Comments Add Comment

दाह्रीवाल कामु प्रधानन्यायाधीशलाई चिन्नै गाह्रो भो !

२५, असोज काठमाडौं । कायम-मुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको सजिलै चिन्न नसकिने गरी स्वरुप परिवर्तन भएको छ । टोपीबाट बाहिरै निस्किएको लामो सेतो कपाल, अनि सिमलको भुवाजस्तो सेतो दाह्रीको सकलमा देखिनुहुने शर्मासँग यतिबेला न कपाल छ, न त दाह्रीजुँगा नै ।

लामो समयदेखि दाह्रीको पहिरनमा देखिँदै आउनुभएका आध्यात्मिक साधक शर्माले जमरेऔंसीकै दिनदेखि १५ दिनसम्म देशैभरिका अदालत बन्द गरेर आफ्नो निवास आरुबारीमा सप्ताह पुराण लगाउने क्रममा दाह्री र कपाल खौरनुभएको हो । दाह्रीजुँगा सफाचट पारेपछि केहीले फेसबुकमा शर्माको तस्वीर राखेर ‘लौ चिन्नोस्’ भनेका छन् । हुन पनि दाह्री काटेको अवस्थामा उहाँलाई चिन्न निक्कै गाह्रो देखिएको छ ।

damoder-sharma

अदालतमा अझैसम्म मनपरी दशैं विदा

सरकारले कर्मचारीहरुलाई दशैंमा सात दिनमात्रै विदा दिने गरे पनि न्यायधीश र अदालतका कर्मचारीलाई भने मालामाल हुँदै आएको छ । सरकारले विदा नतोकेको दिनलाई पनि ‘सार्वजनिक विदा’ घोषणा गरेर अदालतले ‘विदाका दिन पनि अदालत खुल्ला रहने’ भन्दै अतिरिक्त भत्ता पड्काउने र जनतालाई झुक्याउने गरेको छ ।

गृहमन्त्रालयले गरेको परिपत्र र सोअनुसार बनेको सरकारी विदा सम्बन्धी क्यालेन्डरमा दशैं विदा ७ दिनमात्रै उल्लेख भए पनि न्यायाधीश र अदालतका कर्मचारीले अहिलेसम्म मनपरी ढंगले १५ दिनसम्म दशैं विदा उपभोग गर्दै आएका छन् ।

गृह मन्त्रालयका अनुसार ०७० को दशैंमा सरकारी विदा असोज १९ को घटस्थापनामा एक दिन, असोज २५ देखि ३० गते -फूलपातिलेखि द्वादशीसम्म) ५ दिन र कात्तिक १ गते कोजाग्रत पूणिर्माका दिन १ दिन गरी सात दिनमात्रै छ । तर, सर्वोच्च अदालतले सरकारी विदा नपरेको दिनलाई समेत ‘विदा’ घोषणा गरी सो दिन अदालतमा उपस्थित हुने न्यायधीश र कर्मचारीलाई एक दिनको तलव बराबरको भत्ता खुवाउने बताएको छ ।

s-court

सर्वोच्च अदालतको सर्कुलर अनुसार असोज २० देखि २५ गतेसम्म सरकारी विदा नपरेका दिनमा समेत अदालतमा खटेका कर्मचारी र न्यायाधीशले विशेष भत्ता खाने भएका छन् । सर्वोच्च अदालतका शाखा अधिकृत देवेन्द्र ढकालद्वारा जारी परिपत्रमा ‘विजयादशमी ०७० को उपलक्ष्यमा यही मिति २०७० असोज १९ गते घटस्थापनाका दिनदेखि ०७० कात्तिक १ गते कोजाग्रत पूणिर्माका दिनसम्म अदालतहरु सार्वजनिक विदामा बन्द रहने हुँदा’ भनिएको छ ।

सरकारले तोकेको सार्वजनिक विदाको सूचीमा यति लामो सार्वजनिक विदा कतै उल्लेख छैन । ‘सरकारले अन्य सबै कर्मचारीलाई ७ दिन विदा तोकेको अवस्थामा न्यायाधीशले आफैं क्यालेन्डर बनाएर १५ दिन विदा लिँदै आएका छन् ।’ एक अधिवक्ताले अनलाइनखबरसँग भने- ‘अरु सरकारी कर्मचारीले दशैंमा ७ दिनमात्रै विदा पाउने तर न्याय गर्नेहरुले नै १५ दिन विदा लिएर त्यसबेला काम गरेवापत थप भत्ता खाने चलन न्यायसंगत देखिँदैन ।’

bida-list

अदालतका कर्मचारीलाई अन्य कर्मचारीभन्दा दोब्बर विदा दिँदा अदालतमा न्याय माग्न जानेहरुमाथि पनि अन्याय भएको कानूनविद्को प्रतिक्रिया छ । सर्वोच्च अदालतले दिएको दसैंको ‘सार्वजनिक विदा’ गृहमन्त्रालयले घोषणा गरेको विदाको सूचीसँग मेल खाँदैन । सरकारले गरेको निर्णयमा अदालतमा छुट्टै व्यवस्था रहने कतै उल्लेख गरिएको छैन ।

अन्य सरकारी कार्यालयहरु खुल्ला रहेकै बेला सोमबारदेखि अदालतमा १५ दिने छुट्टीको सूचना टाँसेर कायम-मुकायम प्रधानन्यायाधीश शर्माले आफ्नो निवासमा सप्ताह पुराण शुरु गर्नुभएको हो । शर्माको घरमा पुराण वाचनका लागि पण्डित भारतको वृन्दावनबाट झिकाइएको छ ।

राष्ट्रपतिसमेत आरुबारीमा

कामु प्रधानन्यायाधीशको घरमा पुराण सुन्न र वृन्दावनका पण्डितबाट आर्शिवाद थाप्न राष्ट्रपति डा. रामवरण यादवसमेत पुग्नुभएको छ भने न्यायपरिषदका सदस्य एवं न्यायाधीशसमेत आरुबारी पुगेका छन् । पुराणको दौडधूपका क्रममा कामु प्रधानन्यायाधीश शर्मा कुर्सीबाट लडेर टाउकोमा सामान्य चोट लागेपछि नर्भिक अस्पतालमा चेकजाँचसमेत गरिएको थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment