News Summary
Generated by OK AI. Editorially reviewed.- इटालीले आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बी मा १५ खेलमा १२ जितसहित च्याम्पियन बनेर २०२७ विश्वकप छनोटको क्वालिफायर प्लेअफमा स्थान बनाएको छ।
- टी–२० विश्वकपमा पहिलोपटक सहभागी इटालीले नेपाललाई १० विकेटले हराएर पहिलो विश्वकप जित दर्ता गरेको थियो।
- इटालीमा सन् १७९३ देखि क्रिकेटको इतिहास रहे पनि २०२४ मा मात्रै इटालियन क्रिकेट फेडरेसनलाई राष्ट्रिय खेल महासंघको मान्यता प्राप्त भएको छ।
३ भदौ, काठमाडौं । फुटबलको पर्यायजस्तै मानिने इटाली क्रिकेटमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थालेको कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ ।
केही वर्षअघिसम्म अन्तर्राष्ट्रिय क्रिकेटको तल्लो तहमा संघर्ष गरिरहेको इटालीले विश्व क्रिकेटमा आफूलाई स्थापित गर्दै लैजाने क्रममा उत्कृष्टमाथि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढिरहेको छ ।
फुटबलमा बरु इटाली विश्वकप खेल्न संघर्ष गरिरहेको छ, तर यसबीचमा क्रिकेटमा पहिलो विश्वकप खेलिसकेको छ । यसले पनि देखाउँछ, इतिहास बदल्न धेरै समय लाग्दैन भन्ने कुरा ।
गत फेब्रुअरी मार्चमा भारतमा भएको टी-२० विश्वकपमा नेपाललाई १० विकेटले हराएर सनसनी मच्चाएको टोली अब एकदिवसीय क्रिकेटको अर्को खुड्किलो चढ्ने अवस्थामा पुगेको छ ।
इटालीले आईसीसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बीमा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको छ । यससँगै उसले २०२७ को एकदिवसीय विश्वकप छनोटको अर्को चरण अर्थात् क्वालिफायर प्लेअफमा स्थान बनाएको छ । इटालीसँगै युगान्डाले पनि प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
च्यालेन्ज लिग बी मा इटालीले १५ खेलमा १२ खेल जित्यो । सो क्रममा इटालीले लामो समयदेखि ओडीआई मान्यता पाउन संघर्ष गरिरहेको हङकङ अनि एसोसियटमा उकालो लाग्दै गरेको युगानन्डाजस्ता टोलीहरूलाई हरायो ।

योसँगै इटालीले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्ने अवसर पाउने पक्का भइसकेको छ । क्वालिफायर प्लेअफ आठ टोलीबीच हुनेछ र त्यहाँबाट शीर्ष चार टोली विश्वकप क्वालिफायरमा पुग्नेछन् ।
त्यही प्लेअफमार्फत् इटालीले कम्तीमा आगामी चार वर्षका लागि ओडीआई मान्यता पाउन सक्छ, र अहिले नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्ने अवसर समेत सिर्जना गर्न सक्छ ।
एक हिसाबले भन्नुपर्दा एक समय एसोसियट क्रिकेटमा नेपालको जति चर्चा हुने गर्थ्यो, अहिले त्यस्तै चर्चा इटालीको हुन थालेको छ ।
२३३ वर्ष पुरानो क्रिकेटको कथा
इटालीमा क्रिकेटको इतिहास भने अहिलेको सफलताभन्दा धेरै पुरानो छ । आईसीसीका अनुसार इटालीमा क्रिकेटको पहिलो रेकर्ड गरिएको खेल सन् १७९३ मै भएको थियो ।
नेपल्समा बेलायती एडमिरल होरेसियो नेल्सनले क्रिकेट खेल आयोजना गरेको उल्लेख छ । त्यसपछि १९औं शताब्दीको अन्त्यतिर जेनोआ, मिलान र टुरिनमा क्रिकेट क्लबहरू स्थापना भएका थिए ।
तर फासीवादको समयमा इटालीमा क्रिकेट लगभग हरायो । दोस्रो विश्वयुद्धपछि मात्र खेलले पुनः गति लिन थाल्यो । आधुनिक इटालियन क्रिकेटको औपचारिक आधार भने सन् १९८० मा एसोसिएजियोने इटालियाना क्रिकेट स्थापना भएपछि बनेको हो ।
इटाली सन् १९८४ मा आईसीसीको एफिलिएट सदस्य र १९९५ मा एसोसिएट सदस्य बनेको थियो ।
अर्थात्, अहिलेको इटालीको क्रिकेट सफलता कुनै रातारात बनेको कथा होइन । चार दशकभन्दा लामो संस्थागत यात्रापछि टोलीले विश्व क्रिकेटको ठूलो मञ्चमा पाइला राखेको हो ।
संरचनागत रूपमा पनि बलियो बन्दै
इटालीमा क्रिकेटको विकास पछिल्ला केही वर्षमा मैदानमा राष्ट्रिय टोलीले गरेको प्रदर्शनमा मात्र सीमित छैन । यससँगै देशभित्र क्रिकेटको संरचना नै विस्तार हुँदै गएको छ ।
विद्यालयदेखि क्लब, क्लबदेखि उच्च प्रदर्शन केन्द्र र राष्ट्रिय टोलीदेखि व्यावसायिक फ्रेन्चाइज क्रिकेटसम्मको संरचना विस्तार गर्ने प्रयाससँगै इटालीले एसोसिएट क्रिकेटमा आफ्नो छुट्टै आधार निर्माण गरिरहेको छ ।
ओलम्पिकमा क्रिकेटको पुनरागमनले इटालीमा पनि खेलको विकासका लागि नयाँ अवसर खोलिदिएको छ। राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यपछि क्रिकेटले सरकारी तथा संस्थागत सहयोग पाउने बाटो खुलेको छ भने खेलाडीको उच्चस्तरीय प्रशिक्षण र पूर्वाधार विकासमा समेत लगानी बढेको छ ।
इटालीमा अहिले १०० भन्दा बढी क्लब घरेलु क्रिकेट संरचनामा सक्रिय छन् । विद्यालय तथा युवा तहमा क्रिकेटको पहुँच बढाउने प्रयास पनि भइरहेको छ ।
शारीरिक शिक्षा शिक्षकलाई क्रिकेट प्रशिक्षकका रूपमा तयार पार्ने, विद्यालयस्तरमा कार्यक्रम विस्तार गर्ने र नयाँ खेलाडी उत्पादन गर्ने योजनालाई संघले प्राथमिकतामा राखेको छ ।
टी–२० विश्वकपसम्मको यात्रा
इटालीले २०२६ को टी–२० विश्वकपमा पुग्न पनि लामो बाटो तय गरेको थियो । सन् २०२४ मा घरेलु मैदानमा भएको युरोप सब–रिजनल छनोटमा टोलीले अपराजित रहँदै रोमानियालाई फाइनलमा १६० रनले हराएको थियो । त्यस खेलमा जो बर्न्सले ५५ बलमा अविजित १०८ रन बनाएका थिए र इटालीले २० ओभरमा २४४ रन बनाएको थियो ।
तर त्यसबेला युरोप छनोटको अन्तिम प्रतियोगितामा शीर्ष २ मा अटाउन नसक्दा इटाली विश्वकपमा छनोट हुन असफल रह्यो । त्यसबेला इटाली स्कटल्यान्ड र आयरल्यान्डसँग पराजित भएको थियो र तेस्रो स्थानमा रहेर टी-२० विश्वकपमा छनोट हुन सकेन ।
तर, त्यसपछि २०२५ को युरोप क्षेत्रीय छनोटमा पनि इटालीले दबाबपूर्ण परिस्थितिबीच दोस्रो स्थान हासिल गर्दै पहिलोपटक विश्वकपमा स्थान बनायो । अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नौ विकेटले पराजित भए पनि राम्रो नेट रनरेटका कारण इटालीले जर्सीलाई पछि पार्दै विश्वकपको टिकट काटेको थियो ।

त्यसबेला इटालीले एसोसियटको बलियो टोली स्कटल्यान्डलाई हराउँदै टी-२० विश्वकपमा छनोट हुनबाट रोकेको थियो । पछि बंगलादेश सहभागी नभएकाले स्कटल्यान्डले विश्वकपमा ‘वाइल्डकार्ड इन्ट्री’ पाएको थियो ।
यसरी इटालीले पहिलोपटक कुनै पनि आईसीसी विश्वकपमा सहभागिता जनायो । २०२६ को विश्वकपमा उसको समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र नेपाल थिए ।
नेपाललाई हराएको मात्र नभएर इटालीले इंग्ल्यान्डसँगको खेलमा पनि राम्रो चुनौती प्रस्तुत गरेको थियो ।
नेपालमाथिको त्यो १० विकेटको जित
इटालीको पछिल्लो यात्रालाई चर्चा गर्दा नेपालविरुद्धको खेल छुटाउनै मिल्दैन । २०२६ को टी–२० विश्वकपमा पहिलोपटक सहभागी इटालीले मुम्बईको वानखेडे स्टेडियममा नेपाललाई १० विकेटले हराउँदै विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको थियो ।
नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउँदा इटालीले कुनै विकेट नगुमाई १२.४ ओभरमै खेल जितेको थियो । जस्टिन मोस्काले ६० र एन्थोनी मोस्काले ६२ रन बनाउँदै १२४ रनको अविजित साझेदारी गरेका थिए ।

बलिङतर्फ बेन्जामिन मानेन्तीले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिएका थिए भने क्रिशान कालुगामागेले ३ विकेट लिए ।
त्यो जित इटालीका लागि केवल दुई अंकको खेल थिएन । पहिलो विश्वकपमै विश्व क्रिकेटको ध्यान तान्ने क्षण थियो ।
ठीक यस्तै जित नेपालले १२ वर्षअघि दर्ता गरेको थियो जतिबेला नेपालले टी-२० विश्वकपको पहिलो सहभागितामै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।
अब लक्ष्य ओडीआईको
टी–२० विश्वकपमा स्थान बनाएर मात्र इटालीको यात्रा रोकिएको छैन । टोली अहिले ५० ओभरको क्रिकेटमा पनि माथि उक्लिने अवस्थामा पुगेको छ ।
आईसीसीको तेस्रो श्रेणीको लिग माने क्रिकेट विश्वकप च्यालेन्ज लिग बीको पछिल्लो चरणमा इटाली र युगान्डाले शीर्ष दुई स्थान सुरक्षित गर्दै २०२७ एकदिवसीय विश्वकप छनोटको क्वालिफायर प्लेअफमा स्थान बनाएका छन् । च्यालेन्ज लिगमा इटालीले पछिल्लो चक्रको तुलनामा उल्लेखनीय सुधार गरेको छ, जुन कुरा इटालीको च्याम्पियन शैलीबाट पनि प्रमाणित हुन्छ । ।
यसअघि २०१९–२२ को च्यालेन्ज लिगमा इटाली नवौं स्थानमा रहेको थियो । त्यही कमजोर प्रदर्शनका कारण टोलीले पुनः च्यालेन्ज लिग प्लेअफबाट आफ्नो स्थान जोगाउनुपरेको थियो । तर २०२४–२६ चक्रमा भने टोली शीर्ष दुईमै पुगेर च्याम्पियन नै बनेर अर्को ठूलो फड्को मार्न सफल भएको छ ।

क्वालिफायर प्लेअफमा च्यालेन्ज लिग ए र बीका शीर्ष दुई–दुई टोली तथा विश्वकप लिग–२ का तल्लो चार टोली सहभागी हुनेछन् । त्यसबाट शीर्ष चार टोली विश्वकप क्वालिफायरमा पुग्नेछन् ।
त्यसैले इटालीका लागि अबको लक्ष्य केवल ओडीआई खेल्ने होइन, विश्वकप छनोटको अन्तिम चरणसम्म पुग्ने र एसोसिएट क्रिकेटको माथिल्लो तहमा उक्लिने हो ।
इटाली क्रिकेटले भनेको छ, ‘यो छनोट महत्वपूर्ण उपलब्धि भए पनि नयाँ सुरुवातको बिन्दु हो। आगामी चुनौती सामना गर्न गम्भीरता, एकता र दृढताका साथ काम गर्दै समग्र क्रिकेटको विकासलाई थप अघि बढाउने लक्ष्य रहेको छ ।’
मानेन्ती ब्रदर्स : अस्ट्रेलियाबाट इटालीसम्म
इटालीको वर्तमान टोलीको सबैभन्दा रोचक पक्षमध्ये एउटा हो- टोलीको अन्तर्राष्ट्रिय संरचना । २०२६ को विश्वकप टोलीमा इटालीमा जन्मिएका खेलाडी एक जना पनि थिएनन् । टोलीमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड, भारत, श्रीलंका र पाकिस्तानलगायत पृष्ठभूमिका खेलाडी थिए ।
त्यसमध्ये अस्ट्रेलियामा हुर्किएका बेन र ह्यारी मानेन्ती दाजुभाइ इटालीको उदयका महत्वपूर्ण पात्र बनेका छन् ।
इटालियन मूलका बाबुबाट नागरिकताको आधार पाएपछि दुवै दाजुभाइले इटालीबाट खेल्ने अवसर पाए । बेन मानेन्तीले दक्षिण अस्ट्रेलिया र सिड्नी सिक्सर्सजस्ता टोलीबाट अस्ट्रेलियाको घरेलु क्रिकेट खेलेका छन् ।

ह्यारीले पनि दक्षिण अस्ट्रेलियाको क्रिकेट संरचनामा स्थान बनाएका छन् र एडिलेड स्ट्राइकर्सबाट बिग ब्यास लिग खेलेका छन् ।
नेपालविरुद्धको विश्वकप खेलमा बेनले ४ ओभरमा ९ रन खर्चेर दुई विकेट लिए । अर्कोतर्फ मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले ब्याटिङमा १२४ रनको अविजित साझेदारी गर्दै इटालीलाई ऐतिहासिक जित दिलाएका थिए ।
फरक देशबाट जुटेर एउटै सपना
इटालीको टोली हेर्दा एउटा विशेषता प्रस्ट देखिन्छ—यो एउटै देशमा जन्मिएका खेलाडीको टोलीभन्दा पनि विभिन्न देश र क्रिकेट संस्कृतिबाट आएका खेलाडीलाई एउटै राष्ट्रिय पहिचानमा जोडिएको टोली हो ।
बेन मानेन्तीले इटालीको टोलीलाई ‘विश्वभरबाट आएका खेलाडीको सांस्कृतिक मिश्रण’का रूपमा व्याख्या गरेका थिए । उनको भनाइमा टोलीभित्र इटालियन भाषा बोल्ने, बुझ्ने र सिक्दै गरेका खेलाडी छन् ।
यो संरचना इटालीको कमजोरीभन्दा पनि अहिलेको सबैभन्दा ठूलो शक्ति बन्न थालेको छ । अस्ट्रेलियाको उच्चस्तरीय घरेलु क्रिकेट खेलेका खेलाडी, इंग्ल्यान्ड र दक्षिण अफ्रिकाको क्रिकेट पृष्ठभूमि भएका खेलाडी तथा विभिन्न एसोसिएट राष्ट्रबाट आएका प्रतिभालाई एउटै टोलीमा जोडेर इटालीले प्रतिस्पर्धात्मक संयोजन बनाएको छ ।

यति मात्र नभएर इटालीमा क्रिकेटको लोकप्रियता बढ्दै गएको छ । आधुनिक क्रिकेटलाई विद्यालय र विकास कार्यक्रमसँग जोड्ने प्रयास पनि जारी छ । आईसीसीले इटालीको क्रिकेट विकासमा विद्यालय, प्रशिक्षक तथा खेल पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरेको छ ।
सन् २०२४ मा इटालियन क्रिकेट फेडरेसनलाई इटालीको राष्ट्रिय खेल महासंघका रूपमा औपचारिक मान्यता प्राप्त हुनु पनि महत्वपूर्ण उपलब्धि हो । इटालियन ओलम्पिक कमिटीले त्यस वर्ष फेडरेसनलाई राष्ट्रिय खेल महासंघका रूपमा मान्यता दिएको थियो ।
क्रिकेट २०२८ को लस एन्जलस ओलम्पिकमा टी–२० प्रारूपमार्फत पुनः ओलम्पिक खेल बन्ने भएकाले इटालीका लागि यो संरचनागत प्रगति थप महत्वपूर्ण बनेको छ ।
नेपालजस्तै एसोसिएटबाट माथि उठ्ने कथा
इटालीको पछिल्लो यात्रा नेपालका लागि पनि परिचित लाग्न सक्छ । केही वर्षअघिसम्म नेपालले पनि एसोसिएट क्रिकेटको तल्लो तहबाट क्रमशः माथि उठ्दै विश्वकप, ओडीआई मान्यता र ठूला राष्ट्रसँग खेल्ने बाटो बनाएको थियो ।
नेपालले भारत, पाकिस्तान, इंग्ल्यान्ड, वेस्ट इन्डिज, श्रीलंकाजस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । अहिले त्यही किसिमको सपना इटालीले बोकेको छ ।
फरक यति हो, नेपालले क्रिकेटलाई आफ्नो परम्परागत खेलको रूपमा हुर्काउँदै अन्तर्राष्ट्रिय पहिचान बनायो भने इटालीले फुटबलको छायामा रहेको क्रिकेटलाई नयाँ पुस्ता, आप्रवासी समुदाय र इटालियन मूल भएका विदेशमा हुर्किएका खेलाडीको संयोजनबाट अगाडि बढाइरहेको छ ।
र अर्को महत्त्वपूर्ण कुरा के छ भने इटालीको यात्रा यहीँ रोकिएको छैन । अब हुने विश्वकप छनोट प्लेअफमार्फत् इटालीले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन सक्छ र विश्वकपकै यात्रा समेत तय गर्न सक्ने क्षमता देखाएको छ ।
ओडीआई मान्यता प्राप्त गरेर एकदिवसीय विश्वकपमा समेत छनोट भएमा यो एसोसियट क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्येको एक हुनेछ ।
***
फुटबलमा इटालीको राष्ट्रिय टोलीलाई ‘अज्जुरी’ भनेर चिनिन्छ । क्रिकेटमा पनि नीलो जर्सीमा देखिन थालेको यही टोलीले अब विश्व क्रिकेटमा आफ्नो छुट्टै कथा लेख्न थालेको छ ।
२०२६ को टी–२० विश्वकपमा पहिलोपटक सहभागी हुनु, नेपाललाई १० विकेटले हराउनु र त्यसपछि ५० ओभरको विश्वकप छनोटमा क्वालिफायर प्लेअफसम्म पुग्नु- यी उपलब्धि इटालीको क्रिकेटका लागि केही वर्षमै आएको असाधारण परिवर्तनका प्रमाण हुन् ।
अब अगाडि एउटा अझ ठूलो अवसर छ । यदि क्वालिफायर प्लेअफमा इटालीले शीर्ष चारमध्ये स्थान बनाउन सक्यो भने विश्वकप क्वालिफायर खेल्नेछ । अझ त्यो यात्राले उसलाई एकदिवसीय क्रिकेटको आधिकारिक सदस्यताको ढोकासमेत खोल्नेछ ।
फुटबलमा विश्वकप जितिसकेको देशका लागि क्रिकेट विश्वकपमा पुग्नु आफैंमा एउटा असाधारण कथा हो । तर इटालीको क्रिकेट अहिले त्यही कथाको सुरुवाती अध्यायभन्दा धेरै अगाडि पुगिसकेको छ ।
प्रतिक्रिया 4