Comments Add Comment

यसरी बित्दैछ साहित्यकारको दशैं

२५ असोज, काठमाडौं ।  दशैंको रौनक शुरु भइसकेको छ । समाजका हरेक वर्ग र समुदायका मानिसहरुजस्तै साहित्यवृत्तकाहरु पनि आ-आफ्नो सुरुले दशैं मनाउने योजनामा जुटिसकेका छन् । कतिपयले यो अवसरलाई अध्ययनमा लगाउने योजना बनाएका छन् भने कतिपय घुमघाम गर्ने धुनमा । केहीचाहिँ फुर्सदको सदुपयोग गर्दै जंगल पस्ने तयारीमा छन् ।

इटहरी बसोबास गर्ने अहिलेका चर्चित कवि मनु मञ्जिल दशैं बिदाको अवसरमा छोरीहरुलाई लिएर सिन्धुलीगढी घुम्न जाने योजनामा छन् । दशैंको टीकाको बेला बुबाआमा भेट्न सपरिवार चन्द्रनिगाहपुर पुग्ने तयारी गरेका उनले अध्ययनलाई पनि सँगसँगै लैजाने बताए । “अध्ययन गर्न त किन छाडिन्थ्यो र ?” चेसका शौखिन मञ्जिलले भने, “फुर्सदमा साथीभाइ भेटघाट गर्ने त छँदैछ ।”

उता विराटनगर निवासी प्रभावशाली कवि ज्योति जंगलले चाहिँ दशैंको फुर्सद परिवारका लागि समर्पित गर्ने भएकी छिन् । “कहाँ लेखपढ गर्न भ्याउनु ?” उनले भनिन्, “दशैंभर त म पूरै गृहिणी हुन्छु ।” उनले आमाको हातको टीका लगाउन झापाको होक्से जाने योजना बनाएको पनि सुनाइन् । हेटौंडा निवासी व्यङ्ग्य लेखक आरसी रिजाल भने दशैंको फुर्सदमा भारतीय लेखक कृष्ण चन्दरको “एक गधेकी आत्मकथा”को नेपाली अनुवाद सक्ने ध्याउन्नमा छन् । “यो आत्मकथा निकै मजाको छ । त्यही भएर जोडतोडले लागेको छु ।” उनले भने ।

चितवन निवासी कवि तथा निवन्धकार भूपिनले चाहिँ दशैंको फुर्सदलाई अध्ययनमा लगाउने भएका छन् । “म पढ्नमा साह्रै ढिलो छु ।” उनले सुनाए, “यसपटक धेरै अघि किनेर राखेका अमिताभ घोषको ‘अफिम सागर’ लगायतका किताब पढ्ने योजना बनाएको छु ।” साथै उनले आफ्नो मूलघर बाग्लुङ पुग्ने र लेखिरहेको उपन्यासका बारेमा थप स्थलगत अनुसन्धान गर्ने तयारी गरेको कुरा पनि सुनाए ।

सरुभक्त पुत्री, पोखरा निवासी प्रभावशाली कवि सरस्वती प्रतिक्षाले चाहिँ दशैंमा नयाँ सिर्जनाको कुनै योजना नबनाएको बताइन् । “दशैंमा श्रीमान्को घर दमौलीमा टीका लगाउन जाने योजना छ ।” प्रतिक्षाले सुनाइन्, “किनेर राखेका तर पढ्न नभ्याएका पुस्तकहरु पनि पढ्ने योजना छ ।” उता नेपालगञ्ज निवासी प्रभावशाली गजलकार ऋचा लुइँटेलले चाहिँ दशैंको फुर्सदलाई वर्ष दिनभरिको तनाव मेटाउन उपयोग गर्ने बताइन् । “सपरिवार बसेर खाने, पिउने, रमाइलो गर्ने र वर्ष दिनभरिको तनाव मेटाउने ।” उनले भनिन् ।

धेरैचाहिँ लेख-पढमा व्यस्त

भर्खरै ‘घामकिरी’ उपन्यास बजारमा ल्याएका प्रभावशाली उपन्यासकार नयनराज पाण्डे दशैंको फुर्सदलाई अध्ययनमा लगाउन योजनामा छन् । “सल्यान, नेपालगञ्ज कतै गइन्न ।” नयाँ सिर्जनाको तयारी नभएको बताउने पाण्डेले भने, “किनेर राखेका तर पढ्न नभ्याएका समकालीनका थुप्रै किताब छन्, तिनै पढ्छु ।” यसवर्षका मदन पुरस्कार विजेता राजन मुकारुंग दशैं बिदाको मौका पारेर आफ्नी आमालाई भेट्न भोजपुरको दिल्पा पुग्ने तयारीमा छन् ।

