै धैर्यता चाहिन्छ। धैर्यता नभएको मान्छेले यो काम गर्नै सक्दैन। चार वर्ष भइसक्दा पनि कहिलेकाहीँ बिरामीले यति माथिसम्म धैर्यताको टेस्ट गर्छन् कि हाम्रो दिमागले सोच्नै नसक्ने हुन्छ। घरको समस्या, यताउताको तनावले मुड अफ भइरहेको बेला पनि बिरामीलाई सम्हाल्नुपर्छ।’

इजरायलका केही प्राइभेट कम्पनीहरूले नेपाली श्रमिकहरूलाई श्रम सम्झौताअनुसारको काम नदिएर अन्य काममा लगाउने गरेका घटनाहरू पनि हुने गरेका छन्।

बुनु खड्काले आफ्नो सुरुआती ६ महिनाको अनुभव यसरी  सुनाइन्, ‘म केयरगिभरको सर्टिफिकेट लिएर आएको, तर आउने बित्तिकै मलाई क्लिनिङमा लगाइदियो। मसँगै आएका १३ जना साथीहरूले केयरगिभरको काम गरिरहेका थिए, मलाई भने ६ महिनासम्म सरसफाइमा मात्रै सीमित गरियो। बिहान ७ बजे आएर ३० वटा कोठा, नर्सिङ स्टेसन र लबी सफा गर्नुपर्थ्यो, ओभरटाइम पनि पाइँदैनथ्यो।’

कम्पनीले आफ्नो सम्झौताअनुसार काम नदिएपछि बुनुले इजरायलको वैदेशिक रोजगारी तथा श्रम हेर्ने निकाय ‘पिबा’ मा सिधै सम्पर्क गरिन् ।

पिबामा नेपाली प्रतिनिधिहरू पनि कार्यरत छन्। उजुरीपछि पिबाले तत्काल छानबिन गरी कम्पनीलाई पत्र काटेको थियो।

त्यसपछि कम्पनीका म्यानेजरले हप्काउने र धम्क्याउने गरे पनि सरकारी निकायको कडा निर्देशनका कारण भोलिपल्टैदेखि उनलाई केयरगिभरको ड्युटीमा सारिएको थियो।

कामको समय सामान्यतया बिहान ७ बजेदेखि सुरु हुन्छ। साप्ताहिक रूपमा ६ दिन काम गर्नुपर्ने र एक दिन अनिवार्य बिदा पाइने व्यवस्था छ। साप्ताहिक बिदाको दिन श्रमिकहरूले आफ्नो इच्छाअनुसार आराम गर्न वा घुम्न पाउँछन्। बिरामी परेको खण्डमा लाइन बस्ने झन्झटबिनै तुरुन्त नि:शुल्क स्वास्थ्य उपचार र इन्स्योरेन्सको सुविधा उपलब्ध हुन्छ।

000

इजरायलमा कामको प्रकृति जति जटिल र चुनौतीपूर्ण छ । तर, आर्थिक दृष्टिकोणले यो उत्तिकै आकर्षक मानिन्छ।

नेपालमा अपेक्षा नै नगरिएको आम्दानी इजरायलमा सम्भव भएको श्रमिकहरू बताउँछन्।

सुरुआती चरणमा प्रतिघण्टा न्यूनतम ज्यालाबाट काम सुरु हुने भए पनि दुई-तीन वर्षको अनुभव र राम्रो कामपछि कम्पनीहरूले तलब वृद्धि गरिदिन्छन्।

हाल इजरायलमा कार्यरत नेपाली श्रमिकहरूले ओभरटाइमसहित मासिक साढे दुई लाखदेखि तीन लाख रुपैयाँसम्म कमाउने गरेका छन्। कम्पनीले नै बस्नका लागि अपार्टमेन्ट र इन्स्योरेन्सको सुविधा उपलब्ध  गराउने भएकाले बचत पनि राम्रो हुने गर्छ।

चार वर्षदेखि इजरायलमा कार्यरत नेपाली श्रमिकहरूको सम्झौता अवधि अब पाँच वर्ष पुगेर सकिनै लागेको छ। नेपाल सरकारको विद्यमान नीतिअनुसार उनीहरू पाँच वर्षपछि नेपाल फर्किनुपर्ने हुन्छ। तर, इजरायलमा रहेका नेपाली श्रमिकहरू भने सरकारसँग आफ्नो बसाइको अवधि थप ५ वर्ष विस्तार गरिदिन माग गरिरहेका छन्।

नेपालको वर्तमान आर्थिक अवस्था, बेरोजगारी र अवसरको कमीका कारण नेपाल फर्किएर के गर्ने भन्ने ठूलो चिन्ता श्रमिकहरूमा छ।

‘नेपाल गएर के गर्ने? अलिअलि भएको सेभिङ चलायो, त्यो सकिएपछि अगाडि के गर्ने? उमेर र स्वास्थ्यले पनि दिँदैन। नेपाल गएपछि त पैसा र कामको अभावले सेकेन्ड-सेकेन्ड रोइन्छ। त्यसैले ५० वर्षसम्म त काम गर्न सकिन्छ, अर्को ५ वर्ष थप गरिदियोस्,’ बुनु थप्छिन् ।

इजरायली कम्पनीहरू स्वयं पनि नेपाली श्रमिकहरूको कामबाट अत्यन्त सन्तुष्ट छन् र उनीहरूलाई राख्न चाहन्छन्। तर, दुई देशका सरकारहरूबीचको सम्झौताका कारण कम्पनीहरूले सिधै राख्न नपाउने भएकाले नेपाल सरकारले नै यसमा पहल गरिदिनुपर्ने श्रमिकहरूको भनाइ छ।

000

इजरायल र छिमेकी मुलुकहरू तथा सशस्त्र समूहहरूबीच भइरहने युद्ध र द्वन्द्वका खबरहरूले नेपालमा रहेका परिवारलाई सधैँ चिन्तित बनाउने गर्छ। इजरायलमा काम गरिरहेका नेपाली श्रमिकहरूले पनि मिसाइल आक्रमण, साइरनको आवाज र प्रत्यक्ष युद्धको त्रास महसुस गरेका छन्।

नेपालमा कहिल्यै हतियार र बमको आवाज नसुनेका नेपालीहरूका लागि सुरुआती दिनमा इजरायलको युद्ध वातावरण अत्यन्तै डरलाग्दो थियो।

सरोज श्रेष्ठ आफ्नो पहिलो अनुभव सम्झिन्छन् , ‘सुरुमा आउँदा त ठूला-ठूला मेसिन गन बोकेका आर्मीहरू देख्दा ठूलो आवाज सुन्दा मरिन्छ कि जस्तो भयो। मिसाइल र बम पड्किएका दृश्यहरूले सुरुमा धेरै डर लाग्यो। तर, चार वर्ष बसिसकेपछि अहिले भने हामी अभ्यस्त भइसकेका छौँ ।’

इजरायलमा सुरक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री छ। मिसाइल वा रकेट आक्रमण हुनु अगाडि नै नागरिकहरूको मोबाइलमा लोकेसनअनुसारको सेक्युरिटी अलर्ट र म्यासेज आउँछ। त्यसपछि सम्बन्धित क्षेत्रमा जोडिएका साइरनहरू बज्न थाल्छन्।

प्रत्येक आठ-नौ तले घरहरू र डिपार्टमेन्टहरूमा सुरक्षित ‘सेल्टर’ हरू निर्माण गरिएका हुन्छन्। साइरन बज्नेबित्तिकै ३० सेकेन्डभित्र दौडेर सेल्टरमा पुग्न सकिने व्यवस्था छ। कम्पनीहरूले पनि युद्धको विशेष परिस्थितिमा श्रमिकहरूलाई सुरक्षित स्थान वा अपार्टमेन्टमा सारेर राख्ने गर्छन्।

तर, कतिपय अवस्थामा बिरामीहरूको हेरचाह गरिरहेका बेला साइरन बज्दा भने धर्मसङ्कट हुन्छ ।

‘बिहान बिरामीलाई नुहाइदिइरहेको वा लुगा लगाइदिइरहेको बेला साइरन बज्छ। हिँड्न नसक्ने बुढाबुढी बिरामीलाई त्यसै छाडेर सेल्टरमा भाग्न मन लाग्दैन। लुगा लगाइदिएर मात्रै जाने गर्छौँ,’ बुनु  भन्छिन् ।

इरानसँगको युद्धका बेला भने परिस्थिति निकै डरलाग्दो भएको उनीहरू सम्झिन्छन्।

त्यसबेला घरभन्दा ५०० मिटर नजिकै मिसाइलका टुक्राहरू खसेका थिए र बिल्डिङका सिसाहरू फुटेका थिए। यद्यपि, इजरायलको हवाई रक्षा प्रणाली र सुरक्षित सेल्टरहरूका कारण बाहिर मिडियामा देखाइनेजस्तो स्थितिमा नरहेको र जीवन सामान्य रूपमा चलिरहेको उनीहरू बताउँछन्।

000

नेपालमा हुने राजनीतिक परिवर्तन, भ्रष्टाचार र अनियमिताप्रति भने इजरायलमा रहेका नेपालीहरू निकै दुःखी छन्।

नेपालमा नयाँ सरकार बन्दा वा चुनाव हुँदा वैदेशिक रोजगारीको बाध्यता अन्त्य होला कि भन्ने आशा जागे पनि देशको स्थिति नसच्चिएकोमा उनीहरू निराशा व्यक्त गर्छन्।

‘हामी त ३५-३६ वर्षका भइसक्यौँ। नेपालमा जहाँ गए पनि पैसा नै तिर्नुपर्ने, घुस नै खुवाउनुपर्ने स्थिति छ। नयाँ सरकारले अरू केही नगरे पनि भ्रष्टाचार चाहिँ शून्यमा झारे हुन्थ्यो,’ सरोज भन्छन्।

सरकारले प्राय दोहोर्‍याइरहने गरेको ‘वैदेशिक रोजगार न्यूनीकरण’ को नाराप्रति भने उनी विमति राख्छन्  । देशभित्रै रोजगारको वातावरण सिर्जना नगरी फगत नारा दोहोर्‍याइरहनुले कुनै प्रतिफल हात नलाग्ने उनको धारणा छ ।

‘नेपालमा अवसर नै छैन भने कसरी न्यूनीकरण हुन्छ? इजरायल जस्तो ठाउँमा जहाँ सुरक्षा छ, राम्रो आम्दानी छ र अवसर छ, त्यस्ता ठाउँमा आउन रोक्नु हुँदैन। बरु प्रक्रियालाई अझ सहज र व्यवस्थित बनाउनुपर्छ,’ श्रेष्ठ भन्छन् ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?