News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ १३ गते तारकेश्वरको लोलाङस्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा हुने भएको छ।
- विजेताले हङकङ वा भारतमा हुने एसिया अटो–जिमखाना च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउनेछन्, र उत्कृष्ट दुई चालकलाई ७५ हजार रुपैयाँ नगद पुरस्कारसहित सहयोग दिइनेछ।
- प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ तोकिएको छ, र आगामी शुक्रबारसम्म दर्ता खुला रहने आयोजकले जनाएको छ।
३ भदौ, काठमाडौं । बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण आगामी भदौ १३ गते (अगस्ट २९) आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा गत वर्षदेखि सुरु भएको प्रतियोगिता यसपटक तारकेश्वरको लोलाङस्थित अक्सफोर्ड ड्राइभिङ ट्रेनिङ सेन्टरमा हुनेछ ।
एक्सट्रिम इनर्जीको मुख्य प्रायोजन तथा लिक्वी मोली लुब्रिकेन्ट्सको प्रायोजनमा हुने प्रिक्सका विजेताले हङकङ वा भारतमा आयोजना हुने एसिया अटो–जिमखाना च्याम्पियनसिप (एएजीसी) मा सहभागी हुने अवसर पाउनेछन् ।
उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल ७५ हजार रुपैयाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषद्बाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ ।
प्रिक्सको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको छ । विजेतालाई ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
पहिलो संस्करणका विजेता आशीष भारतीले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै नेपाली मोटरस्पोर्ट्समा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेका छन् । यसपटकको प्रतियोगितालाई पनि नेपाली चालकलाई अन्तर्राष्ट्रिय मञ्चतर्फ लैजाने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रतियोगितामा सहभागी सबै चालकको खेल बीमा गरिनेछ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले रेसिङ सुट तथा प्राविधिक प्रशिक्षण उपलब्ध गराउनेछ । नौ हजार ९९९ रुपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगितामा जुनसुकै सीसीका कारमार्फत सहभागी हुन पाइनेछ ।
कम्तीमा १० महिला खेलाडीको दर्ता भए महिलाका लागि छुट्टै स्पर्धा आयोजना गरिने आयोजकले जनाएको छ । नासा नेपालको रेसिङ लाइसेन्स भएका चालकले सिधै सहभागी हुन पाउनेछन् भने लाइसेन्स नभएका तर आवश्यक प्रक्रिया पूरा गरेका चालकका लागि एकदिने लाइसेन्सिङ कोर्स निःशुल्क सञ्चालन गरिनेछ ।
लाइसेन्स नभएका वा निलम्बित लाइसेन्स भएका चालकले भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।
प्रतियोगितामा सहभागी हुन चालक कुनै संघसंस्था वा कर्पोरेट क्षेत्रसँग आबद्ध हुनुपर्नेछ । कलात्मक रूपमा डिजाइन गरिएको छोटो ट्र्याकमा हुने जिमखाना स्पिड, प्राविधिक दक्षता र कलात्मक ड्राइभिङको संयोजनका रूपमा खेलिने प्रतियोगिता हो ।
चालकको दक्षता, गाडीको अवस्था, चालकको नियन्त्रण, अनुशासन र ट्र्याक नेभिगेसन प्रतियोगितामा सफलताका मुख्य आधार मानिन्छन् । नासा नेपालले दक्ष मार्सल, समय मापन प्रणाली तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।
प्रतियोगिता व्यवस्थापनका लागि यदुराज लामिछाने, आशीष रौनियार र अंकित भण्डारी सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलले प्रतियोगितासँगै यस वर्षका अन्तर्राष्ट्रिय सहभागिताको व्यवस्थापनसमेत गर्नेछ ।
प्रतियोगिताका लागि आगामी शुक्रबारसम्म दर्ता खुला रहने आयोजकले जनाएको छ । बागमती अटो जिमखाना प्रिक्स नासा नेपालको वार्षिक क्यालेन्डरअन्तर्गत आयोजना हुने मोटरस्पोर्ट्स प्रतियोगिता हो ।
प्रतिक्रिया 4