काठमाडौं । संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ ।
इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । आईएईएले सिरियाका शंकास्पद आणविक स्थलहरूमा पूर्ण पहुँच पाएको यो पहिलोपटक हो ।
असद सरकारले अल–किबार रियाक्टरलाई केन्द्र बनाएर गुप्त आणविक कार्यक्रम चलाएको थियो । सन् २००७ मा इजरायलले उक्त रियाक्टरमा बमबारी गरेपछि सिरियाली आणविक कार्यक्रम प्राय: नष्ट भएको थियो । त्यसपछि अनुसन्धान, विकास र भण्डारणका केही स्थलहरू निष्क्रिय अवस्थामा रहेका थिए ।
असद सरकारको पतनपछि आईएईएले नयाँ सिरियाली सरकारसँग सम्झौता गरेर अल–किबार र अन्य स्थलहरूमा पहुँच पाएको हो ।
इजरायल र अमेरिकाले विगत दुई वर्षदेखि ‘साइट–९९’ नामको स्थललाई नजिकबाट नियालिरहेका थिए । असद सरकारले अल–किबार आणविक रियाक्टर परियोजनासँग सम्बन्धित आणविक सामग्री त्यहाँ भण्डारण गरेको दुई जना इजरायली अधिकारीले एक्सियोसलाई बताएका छन् ।
मंगलबार ग्रोसीसँगको पत्रकार सम्मेलनमा सिरियाली विदेशमन्त्री असाद अल शैबानीले जुलाई १७ मा आईएईएलाई पत्र पठाएर उक्त आणविक सामग्रीबारे जानकारी दिएका थिए । सिरियाली सरकारले राष्ट्रसंघका निरीक्षकहरूलाई सो स्थलको भ्रमण गर्न निमन्त्रणा दिएको थियो ।
ग्रोसीले आईएईएका निरीक्षकहरूले देर एज–जोरमा रहेको अल–किबार आणविक रियाक्टर स्थलको भ्रमण गरेको बताए । उनले आईएईएसँगको समन्वयमा त्यहाँ उत्खनन कार्य भइरहेको देखेको जानकारी दिए ।
ग्रोसी र उनको टोलीले दमास्कसबाहिर रहेको एउटा घोषित नगरिएको स्थलको पनि भ्रमण गरेका थिए । त्यहाँ केही टन प्राकृतिक युरेनियम धातु भण्डारण गरिएको भेटिएको छ ।
हामीले सिरियाली सरकारसँग घोषित नगरिएका सामग्रीको प्रमाणीकरण गर्ने र एजेन्सीको नियमित सेफगार्ड अन्तर्गत राख्ने सहमति गरेका छौँ,’ निरीक्षणपछि ग्रोसीले भने ।
उनले राष्ट्रसंघका निरीक्षकहरूले आणविक सामग्रीको पूर्ण सूची तयार गर्न बाँकी नै रहेको बताए ।
सिरियाली विदेशमन्त्री अल शैबानीले प्रमाणीकरण कार्य जारी रहँदा आणविक सामग्रीलाई आईएईए सेफगार्डको निगरानीमा राखिने बताएका छन् । उनले सिरियाली सरकारले आफ्नो भूभागमा रहेका सबै आणविक सामग्रीमा सार्वभौम जिम्मेवारी अभ्यास गर्ने बताए ।
(एक्सियोसको सहयोगमा)
प्रतिक्रिया 4