+
+
Shares
रास्वपा बैठक ब्रिफिङ :

मन्त्री र सांसदलाई रविको निर्देशन- अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस्

राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गर्दिन्छु

सभापति लामिछानेले मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था बनेकाले अब कार्यशैली फेर्न निर्देशन दिएका छन् । उनले कार्यशैली फेर्ने तर मन्त्री चाहिँ नबदल्ने आश्वासन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले सांसद र मन्त्रीलाई मर्यादित व्यवहार, समन्वय र पारदर्शितासहित काम गर्न बुधबार निर्देशन दिएका छन् ।
  • लामिछानेले मन्त्रीलाई लेख्ने प्रश्नको आफूलाई बोधार्थ दिन, रास्वपा पल्स एपमा गतिविधि अपडेट गर्न र प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिन भनेका छन् ।
  • बैठकले रास्वपा संघीय संसदीय दलको विधान संशोधन गर्न कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

३ भदौ, काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री बानेन्द्र शाह अनुपस्थित भएकाले बुधबार सांसद र मन्त्रीहरूसँग सभापतिको तर्फबाट रविले छलफल गरेका थिए । संसदीय दलमा भएका सबै उपस्थित बैठकमा लामिछाने  कडा निर्देशन दिएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सभापति लामिछानेले मन्त्रीहरूका काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था बनेकाले अब कार्यशैली फेर्न निर्देशन दिएका छन् । उनले कार्यशैली फेर्ने तर मन्त्री चाहिँ नबदल्ने आश्वासन दिए ।

पार्टीकै मन्त्रीहरूले सांसदका कुरा नसुनेको भन्दै संसद्मै असमझदारी सिर्जना भइरहेको छ । मन्त्री र सांसदहरूबीच सवाल जवाफ हुने अवस्था समेत रास्वपामा देखिएको छ । आजको बैठकमा यो कुरा पनि उठेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई लेख्ने प्रश्नको आफूलाई पनि बोधार्थ दिन निर्देश गरेका छन् ।

‘सभापतिलाई बोधार्थ दिएर मन्त्रीहरुलाई प्रश्न लेख्नुस् । म पनि अध्ययन गर्छु’ बैठकमा सभापति लामिछानेले भनेका थिए,’ सांसदहरूलाई जनताको प्रश्न छ। सांसदहरूको प्रश्न मन्त्रीलाई छ। सांसद, दल र सरकारबीचको समन्वय अझ प्रगाढ बनाऔं ।’

उनले सरकार जति शक्तिशाली छ त्यस्तै गरी इतिहासमै सबै प्रतिपक्षीहरू एक ठाउँमा उभिएको ख्याल गर्ने ध्यानाकर्षण गराए ।

उनले सांसदहरूका आचरण र मर्यादाहरूमाथि पनि प्रश्न गर्दै सदनको उपस्थिति लगायतका विषयमा समेत निर्देशन दिए । सांसदहरुले मर्यादाहीन ढंगले बोल्ने, संसद्को बैठक बंक गरेर हिँड्ने लगायतका गतिविधि हुन थालेपछि सभापति लामिछानेले त्यतातर्फ इंगित गर्दै उनीहरूलाई आचरणमा बस्न ध्यानाकर्षण गराए । उनले अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउन चेतावनी दिए ।

सदनमा नियमित हुनै पर्छ, संसद् नियमावली आफैं बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुन्न’ सभापति लामिछानेले बैठकमा भने,’अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ।’

राजनीतिक दल बन्न निश्चित समय लाग्ने उल्लेख गर्दै उनले अहिले भएको संरचनालाई राम्रो बनाएर लैजाने उनको धारणा थियो । उनले जे मन लाग्यो त्यही गर्ने र यही पाँच वर्षको लागि मात्र आएको जस्तो गर्ने हो भने त्यस्तालाई ठाउँ नहुने चेतावनी दिए ।

‘लगानी बिना बाटोमा पद भेटे जस्तो लाग्छ भने केही भन्न सकिन्नँ’ सभापति लामिछानेले भने,’राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाई गर्दिन्छु ।’

सांसद र मन्त्रीहरूले  आफ्ना गतिविधि पारदर्शी बनाउनु पर्ने उल्लेख गर्दै उनले संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउन निर्देशन दिए ।

‘आरएसपी पल्स’ एपमा गतिविधि अपडेट गर्नुपर्छ। सांसद र मन्त्रीहरूले आफ्ना काम तथा गतिविधिको विवरण नियमित रूपमा एपमा राख्नुपर्छ’ सभापति लामिछानेले भने ।

पार्टी भित्रै आपसी समन्वय र संवाद नभइरहेकोबारे आएको गुनासोलाई पनि उनले सम्बोधन गरे ।  ‘घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्नुपर्छ’ सभापति लामिछानेले बैठकमा भने,’सांसद र मन्त्रीबीच सहकार्य र समन्वय भए मात्रै सरकार प्रभावकारी हुन्छ। एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्नुस् ।

उनले संसदीय भूमिकामा मर्यादित र जिम्मेवार बन्न निर्देशन दिए । राख काम भन्दा पनि प्रचारमुखी गतिविधिमा लागेकोमा पनि सभापति लामिछानेले असन्तुष्टि व्यक्त गरे ।

‘संसद्मा कसरी प्रस्तुत हुने र आफ्नो भूमिकाअनुसार कसरी व्यवहार गर्ने भन्नेमा ध्यान दिनुपर्छ। जनताले परिणाम खोजेका छन्। प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुस्’ सभापति लामिछानेले भने,’अध्ययन र सिकाइमा ध्यान दिनुस् । सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने, सदनमा कसरी प्रस्तुत हुने, सरकार र जनतासँग कसरी प्रस्तुत हुनेबारे अध्ययन तथा विश्लेषण गर्नुपर्छ।’

उनले अबको बैठक संसदीय दलका नेतासहित बस्ने जानकारी पनि बैठकमा गराएका थिए ।

बैठकले रास्वपा संघीय संसदीय दलको विधान सामयिक संशोधन गर्न कार्यदल कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की रहेको कार्यदल गठन गरेको छ ।

बैठकपछि बाहिर आएर पनि सभापति लामिछानेले  धेरै सांसदहरू भएको ठूलो राजनीतिक दलभित्र कुनै विषय बोल्दा कतिपय विषय चिल्पन सक्ला, केही हुनसक्दा भनेर मात्रै यो छलफल भएको बताए ।

‘हामी धेरै छौं, धेरैले धेरै कुरा गर्दा एक दुई जना साथीहरू बोल्दा केही विषय विवादमा पर्छ, त्यसलाई हामी सम्हाल्छौं’ सभापति लामिछानेले भने ।

संसद्मा प्रस्तुत हुने विषयबारे आम नागरिकबाट पनि प्रश्न आएको र पार्टी पंक्तिमा पनि कुरा आएकाले मन्त्री लगायतका विषयमा केही छन् कि भनेर छलफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?