News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्नो एक छोराको हत्या गर्ने प्रयास गरेको सोमबार दाबी गरे।
- नेतन्याहुले आफ्नो परिवारलाई दिइएको सुरक्षा ऐसआराम नभई नितान्त आवश्यक भएको जिकिर गरे।
- शिन बेटले नेतन्याहुकी पत्नी सारा र दुवै छोराहरूलाई लामो समयसम्म सुरक्षा दिने निर्णय स्वीकृत गरेको छ।
९ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार इरानले आफ्नो छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन्।
इजरायलको च्यानल १४ लाई दिएको टेलिफोन अन्तर्वार्तामा उनले इरानले आफ्नो परिवारलाई निसाना बनाएको खुलासा गरेका हुन्।
नेतन्याहु आगामी चुनावअघि राजनीतिक नेताहरू र आफ्नो परिवारको सुरक्षा व्यवस्थाका विषयमा कुराकानी गरिरहेका थिए। उनले आफ्नो परिवारलाई दिइएको सुरक्षा कुनै ऐसआराम नभई नितान्त आवश्यक भएको जिकिर गरे।
‘एउटा पत्याउनै नसकिने घटना भयो। इरानले मेरो एक छोरालाई निसाना बनायो। उसले मेरो छोराको हत्या गर्ने प्रयास गर्यो,’ नेतन्याहुले भने।
यद्यपि, उनले आफ्ना दुई छोराहरू याइर र अव्नरमध्ये कसलाई निसाना बनाइएको थियो, अनि त्यो प्रयास कहिले र कसरी भयो भन्ने कुरा भने खुलाएनन्।
नेतन्याहुको भनाइ बाहिर आएलगत्तै, प्रमुख इजरायली पत्रकार अमित सेगलले आफ्नो टेलिग्राम च्यानलमा यो कथित हत्या प्रयासबारे महिनौं अघिदेखि थाहा भए पनि प्रकाशनमा रोक लगाइएको दाबी गरेका छन्।
नेतन्याहु अर्को चुनाव हारे पनि परिवारलाई आजीवन सुरक्षा
इजरायलमा लामो समयदेखि नेतन्याहुको परिवार र राजनीतिक नेताहरूलाई दिइने सुरक्षा खर्चलाई लिएर विवाद हुँदै आएको छ। यही विवादबीच इजरायलको घरेलु सुरक्षा निकाय ‘शिन बेट’ ले नेतन्याहुकी पत्नी सारा र उनका दुवै छोराहरूको सुरक्षा बढाउने निर्णयलाई स्वीकृत गरेको छ।
विभिन्न रिपोर्टका अनुसार गत जुलाईमा ‘शिन बेट मामिलासम्बन्धी मन्त्रिस्तरीय समिति’ ले नेतन्याहु र उनकी पत्नी सारालाई आजीवन उच्चस्तरीय सुरक्षा प्रदान गर्ने निर्णय गरेको थियो।
त्यस्तै, दुवै छोराहरूलाई पनि कम्तीमा ५ वर्षसम्म (२०३१ सम्म) सुरक्षा दिइनेछ। यसको अर्थ, नेतन्याहुले आगामी चुनाव हारेर सत्ताबाट बाहिरिए पनि उनीहरूको परिवारले यो सुरक्षा सुविधा पाइरहनेछ।
विपक्षी उम्मेदवार गाडी आइजेनकोटलाई शिन बेटले सुरक्षा दिन अस्वीकार गरेको भन्ने रिपोर्टहरूबारे छलफल भइरहँदा नेतन्याहुको यो दाबी सार्वजनिक भएको हो।
नेतन्याहुले भने आइजेनकोटलाई पनि २४ सै घण्टा सुरक्षा दिनुपर्ने बताएका छन्।
नेतन्याहुका जेठा छोरा याइरमाथि किन भइरहेछ विवाद?
बेन्जामिन नेतन्याहुका दुई छोराहरू (याइर र अव्नर) र पहिलो विवाहबाट एक छोरी (नोआ) छन्।
कान्छा छोरा अव्नर इजरायलमै बस्छन् र मिडियाको नजरबाट टाढै रहन रुचाउँछन्।
जेठा छोरा ३५ वर्षीय याइर नेतन्याहु भने सरकार वा संसद्मा कुनै पदमा नभए पनि सामाजिक सञ्जालमा आफ्ना कट्टर दक्षिणपन्थी विचार र राजनीतिक टिप्पणीका कारण सधैँ विवादमा आइरहन्छन्।
किन उठिरहेछन् प्रश्न ?
याइर सन् २०२४ को सुरुवातदेखि अमेरिकाको मियामीमा लामो समय बिताइरहेका छन्। उनी विदेशमा रहँदा पनि इजरायली सुरक्षा निकाय शिन बेटले उनलाई कडा सुरक्षा दिइरहेको छ।
आलोचकहरूले एउटा वयस्क व्यक्ति, जो कुनै सरकारी पदमा छैन, ऊ विदेशमा बस्दा उसको सुरक्षाको भारी खर्च इजरायली करदाताहरूले किन बेहोर्ने भन्दै कडा प्रश्न उठाइरहेका छन्।
रिपोर्टहरूका अनुसार, सन् २०१८ देखि २०२३/२४ सम्मको अवधिमा याइर, उनका भाइ अव्नर र आमा सारा नेतन्याहुको सुरक्षामा मात्रै करिब ३.१५ करोड शेकेल खर्च भएको तथ्याङ्क सार्वजनिक भएको थियो।
याइरको मियामी बसाइले उनी बस्ने वरपरका स्थानीयहरूले समेत सुरक्षा जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यही आलोचनाको जवाफ दिँदै नेतन्याहुले आफ्नो परिवारमाथि गम्भीर खतरा रहेको र उनीहरूलाई दिइएको सुरक्षा कुनै विलासिता नभएको प्रस्टीकरण दिएका हुन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4