News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा भएको बस दुर्घटनाको छानबिन प्रतिवेदन गृह मन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको छ।
- प्रतिवेदनअनुसार चालकमा थकान रहेको र सडक सुरक्षा पूर्वाधार अपर्याप्त हुँदा बस अनियन्त्रित भएर दुर्घटना भएको छ।
- सरकारले थकान व्यवस्थापन प्रणाली, सडक सुधार, र सार्वजनिक सवारीमा क्यामेरा र ट्र्याकिङ प्रणाली जडान गर्न सिफारिस गरेको छ।
२९ फागुन, काठमाडौं । गत ११ फागुन बिहान करिब साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन कार्यदलले प्रतिवेदन तयार पारेको छ ।
उक्त प्रतिवेदन आज (शुक्रबार) गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी बसमा सवार ४४ जना यात्रुमध्ये १९ जनाको मृत्यु तथा २५ जना घाइते भएका थिए ।
उक्त घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा कार्यदल गरेको थियो ।
प्रतिवेदन बुझाउँदै कार्यदलका संयोजक तिवारीले घटनास्थल निरीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, यात्रुहरूसँग सोधपुछ तथा सडक पूर्वाधारको अवस्थाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए ।
सवारी साधनमा कुनै यान्त्रिक खराबी नभेटिएको र चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि फेला नपरेको उनको भनाइ छ । चालकमा थकान रहेको देखिएको र सडक सुरक्षा पूर्वाधार पनि अपर्याप्त रहेको कारण दुर्घटना घटेको निष्कर्ष कार्यदलको छ ।
‘हामीले घटनास्थलको निरीक्षण गर्यौं । सवारीको यान्त्रिक परीक्षण पनि गर्यौँ । यात्रुहरूसँग सोधपुछ पनि गर्यौँ । सडक पूर्वाधारको अवस्थाको विश्लेषण पनि गर्यौं । र अन्य तथ्यहरू समेत विश्लेषण गरेर केही निष्कर्षसहित हामीले प्रतिवेदन तयार पारेका छौं,’ उनले भने, ‘मुलत: सवारी साधनमा कुनैपनि यान्त्रिक खराबी देखिएन । चालकले मादक पदार्थ सेवन गरेको प्रमाण पनि भेटिएन । चालकमा थकान रहेको देखियो ।’
उपलब्ध तथ्य तथा प्रमाणको विश्लेषण गर्दा चालकले कुनै कारणवश सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस अचानक अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना भएको देखिएको उनको भनाइ छ ।
‘सडक सुरक्षा पूर्वाधार अपर्याप्त देखियो । उपलब्ध तथ्य तथा प्रमाणहरूको विश्लेषण गर्दा मुख्य कारणको रुपमा हामीले सवारी चालकले कुनै कारणवस सवारी साधनमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा सवारी अचानक अनियन्त्रित भई सडकबाट तल खस्न गई दुर्घटना भएको देखिन्छ । साथै चालकमा रहेको थकान, रात्रिकालीन सवारी सञ्चालन तथा सम्भावित ध्यान विचलनको कारणबाट यो दुर्घटना भएको देखियो,’ उनले भने ।
भविष्यमा यस्ता दुर्घटना न्युनिकरण गर्न सार्वजनिक सवारी चालकका लागि थकान व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, सडक सुरक्षा पूर्वाधार सुधार गर्नुपर्ने तथा रात्रिकालीन यात्रामा निगरानी बढाउनुपर्ने तथा सार्वजनिक यातायातमा क्यामेरा जडानका साथै र्ट्याकिङ प्रणाली जडान गर्न सिफारिस गरिएको समेत बताए ।
‘यो प्रतिवेदनको कार्यान्वयन गर्नुपर्छ । हामी यो प्रतिवेदनको कार्यान्वयन प्रक्रिया सुरु गर्छौं । कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा थोरै अध्ययन भइसकेपछि त्यहीअनुसार कार्यान्वयनको प्रक्रियामा लान्छौं,’ उनले भने, ‘अगामी दिनमा यस्ता दुर्घटना हुन नदिनको लागि यस्ता रिपोर्टहरूको कार्यान्वयन हुनुपर्यो । पहिलेका घटनामा समेत प्रतिवेदन कार्यान्वयन भएन भन्ने छ । यति धेरै लगानी भइसकेपछि कार्यान्वयन भएन भने त कुनै औचित्य नै भएन । हामी यसलाई कार्यान्वयन गर्छौं ।’
प्रतिक्रिया 4