News Summary
Generated by OK AI. Editorially reviewed.- मेकअप सामग्री लामो समय टिकाउन घाम, गर्मी र साझा प्रयोगबाट जोगाउन तथा ब्रस र स्पन्ज नियमित सफा गर्नुपर्छ।
महँगो मेकअप सामग्री भाँचिनु, सुक्नु वा छालासँग नमिल्नु धेरै महिलाले भोग्ने आम समस्या हो । मेकअपका सामग्री सस्तो नहुने भएकाले एउटा उत्पादन बिग्रियो भने फेरि नयाँ किन्नुपर्दा बजेटमा पनि असर पर्छ । तर धेरै अवस्थामा मेकअप सामग्री पूर्णरूपमा बिग्रिएको हुँदैन, केवल यसको बनावट परिवर्तन भएको हुन्छ । सही तरिकाले प्रयोग गर्न जानेमा यस्ता सामग्रीलाई पुनः उपयोग गर्न सकिन्छ ।
यद्यपि, कुनै पनि मेकअप सामग्रीको म्याद सकिएको, दुर्गन्ध आएको, रङ वा बनावट असामान्य रूपमा परिवर्तन भएको छ वा आँखा तथा छाला पोल्ने भयो भने त्यसलाई पुनः प्रयोग गर्नु हुँदैन । विशेषगरी आँखामा प्रयोग हुने मस्कारा, आइलाइनर र लिक्विड उत्पादनको प्रयोगमा अतिरिक्त सावधानी अपनाउनुपर्छ ।
यदि मेकअप सामग्री केवल भाँचिएको, अलिकति सुक्न थालेको वा रङ नमिलेको मात्र हो भने तलका यी १० स्मार्ट ह्याक्स निकै उपयोगी हुन सक्छन्।
१. भाँचिएको लिपस्टिकबाट बनाउनुहोस् क्रिम ब्लस
भाँचिएको वा सकिन लागेको लिपस्टिकलाई सानो कन्टेनरमा राखेर त्यसमा २–३ थोपा फेस सिरम वा मोइस्चराइजर मिसाउने । यसबाट प्राकृतिक देखिने क्रिम ब्लस तयार हुन्छ, जसले गालामा स्वस्थ र हाइड्रेटेड चमक दिन्छ ।
२. सुकेको कन्सिलरबाट बनाउनुहोस् स्किन टिन्ट
सुकेको कन्सिलरमा केही थोपा एलोभेरा जेल वा मोइस्चराइजर मिसाएर राम्रोसँग घोल्ने । यसलाई राम्ररी घोलीसकेपछि हल्का स्किन टिन्ट तयार हुन्छ, जुन दैनिक अफिस, कलेज वा सामान्य कार्यक्रममा प्रयोग गर्न उपयुक्त हुन्छ ।
३. सुकेको मस्कारालाई फेरि प्रयोगयोग्य बनाउन सकिन्छ
मस्कारामा २–३ थोपा कन्ट्याक्ट लेन्स सोलुसन वा स्टेराइल आई ड्रप्स हालेर ट्युबलाई हातको बीचमा केहीबेर घोट्नुहोस् । यसो गर्दा मस्कारा फेरि सहज रूपमा लगाउन मिल्छ । म्याद सकिएको वा आँखामा संक्रमण गराउन सक्ने मस्कारालाई भने प्रयोग गर्नु हुँदैन ।
४. फुटेको आइस्याडोबाट नयाँ नेलपोलिस
फुटेको आइस्याडोलाई पिसेर क्लियर नेलपोलिसमा मिसाउने । यसरी घरमै आफ्नै मनपर्ने रङको ग्लिटर वा म्याट नेलपोलिस बनाउन सकिन्छ ।
५. भ्यासलिन र लिपस्टिकबाट टिन्टेड लिप बाम
थोरै भ्यासलिनमा लिपस्टिकको सानो भाग मिसाएर टिन्टेढ लिप बाम तयार गर्न सकिन्छ । जसले ओठ नरम राख्दै हल्का प्राकृतिक रङ पनि दिन्छ ।
६. नमिलेको फाउन्डेसनलाई सही बनाउने उपाय
फाउन्डेसन धेरै गाढा वा फिका भए त्यसमा मोइस्चराइजर वा अर्को शेडको फाउन्डेसन मिसाएर प्रयोग गर्न सकिन्छ । यसरी गाढा वा फिका भएको फान्डेसनमा अर्को शेडको फाउन्डेसन मिसाउँदा छालाको रङसँग मिल्ने नयाँ शेड तयार हुन्छ र नयाँ फाउन्डेसन किन्नुपर्दैन ।
७. फुटेको कम्प्याक्ट वा फेस पाउडर फेरि प्रयोग
यदि कम्प्याक्ट पाउडर फुटेको छ भने त्यसलाई राम्रोसँग पिसेर केही थोपा रबिङ अल्कोहल मिसाउने । त्यसपछि चम्चाको पछाडिको भागले थिचेर सम्याउनुहोस् र केही घण्टा सुक्न दिने । यस्तो गर्दा पाउडर पुनः पहिलेजस्तै सेट हुन्छ र सजिलै प्रयोग गर्न सकिन्छ ।
८. सुक्न लागेको जेल आइलाइनरलाई नरम बनाउने उपाय
जेल आइलाइनरको डिब्बीलाई केही मिनेट तातो पानी भएको बाउलमा राख्ने वा त्यसमा एक थोपा मेकअप मिक्सिङ मिडियम मिसाउने । यसरी आइलाइनर फेरि नरम बन्छ र लगाउन सजिलो हुन्छ ।
९. बाँकी रहेको फेस सिरमलाई मेकअप प्राइमरका रूपमा प्रयोग गर्ने
फेस सिरमको बोतल लगभग सकिएको भए त्यसमा रहेको बाँकी सिरम निकालेर मेकअप गर्नुअघि अनुहारमा लगाउन सकिन्छ । यसले छाला मुलायम बन्छ, मेकअप लामो समय टिक्छ र फाउन्डेसन राम्रोसँग ब्लेन्ड हुन्छ ।
१०. बाँकी रहेको मेकअप रिमुभरले ब्रस सफा गर्ने
मेकअप रिमुभरको बोतलमा अलिकति मात्र उत्पादन बाँकी छ भने त्यसलाई ब्रस वा मेकअप स्पन्ज सफा गर्न प्रयोग गर्न सकिन्छ । यसले मेकअप ब्रसमा जमेको फाउन्डेसन, ब्लस र आईस्याडो हट्छ, ब्याक्टेरिया कम हुन्छ र ब्रसको आयु पनि बढ्छ ।
मेकअप सामग्री लामो समय टिकाउन अपनाउनुपर्ने केही उपाय
–मेकअप सामग्रीलाई प्रत्यक्ष घाम र अत्यधिक गर्मीबाट टाढा राख्ने ।
–प्रयोगपछि ढक्कन राम्रोसँग बन्द गर्ने ।
–मस्कारा वा लिक्विड उत्पादनमा बारम्बार हावा पस्ने गरी ब्रस भित्र–बाहिर नगर्ने ।
–मेकअप ब्रस र स्पन्ज हप्तामा कम्तीमा एकपटक सफा गर्ने ।
–मेकअप सामग्री कसैसँग साझा नगर्ने विशेषगरी आँखा र ओठमा प्रयोग हुने उत्पादन ।
थोरै सिर्जनशीलता, सही जानकारी र यी स्मार्ट मेकअप ह्याक्स अपनाएर आफ्नो मनपर्ने मेकअप सामग्रीलाई लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ । यसले अनावश्यक खर्च कम गर्नुका साथै वातावरणमैत्री जीवनशैली अपनाउन पनि सहयोग पुर्याउँछ । त्यसैले अर्को पटक कुनै मेकअप सामग्री भाँचियो, सुक्यो वा छालासँग नमिल्यो भने तुरुन्तै फालिहाल्नुको सट्टा यी सजिला उपायहरू एकपटक अवश्य अपनाएर पुनप्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया 4