News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको चिया क्षेत्रमा देखिएका समस्या समाधान र निर्यात प्रवर्द्धनका लागि गठित ९ सदस्यीय कार्यदलले मन्त्री गौरीकुमारी यादवलाई प्रतिवेदन बुझाएको छ ।
- भारतीय चिया बोर्डको नयाँ निर्देशिकाले निर्यातमा अवरोध सिर्जना गरेपछि सरकारले समस्या समाधानका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सिफारिस गरेको छ ।
- आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ५ सय ९९ टन चिया निर्यात भएको प्रतिवेदनमा उल्लेख छ ।
२६ असार, काठमाडौं । नेपालको चिया क्षेत्रमा हालै देखिएका समस्या समाधान र समग्र निर्यात प्रवर्द्धनका लागि गठित विशेष अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले दुई साताको छोटो अवधिमै प्रतिवेदन तयार पारेर हस्तान्तरण गरेको हो ।
नेपाली चियाको मुख्य बजार मानिएको भारतले हालै लागु गरेको नयाँ व्यवस्था र यसले नेपाली चिया क्षेत्रमा पारेको गम्भीर असर सम्बोधन गर्न कार्यदलले तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपाय सिफारिस गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार र निर्यातमा देखिएका नीतिगत तथा व्यावहारिक अड्चन हटाउन सरकार प्रतिबद्ध रहेको र कार्यदलका सुझाव प्राथमिकता साथ कार्यान्वयन गरिने बताइन् ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २० हजार ६ सय २ हेक्टर क्षेत्रफलबाट २ करोड ६१ लाख किलो बढी तयारी चिया उत्पादन भएको थियो ।
उत्पादित चियामध्ये ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ५ सय ९९ टन चिया निर्यात भएकोमा ८६.७७ प्रतिशत हिस्सा भारततर्फ मात्रै छ । यसले नेपाली चियाको निर्यात भारतमा अत्यधिक निर्भर रहेको देखाउँछ ।
भारतीय चिया बोर्डले १ मे २०२६ देखि अनिवार्य गुणस्तर परीक्षण सम्बन्धी नयाँ निर्देशिका लागु गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको थियो ।
प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, चर्को परीक्षण शुल्क र सीमामा हुने रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुरहरूको जीविकोपार्जनमा प्रत्यक्ष नकारात्मक असर परेको कुरा प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया 4