Comments Add Comment

फागु पर्व हापेकी करिश्मा यसरी गर्दैछिन् एसईईको तयारी

अकाउन्ट र म्याथको भर, साइन्ससँग डर

७ चैत, काठमाडौं । फागु पूणिर्मा भन्नेवित्तिकै धेरै कलाकारहरुले अभिनेत्री करिश्मा मानन्धरलाई सम्झिन्छन् । किनकी उनले प्रत्येक वर्ष फागु पूणिर्मामा आफ्नै घरमा कलाकारहरुलाई निम्याएर रमाइलो गर्ने गरेकी थिइन् । तर, यसपालि उनको ललितपुरस्थित घर सुनसान रह्यो ।

धेरै वर्षको अन्तरालपछि करिश्माले फागु नमनाउनुको कारण थियो, नजिकिएएको एसईई परीक्षा । १० चैत्रबाट सुरु हुने एसईई परीक्षामा उनी सहभागी हुँदैछिन् । परीक्षाको तयारीमा जुटिरहेकी करिश्माले यसपालीको फागुलाई हाप्ने निर्णय गरेकी हुन् । आफूलाई निम्तो आएका अन्य कार्यक्रममा पनि उनी गइनन् । यद्यपि, बच्चाहरुसँग गोदावरी भिलेज रिसोर्टमा गएर एकछिन होली खेलेको उनले बताइन् ।

‘पहिले सँधै फागु पूणिर्मामा रमाइलो गरिन्थ्यो, तर यसपाली घर सुनसान भयो,’ करिश्माले अनलाइनखबरसँग भनिन्, ‘आफूलाई मनपर्ने पर्व मनाउन नपाउँदा खल्लो पनि लाग्यो ।’

फागु पूणिर्मा एक दिन मनाउने भए पनि त्यसको तयारीमा तीन-चार दिन पढाइ डिस्टर्भ हुने भएकाले नमनाएको उनले बताइन् । यसपालि होली नमनाउने उनले पहिल्यै कलाकारहरुलाई जानकारी दिएकी थिइन् ।

एसईई संघारमा आइपुग्दा करिश्मा बढीभन्दा बढी पढाइमा केन्दि्रत हुने प्रयासमा छिन् । तर, सोचेजस्तो भइरहेको छैन ।

‘हेर्नु न, आज त यतिबेलासम्म किताब समाउन भ्याएको छैन,’ उनले सुनाइन् ।

उनको रिजल्टमा मिडियाले ब्यापक चासो राख्ने हुनाले करिश्मालाई कत्तिको दवाव छ ?

‘अँ दबाव त हुँदो रहेछ । आम व्यक्ति भएको भए सायद यस्तो दबाव हुन्थेन होला । मेरो रिजल्ट राम्रो भएन भने पक्कै पनि टिका-टिप्पणीहरु हुने छन्,’ उनले भनिन्, ‘यस्तै दबाव हुन्छ भनेर मैले स्कुल भर्ना हुँदा मिडियालाई थाहा दिन खोजेकी थिइनँ । तर, के गर्ने…।’

करिश्मा एक महिनादेखि विद्यालय जान छोडेकी छन् । आउँदा जाँदा ड्राइभिङमै तीन घन्टा खर्च हुने र इनर्जी पनि क्षय हुने भएकाले त्यो समय घरमै पढेर बिताउने गरेको उनले बताइन् । साथै उनले दुईवटा विषयको घरमै ट्युसन पढिरहेका छन् । म्याथ र अकाउन्टको ट्यूसन लिइरहेकी उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेकी छन् । उनलाई गाह्रो लाग्ने चाहिँ साइन्स हो ।

‘एसईईमा मेरा लागि साइन्स नै सबैभन्दा च्यालेन्जिङ हुने वाला छ,’ करिश्माले भनिन्, ‘किन किन मलाई यो साइन्समा इन्ट्रेस्ट नै लाग्दैन ।’

करिश्मा राति अबेरसम्म बसेर पढ्ने नगरेको बताउँछिन् । त्यसको साटो उनी बिहान चाँडै उठेर पढ्छिन् । दैनिक यति नै घन्टा पढ्छु भन्ने सेड्युल चाहिँ उनको छैन । उनी घरको काम खासै केही गर्दिनन् । पहिले पनि गर्दिनथिन् ।

‘बिहान पाँच बजे उठेर फ्रेस हुन्छु, अनि एक्सरसाइज सकेर पढ्न बस्छु,’ उनले सुनाइन्, ‘दिउँसो टिचरहरु आउनुहुन्छ । बेलुकी एकछिन उहाँहरुले दिएको होमवर्क गर्छु र सुत्छु ।’

घोकेर पढ्ने बानी नभएको उनी बताउँछिन् ।

‘शिक्षकले मलाई घोकेर भन्दा कन्सेप्ट बुझेर पढ्न सिकाउनुभएको छ । म त्यही गर्छु । एकचोटि पढ्छु र त्यसलाई कापीमा उतार्ने प्रयास गर्छु ।’ करिश्माले भनिन् ।
करिश्माकी छोरी कविता पनि सँगै छिन् । तर, उनले आमाको पढाइमा त्यति चासो दिन्नन् । करिश्मा पनि छोरीलाई खासै सोध्दिनन् ।

‘परिवारको सदस्यसँग खासै पढ्न सकिँदैन रहेछ,’ करिश्माले अनुभव सुनाइन् ।

करिश्मालाई विभिन्न प्रोग्रामहरुका लागि अत्यधिक निमन्त्रणा आउने गर्छन् । तर पढाइको व्यस्तताले कतै गएकी छैनन् । राजनीतिक कार्यक्रमहरुमा पनि सहभागी भएकी छैनन् । बिहे, ब्रतवन्ध जस्ता सामाजिक कार्यक्रममा पनि जान नसकेको उनले बताइन् ।

बरु यो बीचमा महजोडीको चलचित्र ‘दाल भात तरकारी’ को एउटा गीतमा अभिनय गरिन् । उक्त गीतबाट उनले राम्रो प्रतिक्रिया पाइरहेकी छन् ।

‘अफर त अरु पनि आएका थिए, तर यो गीत साँच्चै मन परेर अभिनय गर्न तयार भएकी हुँ,’ करिश्माले भनिन्, ‘एकोहोरो पढाइ पढाइ गरेर पनि त हुँदैन, प|mेस पनि हुनुपर्छ नि ।’

एसईई अगाडि भएको टेस्ट परीक्षामा सोचेअनुरुप नतिजा आएको करिश्माले बताइन् । उनका अनुसार सबैभन्दा कम अंक भने साइन्समै आएको थियो ।

करिश्मा एसईईमा चिटिङ गर्ने योजनामा पनि छन् कि ?

‘आबुई, मलाई त चिट चोर्न डर लाग्छ,’ उनले भनिन्, ‘फेरि मजस्तो सेलिबि्रटीले नै चिट चोर्न थाले भने अरु विद्यार्थीले के सिक्ने ? अहिलेसम्म चोरेकी छैन, एसईईमा पनि चोर्दिनँ । जति आउँछ लेख्ने र कपी बुझाउने हो ‘ उनले भनिन् । साथै उनले परीक्षामा तन्किएर अन्य परीक्षार्थीको उत्तरपुस्तिका हेर्ने बानी पनि नभएको बताइन् ।

यदि एसईईमा सोचेजस्तो नतिजा आए करिश्माले समाजशास्त्र लिएर कलेज पढ्ने विचार गरेकी छन् । तर अहिलेजस्तो नियमित कलेज गएर भने पढ्न नसक्ने उनले बताइन् ।

‘एसईईपछि आफ्नो प्रोफेसनलाई नै प्राथमिकता दिन्छु । तर, कलेज भर्ना चाहिँ हुन्छु होला,’ उनले भनिन् ।

करिश्माले ०७२ सालमा ८ कक्षामा भर्ना भएर आफ्नो पढाइ सुचारु गरेकी थिइन् । १४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा आएकी थिइन् उनी । पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो । त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् । उमेरले उनी अहिले ४५ वर्ष पुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment