Comments Add Comment

बल्ल भयो बाह्रबिसेको नगरसभा बैठक

५ चैत, सिन्धुपाल्चोक । दुई पटकसम्म स्थगित भएको बाह्रविसे नगरपालिकाको नगर सभा बैठक बसेको छ ।

बहुमत सदस्यले बहिस्कार गरेका कारण नगरसभा हुन नसकेपछि प्रदेश ३ सरकारले ल्याएको नयाँ कानूनअनुसार फेरि बैठक बोलाइएको थियो ।

प्रदेश ३ सरकारले गाउँ/नगर/जिल्ला सभा सञ्चालन कार्यविधि २०७५ स्थानीय तहमा वहुमत सदस्यले नगरसभा वा गाउँ सभा बहिस्कार गरेमा पहिलो नगर सभा सकिएको एक सातामा अर्को नगर सभा बोलाइने र त्यो पनि बहिस्कार भएमा तीन दिनको र त्यसपछि २४ घण्टाभित्र नगर सभा गरेर कुल सदस्यको २५ प्रतिशतले पनि नगर सभा गर्न सकिने कानुनमा उल्लेख गरिएको छ ।

सोही व्यवस्थाअनुसार बैठक बोलाएपछि बहिस्कार गर्ने पक्ष पनि सहभागी भएका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।
अघिल्लो शुक्रबार बोलाइएको नगर सभा कांग्रेसबाट निर्वाचित सदस्यहरुले बैठक सुरु हुनै लाग्दा बहिस्कार गरेका थिए ।

बहुमतको आडमा सधै नगरसभा बहिस्कार गर्ने प्रचलन देखिएपछि नयाँ कानुनको व्यवस्थाअनुसार बैठक बोलाइएको मेयर शेर्पाले बताए । ‘उहाँहरु पनि आउनु भयो, छलफल गर्नुभयो, आफ्ना कुरा राख्नुभयो, अब यसै गरी मिलेर अघि बढ्ने हो भने समस्या हुदैन’ उनले भने ।

नगर सभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ भने मेयरसहित नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधि अल्पमतमा छन् ।

बहिस्कार गर्ने पक्षका नगरसभा सदस्य बमबहादुर तामाङ आफूहरु पनि समस्यामा परेर बैठकमा सहभागी नभएको बताए ।

‘हामीबीचमा केही असमझदारीका कारण यसअघिका बैठकमा सहभागी नभएका हौं’ उनले भने । नगरसभा सम्पन्न भएसँगै अब नगरका सबै कामहरु गर्न बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment