Comments Add Comment

नेकपाको बैठकमा प्रधानमन्त्रीले गायत्री मन्त्र सुनाएपछि…

हिन्दुसभ्यताको चर्चापछि विप्लव र भीम रावललाई गाली

७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मका लागि जनमत संग्रहमा जान सकिने भन्दै हिन्दुधर्मप्रति मोह प्रकट गरेपछि डा. कोइरालाको भनाइले मिडियामा चर्चा पाएको छ । तर, नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई हिन्दु सभ्यताबारे मन्तव्य दिएको विषयचाहिँ चर्चामा आएको छैन ।

नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका उड्ने दिन आइतबार बिराटनगरमा नेकपाको प्रदेश १ कमिटीको पहिलो बैठक एवं सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका महासचिव विष्णु पौडेल विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए ।

पार्टी एकता भएपछि प्रदेशस्तरमा भएको यो पहिलो औपचारिक संयुक्त बैठक हो । प्रदेश १ अन्तरगत प्रदेश कमिटीको यो बैठकमा २०५ जना प्रदेश कमिटी सदस्यलाई सपथ ग्रहणसमेत गराइएको थियो । संयुक्त प्रदेश कमिटीका पूर्वमाओवादीका तर्फबाट ९५ जना र पूर्वएमालेका तर्फबाट ११० जना परेका छन् ।

प्रदेश कमिटीको बैठकमा सम्वोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणको प्रारम्भ प्रदेश १ मा रहेका धार्मिक स्थलहरुको वर्णनबाट सुरु गरे । प्रदेश १ पूर्वीय सभ्यताको उदगमस्थल रहेको प्रधानमन्त्री ओलीले बताए । उनले यो सभ्यताबारे गहिरो अध्ययन गर्न समेत कार्यकर्ताहरुलाई सुझाए ।

नेकपाको बैठकमा प्रधानमन्त्री ओलीले पवित्र धार्मिकस्थल बराहक्षेत्रदेखि पाथीभरासम्मको नाम लिए । साथै उनले ओम भूर्भवस्वः गायत्री मन्त्रीसमेत वाचन गरेर भने,’यो गायत्री मन्त्री बराहक्षेत्रमै देखिएको हो ।’

प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिँदै एक नम्बर प्रदेशको धार्मिक एवं ऐतिहासिकताको चर्चा गरेका थिए ।

कम्युनिष्ट पार्टीको बैठकमा अध्यक्ष ओलीले गायत्री मन्त्र सुनाउन थालेपछि कतिपय कार्यकर्ताहरुले खासखुस समेत गरेका थिए । बैठकमा सहभागी नेकपाका कार्यकर्ताका अनुसार अध्यक्ष ओलीले समसामयिक राजनीति एवं पाटीृको भावी नीति र योजनाका बारेमा स्पष्ट पार्लान् भन्ने धेरैलाई लागेको थियो । तर, उनले हिन्दु सभ्यताबाट भाषण सुरु गरेर आफ्ना आलोचकहरुलाई गाली गर्दै मन्तव्य टुंग्याएपछि कार्यकर्ताहरु निराश बने ।

बैठक स्थलमा पूर्वमाओवादीका कार्यकर्ताले खासखुस गरेको सुनिन्थ्यो, ‘कमसेकम प्रचण्ड आएका भए केही राजनीतिक कुरा त सुन्न पाइन्थ्यो कि ?’

प्रधानमन्त्री ओलीले गायत्रीको महिमा र हिन्दु तीर्थस्थलहरुको चर्चा गरिसकेपछि केही बेर विप्लव समूहलाई गाली गरे । उनीहरुको काम गर्ने तौरतरिका डाकाको जस्तै भएको भन्दै जहाँ पैसा छ, त्यतै नजर लगाउनु डाकाकै तरिका भएको प्रधानमन्त्रीले नेकपाको बैठकमा बताए ।

विप्लवलाई गाली गरेर भ्याएपछि ओलीले नाम नलिइकन भीम रावल लगायतका पार्टीभित्रका असन्तुष्ट पक्षलाई आलोचना गरे । सिके राउतलाई आफूले राष्ट्रिय राजनीतिको मूल मूल धारमा ल्याएर ऐतिहासिक काम गर्दै आफ्नै पार्टीभित्रका साथीहरुले कोकोहोलो मच्चाएको प्रधानमन्त्रीले गुनासो पोखे ।

प्रधानमन्त्री ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सही विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिए । उनले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस् भन्ने शुभकामना दिए । बैठकमा ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताउँदै आउँदो चुनावमा दुई तिहाई भन्दा बढी मतसहितको सरकार बनाउने दाबी गरेका थिए ।

प्रचण्ड फर्केपछि एकता टुंगिने

प्रदेश कमिटीको बैठकमा बोल्दै महासचिव विष्णु पौडेलले पार्टीका अर्का अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि पाटीृ एकता टुंगो लाग्ने जानकारी गराएका थिए ।

यसैवीच, प्रदेश १ को पहिलो बैठकमा सबै जिल्लाको एकता प्रक्रिया टुंगो लगाइने बताइए पनि कतिपय जिल्लाको कार्यदलले सहमति नजुटाइसकेको हुनाले बैठक सपथ ग्रहणमा मात्रै सीमित रहेको एक नेताले अनलाइनखबरलाई बताए ।

झापा लगातिका केही जिल्लाका स्थानीय तहका अध्यक्ष र सचिवको टुंगो लागे पनि वडा तहसम्मको काम कार्यदलले सक्न काँकी रहेको स्रोतले बतायो ।

जिल्ला मातहतका स्थानीय दहको एकताको टुंगो लगाउन कार्यदल गठन गरिएको र सो कार्यदलको सिफारिसलाई प्रदेश कमिटीले टुंगो लगाउने नीति रहेको नेकपाका नेता बताउँछन् ।

यसैवीच, प्रदेश १ को पहिलो बैठक र सपथ ग्रहण सकिए पनि अन्य प्रदेशहरुको बैठक बस्न बाँकी छ । पार्टीको समग्र एकता प्रक्रिया टुंगो नलाग्दै प्रचण्ड अमेरिका गएकाले एकताको टुंगो लाग्न ढीलो भएको हो ।

तर, महासचिव विष्णु पौडेलले पार्टी एकता चाँडै टुंगो लाग्ने प्रदेश १ को बैठकमा बताएका छन् ।

यो पनि पढ्नुहोस झापाका स्थानीय तहमा एमालेलाई ९, माओवादीलाई ६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment