Comments Add Comment

एमाले कार्यदलको आग्रह : पार्टीमा अन्तरविरोध सिर्जना नगरौं

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो ।

‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा अविश्वास, असहयोग, अन्तरविरोध हुने काम अलग रहन पार्टी पंक्तिलाई अनुरोध गर्ने हार्दिकतापूर्वक आग्रह गर्ने निर्णय गरिएको छ’, कार्यदल सदस्य भीम रावलले भने ।

बैठकले पार्टीभित्र देखिएको समस्या समधान गर्न सहयोग र सद्भावको वातावरण निर्माण गर्ने तर्फ जोड दिनुपर्ने निर्णय पनि गरेको छ । ‘पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरिएको छ’, कार्यदल सदस्य भीम रावलले भने ।

कार्यदलले कार्यविधि, कार्यसूची र आचारसंहिता तयार गरेर लागू गर्ने निर्णय पनि गरेको छ । एमालेमा एउटै संगठन संरचना कायम गर्न कार्यविधि र कार्यसूची बनाइने भएको हो । कार्यविधि, कार्यसूची र आचारसंहिता तत्काल बनाएर लागू गरिने भएको छ । अर्को बैठक बुधवार बस्ने भएको छ ।

२ जेठमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल तर्फबाट पाँच-पाँच जना रहनेगरी दश सदस्यीय कार्यदल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment