+

बेपत्ता भनिएका पूर्व स्वर्ण विजेता जब यौन दुर्व्यवहारको कसुरमा जेलमा भेटिए

२०८३ भदौ  ४ गते ७:३८ २०८३ भदौ ४ गते ७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इङ्ल्यान्डका पूर्व कमनवेल्थ स्वर्ण पदक विजेता तथा प्रशिक्षक लिओन बाप्टिस्ट मोरक्कोको जेलमा आठ महिनाको कैद सजाय भोगिरहेको खुलेको छ ।
  • मोरक्कोका न्याय अधिकारीले बाप्टिस्टलाई नाबालिगमाथि यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गरी सुरुमा १० महिनाको सजाय सुनाएको र पुनरावेदनपछि आठ महिना कायम गरिएको पुष्टि गरेका छन् ।
  • बाप्टिस्टको तीन महिनाको अनुपस्थितिले बेलायती स्प्रिन्टरहरूको प्रशिक्षण प्रभावित भएको र ब्रिटेनको विदेश मन्त्रालयले उनलाई मोरक्कोमा हिरासतमा रहेको पुष्टि गरेको छ ।

४ भदौ, काठमाडौं । इंग्ल्यान्डका पूर्व कमनवेल्थ स्वर्ण पदक विजेता तथा एथलेटिक्स प्रशिक्षक लिओन बाप्टिस्ट बेपत्ता नभई मोरक्कोको जेलमा कैद सजाय भोगिरहेको खुलासा भएको छ ।

मोरक्कोका न्याय अधिकारीले उनी नाबालिगमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर भई आठ महिनाको जेल सजाय काटिरहेको पुष्टि गरेका छन् ।

४१ वर्षीय बाप्टिस्ट पछिल्लो तीन महिनादेखि सम्पर्कविहीन भएपछि बेलायती सञ्चारमाध्यमले उनलाई ‘मोरक्कोमा बेपत्ता’ भएको भन्दै समाचार प्रकाशित गरेका थिए ।

तर बीबीसी स्पोर्ट्सले गरेको अनुसन्धानपछि उनी मे महिनामै माराकेशमा पक्राउ परेको र अहिले अल–ओडाया कारागारमा रहेको तथ्य बाहिरिएको हो ।

मोरक्कोको सरकारी अभियोजन कार्यालयका अनुसार बाप्टिस्टलाई सुरुमा १० महिनाको कैद सुनाइएको थियो । पछि पुनरावेदन अदालतले सजाय घटाएर आठ महिना कायम गरेको थियो । मोरक्कोको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई नाबालिग मानिन्छ ।

बाप्टिस्टले मे महिनामा आफूले प्रशिक्षण दिइरहेका बेलायती धावकहरूलाई ‘केही समय प्रशिक्षणमा उपस्थित हुन नसक्ने’ छोटो सन्देश पठाएका थिए । त्यसपछि उनी किन अनुपस्थित भए भन्नेबारे न खेलाडीलाई जानकारी दिइयो, न त यूके एथलेटिक्सले कुनै कारण सार्वजनिक गरेको थियो ।

यसै सातामात्र उनले स्वास्थ्य समस्या उल्लेख गर्दै प्रशिक्षक पदबाट राजीनामा दिएको कुरा सार्वजनिक भएको थियो ।

उनको अनुपस्थितिले राष्ट्रमण्डल खेलकुद र युरोपियन च्याम्पियनसिपको तयारी गरिरहेका बेलायती स्प्रिन्टरहरूको प्रशिक्षण प्रभावित भएको थियो । ओलम्पिक कांस्य पदक विजेता चार्ली डब्सन र पारालम्पिक रजत पदक विजेता ज्याक शालगायत खेलाडीले निर्धारित प्रशिक्षक गुमाएपछि एडम जेमिली र मार्टिन रुनीले अस्थायी रूपमा प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।

सन् २०१० राष्ट्रमण्डल खेलकुदमा २०० मिटरको स्वर्ण जितेका बाप्टिस्ट पछिल्ला वर्षहरूमा बेलायती स्प्रिन्ट खेलाडीका प्रमुख प्रशिक्षकमध्ये एक मानिन्थे ।

ब्रिटेनको विदेश मन्त्रालयले पनि उनी मोरक्कोमा हिरासतमा रहेको पुष्टि गर्दै आवश्यक कूटनीतिक सहयोग गरिरहेको जनाएको छ ।

-बीबीसीबाट

यौन दुर्व्यवहार लिओन बाप्टिस्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय