News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायलमा आगामी २७ अक्टोबरमा हुने आमनिर्वाचनका लागि गरिएको नयाँ सर्वेक्षणमा गादी आइजेनकोट नेतृत्वको यशार पार्टी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुडभन्दा चार सिटले अगाडि देखिएको छ।
- सर्वेक्षणअनुसार यशारले २५ र लिकुडले २१ सिट जित्ने अनुमान गरिए पनि कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत स्पष्ट रूपमा जुटाउन सकेका छैनन्।
- राजनीतिक प्रभाव बढ्दै गएपछि इजरायलको आन्तरिक सुरक्षा एजेन्सी शिन बेटले पूर्वसेनाप्रमुख आइजेनकोटलाई थप सशस्त्र सुरक्षा उपलब्ध गराउने विषयमा विचार गरिरहेको छ।
३१ साउन, काठमाडौं । इजरायलमा आगामी २७ अक्टोबरमा हुने आमनिर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी दलबाट चुनौती बढेको देखिएको छ ।
बिहीबार सार्वजनिक ‘जमान इजरायल’को नयाँ सर्वेक्षणमा आइजेनकोटको विपक्षी पार्टी यशारले २५ सिट जित्ने अनुमान गरिएको छ । नेतन्याहुको लिकुड पार्टी भने २१ सिटमा सीमित हुने प्रक्षेपण छ ।
सर्वेअनुसार यशार लिकुडभन्दा चार सिटले अगाडि छ । पछिल्ला केही सातामा सार्वजनिक अधिकांश सर्वेक्षणमा पनि यशार अगाडि देखिँदै आएको थियो । तर यसअघि दुवै दलबीचको अन्तर निकै कम थियो । केही सर्वेक्षणमा लिकुड बराबरीमा रहेको वा १–२ सिटले मात्र पछाडि देखिएको थियो ।
नयाँ सर्वेक्षणमा भने यशारले लिकुड माथिको अग्रता बढाएर चार सिट पुर्याएको हो ।
चुनाव आउन करिब दुई महिना बाँकी रहँदा सार्वजनिक सर्वेक्षणले नेतन्याहुको लिकुड पार्टीलाई पछि देखाए पनि सरकार गठनको समीकरण भने अझै अनिश्चित छ ।
बहुमतका लागि अझै कठिन समीकरण
इजरायली संसद् नेसेटमा १२० सिट छन् । सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक हुन्छ ।
सर्वेक्षणले नेतन्याहुविरोधी दलहरूको ‘चेन्ज ब्लक’लाई ५८ सिट प्राप्त हुने देखाएको छ । यो बहुमतका लागि आवश्यक ६१ सिटभन्दा तीन सिट कम हो ।
यता नेतन्याहु समर्थक दलहरूले ५० सिट पाउने अनुमान गरिएको छ । अरब दलहरूलाई १२ सिट प्राप्त हुने प्रक्षेपण छ । तीमध्ये राम पार्टी र हदाश–तालले ६–६ सिट पाउने अनुमान गरिएको छ ।
यसले चुनावअघि कुनै पनि प्रमुख राजनीतिक खेमाले सरकार गठनका लागि स्पष्ट बहुमत जुटाउने अवस्था नरहेको देखाउँछ ।
सबैभन्दा ठूलो दलका नेतालाई प्रधानमन्त्री बन्ने अवसर
आइजेनकोटको अग्रता देखिएको सर्वेक्षणपछि नेतन्याहु विरोधी खेमाका विपक्षी नेता याइर ल्यापिडको पार्टी बीयाचदले विपक्षी सरकार गठनको बाटोमा अवरोध नगर्ने बताएको छ ।
तर ल्यापिडलाई आइजेनकोटलाई प्रधानमन्त्री बनाउन आफ्नो पार्टीले समर्थन गर्छ कि गर्दैन भनेर सोध्दा उनले स्पष्ट जवाफ दिएनन् ।
ल्यापिड दोस्रो तहका नेता हुन् । पार्टीको नेतृत्व पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले गरिरहेका छन् । बेनेट आफैं पनि प्रधानमन्त्री पदका दावेदारका रूपमा प्रस्तुत हुँदै आएका छन् ।
आइजेनकोटले यसअघि नेतन्याहु विरोधी गठबन्धनमा सबैभन्दा ठूलो दल बन्ने पार्टीका नेतालाई प्रधानमन्त्री बन्ने अवसर दिनुपर्ने बताएका थिए ।
उनको यो भनाइ सन् २०२१ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका बेनेटको कार्यकालसँग पनि जोडिएको छ । त्यतिबेला बेनेट नेतृत्वको पार्टीसँग नेसेटमा जम्मा सात सिट भए पनि विभिन्न दलको गठबन्धनमार्फत उनी प्रधानमन्त्री बनेका थिए । कम सिट भएको दलका नेता प्रधानमन्त्री बनेपछि त्यतिबेला इजरायलमा राजनीतिक बहससमेत भएको थियो ।
आइजेनकोटको सुरक्षालाई लिएर चिन्ता
यसैबीच इजरायली सञ्चारमाध्यम च्यानल १२ को रिपोर्टले इरानबाट इजरायली राजनीतिक नेताहरूलाई लक्षित गरी क्षति पुर्याउने प्रयास हुन सक्ने संकेत प्राप्त भएको जनाएको छ ।
प्रधानमन्त्री नेतन्याहुलाई सरकारी सुरक्षा उपलब्ध रहे पनि आइजेनकोटलाई हाल औपचारिक रूपमा सरकारी सुरक्षा प्रदान गरिएको छैन ।
आइजेनकोटको राजनीतिक प्रभाव बढ्दै गएसँगै उनको सुरक्षालाई लिएर चिन्ता बढेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।
चुनावी अभियान तीव्र बन्दै जाँदा इजरायलको आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’ले उनलाई सशस्त्र सुरक्षा उपलब्ध गराउने विषयमा विचार गरिरहेको बताइएको छ ।
नेतन्याहुलाई चुनौति दिने गादी को हुन् ?
गादी आइजेनकोट इजराइलका पूर्वसेनाप्रमुख हुन्, जसले चार दशकभन्दा बढी समय सैन्य सेवामा बिताएर राजनीतिमा प्रवेश गरेका हुन् । १९ मे १९६० मा इजराइलको तिबेरियासमा जन्मिएका आइजेनकोट १८ वर्षको उमेरमा इजराइली सेनामा भर्ती भएका थिए ।
उनले सेनामा विभिन्न जिम्मेवारी सम्हाल्दै उच्च तहमा पुगे र सन् २०१५ मा इजराइली सेनाको २१औँ प्रमुख बने । सन् २०१९ मा ४१ वर्षे सैन्य सेवापछि उनी अवकाश भएका थिए ।
सैनिक सेवाका क्रममा आइजेनकोट तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका सैन्य सचिवसमेत बनेका थिए । सन् २०१३–१४ मा उनले इजराइली सेनाको डेपुटी चिफ अफ जनरल स्टाफको जिम्मेवारी सम्हाले ।
सेनाको सर्वोच्च नेतृत्वमा पुगेका आइजेनकोटले अवकाशपछि भने राजनीतिमा सक्रिय हुने बाटो रोजे । सन् २०२२ मा उनी नेसनल युनिटी पार्टीमा आबद्ध हुँदै औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए ।
त्यही वर्ष उनी इजराइली संसद् नेसेटको सदस्य बने । सन् २०२३ मा हमासले इजराइलमाथि आक्रमण गरेपछि आइजेनकोटको पार्टी नेतन्याहु नेतृत्वको सरकारमा सहभागी भएको थियो । तर सन् २०२४ मा उनले नेतन्याहु सरकारबाट अलग हुने निर्णय गरेका थिए ।
त्यसपछि सन् २०२५ मा आइजेनकोट नेसनल युनिटी पार्टीबाट अलग भएर आफ्नै नयाँ राजनीतिक पार्टी ‘यशार’ गठन गरेका थिए । अहिले उनी प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका प्रमुख राजनीतिक चुनौतीका रूपमा देखिएका छन् ।
पछिल्लो सर्वेक्षणमा आइजेनकोट नेतृत्वको यशार नेतन्याहूको लिकुड पार्टीभन्दा अगाडि देखिएपछि इजराइलको आगामी चुनावमा उनको राजनीतिक प्रभाव थप बढेको अनुमान गरिएको छ ।
प्रतिक्रिया 4