Comments Add Comment
भेन्टिलेटर खोज्दै हेलिकप्टरमा पोखरा :

लाखौं खर्चेर बेड त पाए, तर आफन्त गुमाए

३ जेठ, पोखरा । काठमाडौं महानगरपालिका–३० की ५३ वर्षीया महिलाको शहीद मेमोरियल अस्पताल कलंकीको आईसीयूमा उपचार भइरहेको थियो ।

अचानक स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुर्‍याएकी उनको स्वाब परीक्षण गर्दा वैशाख १८ गते कोरोना पोजेटिभ देखियो । स्वास्थ्य झन् जटिल बन्दै गयो । यही बेला अस्पतालले भनिदियो, ‘आईसीयूबाट जुनसुकै बेला भेन्टिलेटरमा सार्नुपर्ने हुनसक्छ, तर हामीसँग भेन्टिलेटर खाली छैन । अर्को अस्पतालको खोजी गर्दै गर्नू ।’

परिवारका सदस्यहरु भेन्टिलेटरको खोजीमा जुटे । संक्रमितकी छोरी अस्मिताले भनिन्, ‘भेन्टिलेटर भएका हस्पिटलको सूची हातमा लिएर फोन गर्न थाल्यौं, कसैले छ भनेनन् ।’

काठमाडौंमा भेन्टिलेटरसहित बेड नभेटिएपछि बाहिर पनि विकल्प खोज्नेबारे परिवार र आफन्तबीच सल्लाह भयो । पोखरामा धेरै अस्पताल भएकाले फोन गरे । ‘चरक अस्पतालमा भेन्टिलेटरसहित बेड छ भनेपछि तत्काल हेलिकप्टरको व्यवस्था गरेर पोखरा पुर्‍याइहाल्यौं’ संक्रमित महिलाकी छोरीले भनिन् ।

यो बुधबारको कुरा हो । उनीहरुले भेन्टिलेटरसहित बेड पनि पाए । ‘चार दिनपछि सदाका लागि आमालाई गुमायौं । शनिबार राति उहाँको मृत्यु भयो’ अस्मिताले भनिन् ।

गण्डकी प्रदेश बाहिरबाट पनि संक्रमितहरु उपचारका लागि आएकाले पछिल्लो समय पोखराका अस्पतालहरुमा चाप बढेको छ । संक्रमण उच्च भएको काठमाडौं र पश्चिमी जिल्लाहरुबाट हेलिकप्टर तथा सडकमार्ग भएर संक्रमितहरु बेड खोज्दै आउने क्रम बढेको छ ।

आमालाई बचाउने अन्तिम आशा बोकेर परिवारका सदस्यहरु ह्याम्स हस्पिटलको छतमा रहेको हेलिप्याडमार्फत पोखरा उडेका थिए । ‘सास भएसम्म आश त भइहाल्छ । एम्बुलेन्समार्फत जाँदा झन् समय लाग्थ्यो । हेलिमार्फत गयौं’ महिलाकी छोरीले भनिन्, ‘आईसीयू, हेलिकप्टर र फेरि भेन्टिलेटरसहितको अस्पतालमा उपचार गर्दाको के हिसाब भयो र लाखौं खर्च भइहाल्यो तर त्योभन्दा पनि ठूलो नोक्सानी आमा बचाउन नसकेर गुमायौं ।’

****

अचानक स्वास्थ्यमा समस्या देखिएपछि घोराहीको राप्ती लाइफकेयर अस्पतालमा कोरोना परीक्षण गराएका दाङ तुल्सीपुर ६ का ५२ वर्षीय पुरुषको रिपोर्ट भने नेगेटिभ आयो । आयुर्वेदिक औषधिको क्षेत्रमा काम गर्ने उनी कामको मेसोसमेत मिलाएर पुर्ख्यौली घर सल्यान पुगेका बेला दाङमा जारी भएको निषेधाज्ञाले उतै रोकिए ।

एक्कासी स्वास्थ्य समस्या देखिएपछि दाङ झरेर कोरोना परीक्षणपछि नेगेटिभ रिपोर्ट आए पनि स्वास्थ्यमा सुधार आएन । राप्ती लाइफकेयर अस्पतालमा उपचार गराइरहेका उनको अवस्था बिग्रिंदै गयो । अक्सिजन दिएर उपचार हुँदै थियो । वैशाख २३ गते अस्पतालले भन्यो, ‘अब भन्टिलेटरमै राख्नुपर्ने भयो । यहाँ त्यो व्यवस्था छैन, अर्को अस्पताल खोज्नुपर्‍यो ।’

