+
+

‘मिनी संसद’मा देउवा सधैं गयल, प्रचण्ड एकपटक झुल्किए !

संसदीय समितिमा जाँदैनन् शीर्षनेता, को कतिपटक गए ?

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७५ चैत ७ गते २०:५५

७ चैत, काठमाडौं । गत पुस ११ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठक चलिरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टुप्लुक्क पुगे । उनको आगमन अनपेक्षित भएजस्तै गरी सभापति शशी श्रेष्ठले भनेकी थिइन् – ‘आउने जानकारी थिएन ।’

पूर्वप्रधानमन्त्री प्रचण्ड सुशासन समितिका सदस्य हुन् । त्यसदिनको बैठकमा प्रचण्डले भनेका थिए, ‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलोचोटि सहभागी हुने अवसर पाएँ । चाहँदा चाहँदै पनि अन्य कामको चापले आउन सकेको थिइनँ । अबदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुनेछु ।’

तर, त्यसपछि राज्य व्यवस्था समितिका कुनै बैठकमा प्रचण्ड सहभागी भएका छैनन् । संसद सचिवालय सूचना शाखाले दिएको सूचनाअनुसार गत साउन २१ गतेदेखि माघ मसान्तसम्म यस समितिका ५० वटा बैठक बसेका छन् । तर, प्रचण्डको हाजिरी रेकर्डमा पुष ११ गते अर्थात एक दिन मात्रै उपस्थिति रहेको उल्लेख छ ।

नेपाली कांग्रेसका सांसद प्रदीप गिरी अन्तराष्ट्रिय सम्बन्ध समितिमा छन् । उक्त समितिका हालसम्मका १६ वटा बैठकमध्ये गिरीको एउटा बैठकमा मात्रै सहभागिता छ ।

कांग्रेसकै अर्का सांसद सूर्यबहादुर केसी, महिला तथा सामाजिक समिति समितिको सदस्य छन् । गत साउनदेखि फागुन तेस्रो हप्तासम्म समितिको १८ वटा बैठक बस्यो । सांसद केसीको उपस्थिति एक दिन मात्रै छ ।

देउवा शतप्रतिशत गयल !

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विकास तथा प्राविधिक समितिमा छन् । गत साउन २१ गतेदेखि माघ मसान्तसम्म समितिका ३४ वटा बैठक बसे । तर, सभापति देउवा कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

सभापति देउवाको उपस्थितिका विषयमा समिति सभापति कल्याणी कुमारी खड्काले स्वयं देउवा र कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडलाई भेटेरै ध्यानाकर्षण गरेको बताइन् । ‘मैले उहाँसंगै भेटेर कुरा गरेको छु । ‘भ्याइएको छैन । आइहाल्छु नि’ भन्नुहुन्छ’, समिति सभापति खड्काले अनलाइनखबरसँग भनिन् । तर, आउनुभएको छैन ।’

यस्तै, नेपाली कांग्रेसकै सांसद कर्मा घलेको पनि विषयगत समिति बैठकमा शून्य उपस्थित छ । महिला तथा सामाजिक समितिमा रहेका उनी समितिका कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री शशांक कोइरालाको रुचीमा पनि विषयगत समितिका बैठक परेका छैनन् । दुबैजना अर्थ समितिका सदस्य हुन् । तर, दुबै नेता समिति बैठक दुई पटकमात्रै उपस्थित भए ।

गत माघ १५ गते सम्मको हाजिरी रेकर्डमा उपसभापति गच्छदार दुई दिन र कोइरालाको उपस्थिति एक दिन छ । तर, गत चैत ३ गतेको समिति बैठकमा महामन्त्री कोइराला उपस्थित थिए ।

विकास तथा प्राविधि समितिमै रहेका पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनालको उपस्थिति ११ दिन रहेको छ ।

जो नियमित जान्छन्

संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा रहेका नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङको समिति बैठकमा शतप्रतिशत उपस्थिति छ । उक्त समितिका सबै बैठकमा उपस्थित हुने गुरुङ मात्र हुन् । गत साउनमा समिति गठन भएपछि बसेका २० मध्ये सबै बैठकमा उनको उपस्थिति रहेको हाजिरी रेकर्डमा उल्लेख छ ।

गुरुङपछि नेकपाकै सांसद गोमा देवकोटा २० मध्ये १९ वटा बैठकमा सहभागी भएकी छन् ।

महिला तथा सामाजिक विकास समितिमा सदस्य रहेका नेकपाका सांसद नारायण प्रसाद खतिवडाको पनि समितिका १८ मध्ये सबै बैठकमा उपस्थिति छ । सोही समितिका विमला नेपाली, गंगा चौधरी, गणेश शिंह ठगुन्ना, खेम प्रसाद लोहनी र कृष्ण बहादुर राई समितिका १८ मध्ये १७ वटा बैठकमा सहभागी भएका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका नेकपाका सांसद नारदमुनि रानाको पनि समिति बैठकमा शतप्रतिशत सहभागिता छ । समितिको गत माघ मसान्तसम्म बसेका १६ मध्ये सबै बैठकमा उनको सहभागिता छ । उक्त समितिका सदस्य दिव्यमणि राजभण्डारीको १६ मध्ये १५ वटा बैठकमा सहभागिता छ ।

कानुन समितिमा रहेका पूर्वसभामुख सुवासचन्ऽ नेम्वाङ २० वटा मध्ये १८ वटा बैठकमा सहभागि भएका छन । सोही समितिमा रहेका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको भने आधा अर्थात, १० वटा बैठकमा उपस्थिति छ ।

गत साउनमा समिति गठन भएपछि माघ मसान्तसम्म सार्वजनिक लेखा समितिका १९ वटा बैठक बसेका थिए । त्यसमध्ये सांसदत्रय पुष्पा कुमारी कर्ण र यज्ञ बहादुर बोगटी र हृदयश त्रिपाठी १८ वटा बैठकमा उपस्थित भएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका पूर्वप्रधानमन्त्री समेत नेता माधवकुमार नेपाल पनि समितिका बैठकहरुमा सक्रिय सहभागिता जनाउने सांसद हुन् । समितिका १६ वटा बैठकमध्ये नेपालको १३ वटा बैठकमा सहभागिता छ ।

गत असोज १२ गते सांसद नेपालकै संयोजकत्वमा निजगढ अन्तराष्ट्रिय विमानस्थलसहित सञ्चालनमा रहेका देशभरका विमानस्थलको अध्ययनका लागि उपसमिति गठन भएको थियो । उक्त उपसमितिका २९ वटा बैठक बसे । नेपालकै नेतृत्वमा उपसमितिले दुई पटक निजगढ अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्‍यो । उपसमितिले अन्य विमानस्थलका बारेमा पनि छलफल गरेको थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमै रहेका कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको उपस्थिति भने मूल समितिमा ८ दिन मात्रै छ । सोही समितिमा रहेका नेकपामा नेता भीम रावलको १२ दिन उपस्थिति रहेको छ ।

पूर्वसभामुख ओनसरी घर्ती सदस्य रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको गत साउनदेखि पुष मसान्तसम्म ३८ वटा बैठक बसेका थिए । त्यसमध्ये घर्तीको उपस्थिति १८ दिन मात्रै छ । सोही समितिमा रहेकी नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवको १७ दिन मात्र उपस्थिति रहेको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेकपाका सांसद खगराज अधिकारी र नेकपाकै अर्का सांसद योगेश भट्टराई पनि समितिमा सक्रिय सहभागिता जनाउने सांसद हुन । दुबै नेता शिक्षा तथा स्वास्थ्य समितिमा छन् । समितिका ३३ मध्ये अधिकारी ३१ र भट्टराई ३० वटा समितिमा उपस्थित रहेका छन् ।

शिक्षा स्वास्थ्य समितिमै रहेका पूर्वस्वास्थ्य मन्त्री एवं कांग्रेसका सांसद गगनकुमार थापाको भने ३३ मध्ये १६ दिन मात्रै उपस्थित रहेको छ । मूल समितिले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा दफावार छलफल गरी प्रतिवेदन तयार पार्न गठन गरेको उपसमितिमा भने सांसद थापाले अधिकांश बैठकमा सहभागिता जनाएका थिए ।
गत साउनमा समिति गठन भएपछि माघ मसान्तसम्म उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका २९ वटा बैठक बसे । उक्त समितिमा सबैभन्दा बढी प्रकाश रसायली (स्नेही)को २७ दिन उपस्थिति छ । मोहम्मद अफ्ताव आलमको २, प्रमोद कुमार यादवको ५ र अभिषेक प्रताव शाहको ५ दिन मात्रै उपस्थिति रहेको छ ।

बाबुरामको गुनासो

पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई अर्थ समितिमा छन् । गत साउनदेखि माघ १५ सम्मको समिति बैठकको उपस्थिति रेकर्डअनुसार अर्थ समितिका ३२ वटा बैठक बसे । त्यसमध्ये १२ वटा बैठकमा भट्टराई सहभागी भएको रेकर्ड छ ।

समिति बैठकमा जाँदा उनको एउटै गुनासो रहन्छ, ‘समयमै बैठक सुरु गर्ने बानी बसाल्न सकिएन ।’ निर्धारित समय भन्दा २ घण्टा ढिला हुँदा समेत बैठक सुरु नभएपछि गत मंसिर ३ गतेको समितिमा अनौपचारिक कुराकानीका क्रममा भट्टराईले ब्यङ्ग्यको शैलीमा भनेका थिए, ‘ढिलो आउनेलाई पुस्कारको व्यवस्था गरौं ।’

अर्थ समितिमै रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर ३२ मध्ये १५ वटा बैठकमा सहभागी छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की १८, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल १३ र पूर्वअर्थमन्त्री समेत रहेका नेकपाकै सांसद सुरेन्द्र पाण्डेको २१ दिन उपस्थिति रहेको देखिन्छ ।

बैठक कम, सांसदको उपस्थिति बढी

राष्ट्रियसभा अन्तगर्तका विषयगत समितिका बैठकहरु प्रतिनिधि सभाका विषयगत समितिका तुलनामा कम बसेका छन् । तर, बसेका समिति बैठकमा समिति सदस्यहरुको उपथिति अधिकतम रहेको पाइएको छ ।

प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यद्वय राधेश्याम अधिकारी र वीना पोखरेल समिति बैठकमा शतप्रतिशत उपस्थित हुने सांसद हुन् । अधिकारी कांग्रेसका नेता हुन भने, पोखरेल नेकपाकी ।

गत साउनमा समिति गठन भएपछि यस समितिको माघ मसान्तसम्म जम्मा १९ वटा बैठक बसेका छन । समिति सदस्यद्वय नैनकला ओझा र शान्ति कुमारी अधिकारी १८ वटा बैठकमा उपस्थित भएको हाजिरी रेकर्डमा उल्लेख छ । यस समितिमा सबैभन्दा कम चन्द्र बहादुर खड्का ५ वटा बैठकमा मात्रै सहभागी छन् ।

राष्ट्रिय सभाकै दिगो विकास तथा सुशासन समितिका सदस्य काली बहादुर मल्ल समितिका सबै बैठकमा सहभागी छन् । साउन २२ गते पहिलो बैठक बसेको यस समितिको माघ दोस्रो हप्तासम्म १७ वटा बैठक बसेका थिए । समिति सदस्य मल्ल सबै बैठकमा उपस्थित भएको हाजिरी रेकर्डमा उल्लेख छ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्य तथा नेकपाकी सांसद इन्दु कडरिया पनि समिति बैठकमा शतप्रतिशत सहभागी छन् । गत भदौ २१ गतेपछि दिगो विकास समिति कडरिया हेरफेर भई यस समितिमा आएकी थिइन् । त्यसपछि बसेका सबै बैठक (२३ वटा बैठक) मा उनको सहभागिता छ ।

संसद सचिवालयले उपलब्ध गराएको सूचनाअनुसार यस समितिको माघ पहिलो हप्तासम्म २५ वटा बैठक बसेका थिए, त्यसमध्ये २४ वटा बैठकमा नेकपाका नेता समेत रहेका सांसद खिमलाल भट्टराईले उपस्थिति छ ।

यस्तै, दुबै सदनको संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिका सदस्य योगेश भट्टराईको समितिमा उपस्थिति शतप्रतिशत छ । गत असारदेखि माघ मसान्तसम्म सुनुवाई समितिमा ३२ वटा बैठक बसेका थिए, ती सबैमा भट्टराईको सहभागिता रहेको हाजिरी रेकर्डमा उल्लेख छ ।

भट्टराईपछि सुनुवाई समितिमा जितेन्द्रनारायण देव, निरुदेवी पाल, पुष्पा भुसाल र पूर्ण कुमारी सुवेदीको ३०/३० दिन उपस्थिति रहेको छ ।

यस्तै दुबै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङन समितिका सदस्यत्रय गणेश शिंह ठगुन्ना, प्रभु शाह र भीम रावल समितिका सबै बैठकमा उपस्थित भएका थिए । यस समितिको बैठक हालसम्म जम्मा ५ वटा मात्रै बसेको छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?