०६५ का मदन पुरस्कार विजेता युवराज नयाँघरे चाहिँ यसपटक गुफा पसेर दुइटा किताबको काम फत्ते गर्ने तयारीमा छन् । किताबका नाम मौलिक राख्नमा खप्पिस उनले ती कितावको नामचाहिँ बताएनन् । व्यङ्ग्यकार लक्ष्मण गाम्नागेचाहिँ लेखनबाट फुर्सद लिएर दशैं मनाउन झापाको गौरादह पुग्ने योजनामा छन् ।

साहित्यकारहरुका डाक्टरका रुपमा परिचित डा. रवीन्द्र समिर दशैंको अवधिमा आफ्नो युरोप-मस्को यात्राको डायरीलाई पुस्तककार रुप दिने तयारीमा छन् । “मेरो जम्मा चार दिन फुर्सद हुन्छ । त्यसमा किताब लेख्ने र युरोप यात्राका संस्मरणहरु पढ्ने योजना छ ।” उनले भने । बुटवल मूलघर भएका उनले त्यता जाने योजना नभएको बताए ।

पछिल्लो उपन्यास ‘विषपुरुष’को सफलताले हौसिएका कृष्ण अविरल नयाँ उपन्यास ‘रक्तवीज’लाई अन्तिम रुप दिने योजनामा छन् । “यो मेरो तीन वर्षदेखिको महत्वांकाक्षी योजना हो ।” उनले भने, “सब काम छाडेर उपन्यास सक्ने लक्ष्य छ ।” उनका भाई सुबिन भट्टराई पनि दशैंकै मौकामा ‘समर लभ भाग दुई’लाई अन्तिम रुप दिने ध्याउन्नमा छन् । उनको ‘कथाकी पात्र’ कथासंग्रहको नयाँ संस्करण दशैं लगत्तै बजारमा आउने तयारीमा छ ।

केही महिनाअघि ‘च्याट गर्ल’ मार्फत् आख्यान क्षेत्रमा आएका नयाँपुस्ताका मिलन संग्रौला दशैं मनाउन झापा जाने र सँगसँगै लेखिरहेको उपन्यासलाई अन्तिम रुप दिने योजनामा छन् । प्रभावशाली कवयित्री विमला तुम्खेवाले चाहिँ दशैं मनाउन आफ्नै श्रीमान्को घर सिलङतिर जान लागेको खबर सुनाइन् ।

कोही जंगल जाने, कोही घुमघाममा

प्रज्ञा प्रतिष्ठान सदस्य समेत रहेकी स्रष्टा सुलोचना मानन्धर दशैंको अवधिमा एकान्तवासका लागि जंगल पस्ने तयारीमा छिन् । के उद्देश्यका लागि कहाँको जंगल जाने भन्ने बारेमा चाहिँ उनले केही बताइनन् । पितृशोकका कारण पोहोर दशैं मनाउन नपाएका मधुपर्कका उपसम्पादक तुलसीहरि कोइरालाले भने खासै योजना नबनाएको बताए । “तराईतिर चै गइन्छ होला ।” उनले भने ।

अघिल्लो वर्ष सेतो धरतीका लागि मदन पुरस्कार हात पारेका अमर न्यौपानेचाहिँ आफ्ना आमाबुबालाई लिएर घुमघाममा जाने योजनामा छन् । “घुमघामपछि नवमीतिर चितवन पुगिन्छ होला ।” उनले भने, “यसपटक लेखपढको केही योजना बनाइएन ।” केही महिनाअघि ‘काठमाडौं गीत’ उपन्यास बजारमा ल्याएका युवापुस्ताका उपन्यासकार टंक चौलागाईं भने घुमघामका लागि पत्नीसहित भारततिर छन् ।

पछिल्लो पुस्ताका प्रभावशाली चन्द्रवीर तुम्बापोले चाहिँ दशैंमा तास खेलेर बिताउने योजना बनाएको सुनाए । “तपैंलाई तास खेल्न आउँछ भने आउनोस् है, फलाँस खेलौंला ।” उनले आग्रह गरे । पंक्तिकारले तास खेल्न नआउने बताएपछि उनले भने, “त्यसो हो भने लेखकबाट जात काढिन्छ है ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment