News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्ल्यान्डका ह्यारी ब्रुक आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा चौथोपटक फर्किएका छन्।
- बंगलादेशविरुद्ध पहिलो टेस्टमा कमजोर प्रदर्शनपछि अस्ट्रेलियाका ट्राभिस हेड तल झरेका छन्, जबकि स्टिभ स्मिथ तेस्रो स्थानमा उक्लिएका छन्।
- बंगलादेशका नजमुल हुसैन शान्तोले ८४ रन बनाएर करिअरकै उत्कृष्ट टेस्ट वरीयता २०औँ स्थान हासिल गरेका छन्।
३ भदौ, काठमाडौं । इंग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक फेरि आईसीसी टेस्ट ब्याटिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । अस्ट्रेलियाका ट्राभिस हेड बंगलादेशविरुद्धको पहिलो टेस्टमा कमजोर प्रदर्शन गरेपछि तल झरेसँगै ब्रुकले चौथोपटक नम्बर एक स्थान हासिल गरेका हुन् ।
ब्रूकले पहिलोपटक सन् २०२४ को डिसेम्बरमा टेस्ट वरीयताको शीर्ष स्थान कब्जा गरेका थिए । पछिल्लो वरीयतामा जो रुट र स्टिभ स्मिथले पनि हेडलाई पछि पारेका छन् । बंगलादेशविरुद्ध डार्विनमा भएको पहिलो टेस्टमा हेडले २२ र १७ रन मात्र बनाउन सकेका थिए ।
स्मिथले भने पहिलो इनिङमा ७१ र दोस्रो इनिङमा ४४ रन बनाएपछि एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुगेका छन् ।
बंगलादेशका कप्तान नजमुल हुसैन शान्तोले करिअरकै उत्कृष्ट वरीयता हासिल गरेका छन् । पहिलो टेस्टको एक मात्र इनिङमा ८४ रन बनाएपछि उनी नौ स्थान माथि उक्लिँदै २०औँ स्थानमा पुगेका छन्। उनको ६५९ रेटिङ अंक बंगलादेशी ब्याटरमध्ये छैटौँ उच्च हो ।
अस्ट्रेलियाका क्यामरन ग्रीन पनि दोस्रो इनिङमा शतक बनाएपछि पाँच स्थान सुधार गर्दै ३०औँ स्थानमा पुगेका छन् । बंगलादेशका मोमिनुल हक ३१औँ, शादमान इस्लाम ५८औँ, मेहदी हसन मिराज ५९औँ तथा तान्जिद हसन ८८औँ स्थानमा पुगेका छन् ।
बलिङतर्फ बंगलादेशका हसन महमुदले ठूलो छलाङ मारेका छन् । पहिलो इनिङमा ५५ रन दिएर ६ विकेट लिएपछि उनी २६ स्थान सुधार गर्दै ३८औँ स्थानमा पुगेका छन् । मेहदी हसनले दोस्रो इनिङमा ५ विकेट लिएपछि तीन स्थान सुधार गर्दै २४औँ स्थानमा पुगेका छन् ।
यसैबीच, एकदिवसीय ब्याटिङ वरीयतामा अफगानिस्तानका सेडिकुल्लाह अटलले ठूलो फड्को मारेका छन् । आयरल्यान्डविरुद्धको पाँच खेलको सिरिजका पछिल्ला दुई खेलमा १४३ र ९८ रन बनाएपछि उनी ३७ स्थान माथि उक्लिँदै ३३औं स्थानमा पुगेका छन् ।
आयरल्यान्डका कर्टिस क्याम्फर पनि २३ स्थान सुधार गर्दै ३६औं स्थानमा पुगेका छन् । क्यानडाका पर्गत सिंह १० स्थान माथि उक्लिँदै ८५औं तथा आयरल्यान्डका एन्ड्र्यु बालबिर्ने पाँच स्थान सुधार गर्दै ४७औं स्थानमा पुगेका छन्।
प्रतिक्रिया 4