
News Summary
Generated by OK AI. Editorially reviewed.- अमन गुप्ताले ‘शार्क ट्यांक नेपाल’ ले व्यवसाय र नाफा–नोक्सानको ज्ञान दिने बताए।
- ‘शार्क ट्यांक नेपाल’ को प्रिमियर १८ असारमा हिमालय टीभी एचडीमा भयो र पहिलो एपिसोड १९ असारमा प्रसारण हुनेछ।
- शोले नेपाली युवालाई व्यवसाय गर्न प्रेरित गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।
१७ असार, काठमाडौं । ‘शार्क ट्यांक इन्डिया’ का शार्क तथा बोट कम्पनीका सहसंस्थापक अमन गुप्ताले व्यवसाय के हो र नाफा–नोक्सान के हो भन्ने थाहा नभएका लाखौं नेपालीलाई ‘शार्क ट्यांक नेपाल’ ले धेरै कुरा सिकाउने बताएका छन् ।
१८ असारदेखि हिमालय टीभी एचडीमा प्रसारण हुने बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ प्रवर्द्धन गर्न मंगलबार नेपाल आएका गुप्ताले काठमाडौंमा आयोजित ‘शार्क ट्यांक नेपाल’ को प्रिमियर एवं भेटघाट कार्यक्रममा मुख्य अतिथिका रूपमा सहभागिता जनाए ।
‘शार्क ट्यांक नेपाल बिजनेस रियालिटी शो सुरु भएपछि धेरै नेपाली युवापुस्तालाई व्यवसाय गर्न प्रेरणा मिल्ने विश्वास छ,’ गुप्ताले भने, ‘हामी पनि नेपालमा सुरु हुन लागेको यो शोबाट हौसिएका छौं ।’
शार्क ट्यांक नेपालका शार्क आनन्द बगारियाले व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गर्न यो शोबाट उल्लेख्य सहयोग पुग्ने बताए ।
अर्का शार्क सौरभ ज्योतिले शार्क ट्यांक बिजनेस रियालिटी शोले व्यवसाय गर्ने हुटहुटी भएका अधिकांशलाई प्रेरणा र ऊर्जा दिने जानकारी दिए ।
अर्का शार्क ऋतुसिंह वैद्यले व्यापार–व्यवसाय गर्न साँघुरो सोचले काम नगर्ने भन्दै शार्क ट्यांक शोले त्यस्तो साँघुरो सोच हटाउन मद्दत गर्ने बताइन् ।
कार्यक्रमा हिमालय टीभी एचडीका कार्यकारी निर्देशक श्याम कँडेलले नेपालमा अन्तर्राष्ट्रिय स्तरको बिजनेस रियालिटी शो ल्याउन पाएको खुसी लागेको बताए ।
‘नेपालको उद्यम–व्यवसाय क्षेत्रमा पनि शार्क ट्यांक नेपाल शोले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास छ,’ उनले भने ।
कार्यक्रममा हिमालय टीभी एचडीका अध्यक्ष धर्मराज भुसालले शार्क ट्यांक इन्डियाका शार्क तथा शार्क ट्यांक नेपालका शार्कहरूलाई स्वागत गरेका थिए ।
सोही अवसरमा ‘शार्क ट्यांक नेपाल’ को पहिलो एपिसोडको ग्रान्ड प्रिमियर गरियो ।
विश्वका करिब ५६ देशमा प्रसारण भइरहेको बिजनेस रियालिटी शोको यो नेपाली संस्करणको पहिलो सिजन १८ असार बुधबार र १९ असार बिहीबार राति ९ बजे हिमालय टीभी एचडीमा प्रसारण हुनेछ ।
यो शोलाई हिमालय टीभी एचडीले उत्पादन र प्रसारण गर्ने छ । पहिलो सिजनमा शार्कका रूपमा आईएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, पद्म ज्योति समूहका अध्यक्ष सौरभ ज्योति, वैद्यज अर्गनाइजेसनकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगारिया शार्कका रूपमा अनुबन्धित छन् ।
शार्क ट्यांकको पहिलो सिजनमा झन्डै १ हजार ५ सय बढी उद्यमीले आवेदन गरेकोमा दुई चरणको छनोट प्रक्रिया पार गर्दै १ सय १० वटा कम्पनीले शार्कका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्ने अवसर पाएका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
प्रतिक्रिया 4