‘एक्कासी भेन्टिलेटरमा राख्नुपर्छ भनेपछि ठूलो तनाव थपियो । अब कहाँ लैजाने, के गर्ने ? न चिनेको अस्पताल छ, न सहज पहुँछ’ बिरामीका आफन्त रोमहर्ष भण्डारीले भने, ‘काठमाडौंतिर ह्याम्स अस्पतालमा बुझ्यौं । अन्य अस्पतालमा पनि बुझ्न लगायौं । केही सीप नलागेपछि एक जनाले पोखरा लैजान भन्नुभयो ।’

थप उपचारका लागि पोखरा त लैजाने तर कसरी ? फोक्सोमा समस्या देखिइसकेकाले एम्बुलेन्समा लैजान टाढाको बाटो झन् जोखिमपूर्ण थियो । आफन्तले हेलिकप्टरको प्रबन्ध मिलाए र पोखराको ग्यालेक्सी अस्पतालमा ल्याइपुर्‍याए । भेन्टिलेटरमा ल्याएर उपचार थालेपछि फेरि कोरोना परीक्षण गरियो । २६ गते रिपोर्ट पोजेटिभ आएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।

भेन्टिलेटरको खोजीमा पोखरा आए पनि बचाउन सकेनन् । हेलिकप्टरमार्फत पोखरा ल्याइपुर्‍याउँदा, उपचार र संक्रमित शवलाई फेरि दाङ पुर्‍याएर अन्त्येष्टि गर्दासम्म २० लाख रुपैयाँ भन्दा बढी सकिएको आफन्त भण्डारीले जानकारी दिए ।

‘सास हुँदासम्म आश लाग्ने रहेछ । अन्त कतै बेड नपाएपछि ऋणधन गरेर पोखरा पुर्‍याएका हौं तर जति खर्च गरेर पनि बचाउन सकिएन’ भण्डारीले अनलाइनखबरसँग भने, ‘मान्छे ठीकठाकै थिए, तर दाङमै परीक्षण गराउँदा नेगेटिभ आएको थियो । पोखरा आइपुग्दासम्म पोजेटिभ रिपोर्ट आयो र अवस्था पनि खराब भइसकेको रहेछ तर बाँचेनन् । यो कोरोना के हो भन्ने बुझ्नै गाह्रो भयो ।’

****

गण्डकी प्रदेश बाहिरबाट पनि संक्रमितहरु उपचारका लागि आएकाले पछिल्लो समय पोखराका अस्पतालहरुमा चाप बढेको छ । संक्रमण उच्च भएको काठमाडौं र पश्चिमी जिल्लाहरुबाट हेलिकप्टर तथा सडकमार्ग भएर संक्रमितहरु बेड खोज्दै आउने क्रम बढेको छ ।

पोखराका कोभिड उपचार हुने सरकारी तथा निजी अस्पतालहरुमा अहिले काठमाडौं, पश्चिमी जिल्लाहरु र चितवनबाटसमेत बेड खोज्दै हेलिकप्टर तथा एम्बुलेन्समार्फत आउनेको संख्या बढिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्मा बताए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवाका ३३ वर्षीय युवामा एक्कासी स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा भर्ना गरेर स्वाब परीक्षण गर्दा वैशाख २५ गते उनमा कोरोना पोजेटिभ देखियो । स्वास्थ्य अवस्था जटिल हुँदै गयो । तर अस्पतालमा आईसीयू र भेन्टिलेटर नभएका कारण मुस्ताङबाट हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइयो ।

५ लाख रुपैयाँ खर्चेर थप उपचारका लागि पोखरा ल्याइए पनि निमोनियाले उनलाई फेरि मुस्ताङ फर्किन दिएन । उनको शनिबार मणिपाल अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । ‘बचाउन भनेर हेलिकप्टर चढाएर पोखरा त लग्यो तर कोरोनाले फर्किन दिएन,’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ भन्छन्, ‘३३ वर्षीय ठिटो मुस्ताङमा कोरोनाले मर्ने दोस्रो मान्छे बन्यो ।’

बाग्लुङबाट हेलिकप्टरमार्फत केही दिनअघि पोखरा मणिपालमै ल्याइएका एक जना पुरुषले ज्यान गुमाए । बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुषलाई झण्डै ४ लाख रुपैयाँ खर्चेर धौलागिरि अस्पतालबाट मणिपालमा ल्याइयो । तर उपचारका उनको ज्यान गयो । दोस्रो लहर मात्र तीन जनालाई हेलिकप्टरमार्फत पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए ।

पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियलमा पछिल्लो समय उपचार खोज्दै आउने क्रम बढिरहेको छ । ‘कति निको भएर फर्केका छन् त कति लाखौं खर्च गरेर पनि बचाउन सक्ने अवस्थामा आइपुग्दैनन्,’ मणिपालका डा. सिपी आचार्यले अनलाइनखबरसँग भने, ‘हिजो, अस्ति दिनहुँजसो हेलिकप्टरमार्फत कोरोनाका बिरामी उपचारका लागि आइरहेका थिए ।’

आईसीयू बेड र भेन्टिलेटर खोज्दै/खोज्दै गण्डकी प्रदेशबाहेक काठमाडौं, गुल्मी, बुटवल, रोल्पा, रुकुम, दाङ, सुर्खेत लगायतका ठाउँबाट संक्रमित बिरामी आइरहेको चरक मेमोरियल अस्पतालका म्यानेजर प्रदीप शर्माले बताए ।

‘काठमाडौंबाट त दिनहुँ बेड सोध्दै कल आउँछ । दाङ, रोल्पा, सुर्खेत, बुटवल, गुल्मी र चितवनबाटसमेत कोरोनाका बिरामी आइरहेका छन्,’ डा. शर्माले अनलाइनखबरसँग भने, ‘कतिपयले ज्यान गुमाएका छन् भने गुल्मीबाट हेलिकप्टरमा आएका एक जना संक्रमित केही दिनअघि मात्र निको भएर फर्किए ।’

काठमाडौंको विकल्प पोखरा

पोखरा अस्पताल र सेवा सुविधाका हिसाबले पनि काठमाडौंपछिको दोस्रो विकल्प बनेको अस्पताल सञ्चालक तथा चिकित्सकहरु बताउँछन् । अहिले पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २ सरकारी र ११ निजी अस्पतालमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।

गण्डकी प्रदेश सरकारले कोभिडको उपचारका लागि सम्झौता गरेका पोखराका यी अस्पतालमा ५०५ आइसोलेसन बेड रहेको सरकारी तथ्यांक छ । त्यसमा अहिले २७९ जना बिरामी छन् । १७० आईसीयू बेडमध्ये ११३ जना गम्भीर बिरामीले उपचार लिइरहेको प्रदेश स्वास्थ्य निर्देशक शर्माको भनाइ छ ।

पोखराका अस्पतालमा अहिलेसम्म निजी र सरकारी गरेर भेन्टिलेटरकै अभाव खेप्नुपर्ने अवस्था नगरेको शर्माले बताए । पोखरा १३ अस्पतालमा रहेका ५६ भेन्टिलेटरमध्ये २२ वटा अहिले कोभिडका बिरामीका लागि प्रयोग भइरहेको छ । १०५ एचडीयू बेड क्षमतामध्ये ५० जना बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

‘पोखराका अस्पताल गुणस्तरीय र क्षमताका हिसाबले अन्य ठाउँभन्दा यहाँ विकल्प पनि भएकाले काठमाडौं, दाङलगायतका जिल्लाबाट आइरहेका छन्’ प्रदेश स्वास्थ्य निर्देशक शर्माले भने, ‘गण्डकीमा धौलागिरि अञ्चल अस्पताल र धेरैजसो जिल्ला अस्पतालले पनि कोरोनाको उपचार थालेकाले अब धेरै चाप पोखरामा मात्रै केन्द्रित हुँदैन ।’

एकदमै जटिल बिरामीमात्र पोखरा आउने उनको भनाइ छ । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यसमा केही जना गण्डकीबाहिरबाट उपचार गराउन आउनेहरु पनि छन् । आइतबार मात्र २८ जना कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेशमा सोमबार २४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment